माछा हेर्दै दिन बिताउँछन् यी पूर्वमन्त्री
मोरङ– मन्त्री भइसकेको मान्छेको दिनचर्या कसरी बित्ला ? सामान्यतया पैसा कमाएर राजधानी वा ठूला सहरमा बसेर आनन्ददायी जीवनयापन गर्लान् । मेहनत नै गरे पनि उद्योग, कलकारखानामा लगानी होला, चिल्लो गाडीमा सरर्रर्र गुडेर रेखदेख गर्लान् । तर, पूर्वराज्यमन्त्री गोपी अछामीको दिनचर्या त्यसरी बित्दैन । उनी माछा समातेरै दिन बिताउँछन् ।
ऋण खोजेर लगानी गरेको सामूहिक माछा फाराममा माछाको रेखदेख, पोखरीको स्याहार र माछा समात्दै दिन बिताउने उनी मोरङको कोसीहरैँचा–१४ स्थित आफैँले चुनाव जितेको निर्वाचन क्षेत्रमा भेटिन्छन । अरूले मन्त्री भएपछि प्रशस्तै पैसा कमाएर विभिन्न व्यवसायमा लगानी गर्ने सोच बनाउँछन् तर डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा खेलकुद राज्यमन्त्री भएका उनले गृहजिल्ला मोरङलगायत देशभरि भारतबाट माछा आपूर्ति भएको थाहा पाएपछि माछापालनमा गर्ने सोच बनाए । ‘मन्त्रीबाट हटेपछि साथीहरूलाई कन्भिन्स गरेर माछा पाल्न सुरु गरेँ,’ उनले रातोपाटीसँग भने ।
एमाओवादी नेता सामूहिक माछापालनमा :
एमाओवादी मोरङका अध्यक्षसमेत रहेका अछामीमात्रै होइन, उनको पार्टीबाटै ६ जना नेता सामूहिक माछापालनमा संलग्न छन् । एमाओवादी मोरङ सचिव गणेश उप्रेती, सदस्य निर्मल राई, नवीन रिजाल, नवराज चापागार्इं पनि अछामीको समूहमा संलग्न छन् ।
न्यु संयुक्त कृषक समूह नामक फाराममा उनीहरू सबै व्यस्त छन् । माछा, बाख्रापालन र केराखेती सँगसँगै गरेका उनीहरूमध्ये कतिले माछा, कतिले बाख्रा र कतिले केराको रेखदेख गर्छन् भने कतिले बजार र कतिले दानालगायतको व्यवस्थापनमा ध्यान दिन्छन् । ‘अब चन्दा उठाएर होइन, आफैँ काम गर्यौँ भने आफ्नो आर्थिक अवस्था सुधार्न सकिन्छ । पार्टी चलाउन सजिलो हुन्छ भनेर व्यवसाय थाल्यौँ,’ समूहका अध्यक्ष रहेका एमाओवादी जिल्ला सदस्य नवराज चापागाईं भन्छन्, ‘अहिले त जनसमुदायमा राम्रो सन्देश गएको छ ।’
ऋण काढेरै माछापालन
मन्त्रीको भूमिका सकिएपछि गोपी अछामीले आफ्ना साथीहरूलाई भनेर एमाओवादी नेताहरूले माछा पाल्ने योजना त बनाए तर लगानी गर्ने रकम कोहीसँग थिएन । त्यसपछि उनीहरूले बैंकबाट ऋण लिए अनि । कुल ६० लाख रुपैयाँ लगानी गरेका उनीहरूले पाँ बिघा तीन कठ्ठा जमिनमा व्यवसाय थालेका छन् । त्यसमध्ये ४० लाख सहुलियत ऋण हो । जग्गा भने लिजमा लिइएको छ ।
उत्पादनसँग जोडिन माछापालन
हिजो युद्धकालमा सबै पूर्णकालीन कार्यकर्ताका रूपमा चन्दा उठाएर पार्टी चलाउने अभियान रहे पनि हेटौँडा महाधिवेशनले उत्पादनको कार्यदिशा पारित गरेपछि उत्पादनसँग जोडिन माछापालनमा लागेको अछामीले सुनाए । ‘राजनीतिक, वैचारिक, संगठन र संघर्षसँगै उत्पादनको कार्यदिशा पनि जोडिएकाले उत्पादनमा लागियो,’ अछामीले भने, ‘अहिले प्रतिफल पनि राम्रै भएको छ ।’
दुई वर्षमा लगानीको ३३ प्रतिशत उठिसक्यो
६० लाख लगानीमध्ये ४० लाख सहुलियत ऋण लिएर सञ्चालन गरेको माछापालनबाट ३३ प्रतिशत लगानी दुई वर्षमै उठेको उनीहरूले बताए । ‘दुई वर्ष भयो, ३० लाख रुपैयाँ उठिसक्यो,’ समूहका अध्यक्ष चापागार्इंले भने, ‘अहिलेसम्म माछापालनबाट राम्रै हुने देखियो ।’
२२ जनालाई रोजगारी
व्यवसायबाट आफूलाई आम्दानी हुनुका साथै स्थानीयले रोजगारी पाएका छन् । दुईजनाले पूर्णकालीन रूपमा काम गर्छन् भने २० जनाले आंशिक रूपमा काम गर्ने गरेको उनीहरूले बताए । ‘माछा मार्ने, केराको स्याहार गर्ने र बाख्रा फाराम गरेर २२ जनाले काम गर्छन,’ अछामीले भने, ‘हाम्रो व्यवसाय चलेको छ, श्रमिकले काम गर्न पाएका छन् ।’ १० पोखरीका दुई लाख भुराको हेरचाह, बाख्राको स्याहार, केराको रेखदेखलगायतमा कामदारले काम पाएका छन् ।
बंगुरबाट घाटा लागेपछि बाख्रा
१० पोखरीमा माछा पालेका उनीहरूले सुरुमै माछासँगै बंगुरपालन पनि गरेका थिए । तर, पछि बंगुरमा घाटा लाग्दै गएपछि उनीहरूले अहिले बंगुर साटो बाख्रा पाल्न थालेका छन् । ‘बंगुरमा समस्या भयो, त्यसपछि बाख्रापालन सुरु गरेका हौँ,’ अछामीले भने, ‘भर्खरै सुरु गरेका छौँ, लगानी बढाउने विचारमा छौँ ।’
आत्मनिर्भर बनी समाजसेवा गर्न माछापालन
अहिले विनाआर्थिक स्रोत समाजसेवा सम्भव छैन । त्यसमा पनि राजनीति गर्ने मान्छेलाई आयआर्जनको स्रोतविना कठिन छ । ‘त्यसैले आत्मनिर्भर हुँदै राजनीति गर्न माछापालन थालियो,’ चापागार्इंले भने, ‘यसबाट समाजसेवा पनि हुने भयो, राजनीति गर्न पनि सजिलो ।’
पार्टी नीति कार्यान्वयन
एमाओवादीको हेटाँैटा महाधिवेशनले पारित गरको उत्पादनका लागि संघर्षको कार्यनीति अछामीलगायतले व्यवहारमै कार्यान्वयन गरेको भन्दै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) ले बताएको छ । उनीहरूको जस्तै सिद्धान्तलाई व्यवहारमा लागू गर्ने नेता तथा कार्यकर्ता भएमा परिवर्तन सम्भव भएको महासंघ सचिव तथा कृषिमन्त्रीका सल्लाहकार नहेन्द्र खड्काले बताए । ‘यो सिद्धान्तलाई व्यवहारमा उतार्ने एउटा अनुकरणीय कदम हो,’ खड्काले भने ।
जिउँदो माछा बिक्री सुरु
अछामीले माछापालनसँगै विराटनगरमा जिउँदो माछा बिक्री र कुखुराको मासुपसल सुरु गरेका छन् । धेरैजसो मारेको माछा बिक्री हुने भएकाले ताजा माछा खान खोज्नेका लागि जिउँदो माछा उपलब्ध गराउन जिउँदो माछा पसल सुरु गरिएको उनले बताए ।
उदाहरणीय काम : कृषि विकास अधिकारी
एमाओवादी मोरङका नेताहरूको कोसी हरैँचा क्षेत्रको व्यवसाय उदाहरणीय भएको र उत्पादनसमेत राम्रो भएको भन्दै कृषि विकास कार्यालय मोरङले प्रशंसा गरेको छ । वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र उप्रेतीले त्यस क्षेत्रमा उदाहरणीय फाराम रहेको र मेहनतअनुसार सफल हुँदै गएकाले उदाहरणीय व्यवसाय भएको बताए । ‘साथसाथै जनताबाट निर्वाचित भएर मन्त्रीसमेत भइसकेका व्यक्तिले गाउँमै व्यवसाय गरेर बस्नु सबैका उदाहरणीय काम हो,’ उनले भने, ‘यसबाट सकारात्मक सन्देश प्रवाह भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण