बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सातापछि चिनी उद्योगमा लगाइएको ताला खुल्यो

शनिबार, २५ वैशाख २०७३, १८ : ३५
शनिबार, २५ वैशाख २०७३

नवलपरासी– चिनी उद्योगले किसानलाई उखुको रकम लिएबापत भुक्तानी नगरेको भन्दै एकसाता अघि नवलपरासीको इन्दिरा सुगर मिलमा लगाइएको ताला आजबाट खुलेको छ ।

किसान, किसान प्रतिनिधि र उद्योग सञ्चालकबीच शुक्रबार भएको त्रिपक्षीय वार्ता सहमतिमा पुगेपछि उद्योगमा लगाइएको ताला खोलिएको हो । सो क्रममा तत्काल सूचना प्रकाशन गरी क्रमशः किसानलाई रकम भुक्तानी दिनेलगायत तीनबँुदे सहमति भएको उखु उत्पादक किसान समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले बताए ।

लामो समयबाट उखुको भुक्तानी नदिएको भन्दै इन्दिरा सुगर मिल गङ्गापुर र त्यस्को स्वामित्वमा रहेको त्रिपुरेश्वर कन्डक्टर उद्योगमा उखु किसान र उखु उत्पादक किसान समितिको अगुवाइमा एक साताअघि ताला लगाएका थिए ।

मिलबाट भुक्तानी गर्न बाँकी रहेको रकम रु पाँच करोड ४९ लाख वैशाख २६ गतेवाट भुक्तानी गर्न सुरु गर्ने र असार ५ गतेभित्रै भुक्तानी पूरा गर्ने, नेपाल सरकारबाट प्राप्त प्रति क्विन्टल रु दुई हजार ५०० को अनुदान प्राप्त गर्नका लागि मिलले जिल्ला कृषि विकास कार्यालयलाई उखु किसानको वितरित विवरण कार्यालयमा बुझाउने र किसानले बेलाटारीमा उखु किसान समितिको भवन निर्माणका लागि मिलले प्रति क्विन्टल एक रुपैयाको दरले काटेको रकम १५ दिनभित्रै समितिलाई बुझाउने सहमति भएको समितिका अध्यक्ष यादवले बताए ।

यसबाहेक नवलपरासीमानै लुम्बिनी चिनी उद्योगसँग गत वर्षको रु ६० लाखदेखि ७० लाख र यस बर्षको रु ५ करोड ३० लाख गरी करिब ६ करोड र बागमती खाडसारीले अघिल्लो बर्षको भुक्तानी गरेपनि यस बर्षको करिब रु ६ करोड बक्यौता रकम किसानहरुले लिन बाकी रहेको उखु कर्षक समितिले जनाएको छ ।

जिल्लामा करिब १४ हजार घरपरिवार उखु खेती गर्ने गरेका उखु उत्पादक कृषक समितिको तथ्याङ्क रहेको छ ।

जिल्लाको कुल साढे सात हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ । जिल्लामा वार्षिक २० देखि २५ लाख क्विन्टल उखु उत्पादन हुँदै आएको छ । जिल्लामा चार वटा चिनी मिल उद्योग छ र करिब ५० भन्दा बढी साना क्रसर भेली उद्योग छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप