बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गौतम बुद्धलाई पनि पागल र मुर्ख भनिन्थ्यो : संयोजक भट्टराई

शनिबार, २५ वैशाख २०७३, १८ : ०६
शनिबार, २५ वैशाख २०७३

चितवन– नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले ‘नेपालमै आजभन्दा २७ सय वर्ष पहिला ज्ञानको खोजीमा निस्कँदा गौतम बुद्धलाई पनि पागलको संज्ञा दिएको बताए । नयाँ शक्ति चितवनले शनिबार भरतपुरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले भने, ‘मैले नयाँ शक्ति दुरदृष्टि राखेर अगाडि ल्याउँदा हामीलाई अहिले मुर्ख, पागल र दुस्साहसी भनिएको छ, यसलाई मैले अस्वभाविक रुपमा लिएको छैन ।’

यथास्थितिबाट विकल्प र नयाँ बाटोको कुरा गर्दा इतिहासमा धेरैले पागल र दुस्साहसी बन्नुपरेको सन्दर्भ उल्लेख गर्दै उनले अहिले नयाँ शक्तिमाथि लाग्ने गरेको आरोपलाई स्वभाविकरुपमा लिने गरेको बताए ।

पूर्वप्रधानमन्त्री तथा सफल अर्थमन्त्री समेत भइसकेका संयोजक भट्टराईले यथास्थितिमै रहेर र कछुवाको गतिमा दौडिएर देशलाई समृद्ध बनाउन नसकिने स्पष्ट पारे । ‘हामी दौडनुपर्ने हुन्छ, कुरेर बस्ने फुर्सद हामीलाई छैन,’ उनले भने, ‘हामी ढिला भइसकेका छौं, मुलुक समृद्ध बनेको र सबै नेपालीले रोजगार पाएको देख्न मन छ ।’

कार्यक्रममा नयाँ शक्ति नेपालका केन्द्रीय सचिवालय सदस्य मुमाराम खनाल, करिश्मा मानन्धर, डा.सुरेन्द्र चौधरीलगायतले सम्बोधन गरेका थिए ।

कुर्सीको लुछाचुडीले लोकतन्त्र खतरामा

‘अहिले नै सरकारमा ६ जना उपप्रधानमन्त्री छन्, यदि मिल्नेभए अहिले नै ६ जना प्रधानमन्त्री बनाउने सोच देखिन्छ,’ उनले प्रश्न गरे, ‘यसरी न देशमा राजनीतिक स्थिरता आउँदैन ।’

सम्बोधनको क्रममा उनले पुरानै मान्छेहरु सत्ताको लोभमा कुर्सीको लुछाचुडी गरेर बस्ने तर मुलुकको समस्यालाई बेवास्ता गर्ने प्रवृत्तिले मुलुक पछाडि परिरहेको बताए । ‘संविधानमा देखिएको असन्तुष्टि हल गर्न तत्काल मधेसको जायज मुद्दाहरु सम्बोधन हुनुपर्छ,’ उनले भने, ‘निर्वाचन प्रणाली र शासकीय स्वरुपमा पनि संशोधन गरेर नयाँ निर्वाचनमा जानुपर्छ ।’ उनले यी कदमहरुलाई तत्काल अगाडि नबढाइए नेपालको लोकतन्त्र खतरामा पर्नसक्ने बताए ।

‘यस्तै दलीय भागबण्डा र सत्ताको लुछाचुडी भइरहने र मुलुकको समस्यालाई बेवास्ता गर्ने हो भने विस्तारै आन्दोलनका उपलब्धिहरु गुम्न सक्छ र मुलुक प्रतिगमनतर्फ धकेलिन सक्छ,’ उनले बताए । अहिले पुराना दलहरुको गतिविधिले मुलुक अराजकतातिर गइरहेको उनको तर्क थियो । ‘संविधानमा जनताको असन्तुष्टिलाई बहाना बनाएर खोक्रो र अन्ध राष्ट्रवाद भड्काएर मुलुकमा विदेशी हस्तक्षेप निम्त्याउने काम भइरहेको छ,’ उनले बताए ।

आन्तरिक मामिलामा छिमेकीलाई तान्नु खतरनाक प्रवृत्ति संयोजक भट्टराईले नेपालको आन्तरिक समस्यामा छिमेकीहरुलाई अनावश्यक रुपमा तान्न नहुने बताए । ‘आन्तरिक मामिलामा छिमेकीहरुलाई तान्ने प्रवृत्ति खतरनाक छ,’ उनले भने, ‘यसले मुलुक प्रतिगमनतर्फ जाने हो कि भन्ने मलाई चिन्ता छ ।’

उत्तर र दक्षिणका छिमेकीलाई र विदेशीलाई ठूलो स्वरले गाली गरेर राष्ट्रियताको रक्षा नहुने भन्दै उहाँले यस्तो प्रवृत्तिलाई नक्कली राष्ट्रवादको रुपमा टिप्पणी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप