बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

दृष्टिविहीन पत्रकार : संसार देख्दिनन्, टक शो चलाउँछिन्

आइतबार, ०२ जेठ २०७३, १८ : २५
आइतबार, ०२ जेठ २०७३

आस्मा अर्याल दृष्टिविहीन पत्रकार हुन् । १८ वर्षकी आस्माले स्कुले दिनबाटै पत्रकारिता थालेकी हुन् । अहिले च्यानल एसिईमा कार्यरत उनीले रातोपाटीकर्मी फातिमा बानुसँग आफ्ना अनुभूति यसरी सुनाइन् :

जब म तीन महिनाकी भएँ, आमाले दिएका खेलौना हेर्दै नहेरेपछि उहाँले म दृष्टिविहीन रहेछु भनेर थाहा पाउनुभएछ । उपचारका लागि धेरै ठाउँमा लगे पनि उपचार हुन सकेनछ ।

एकदिन मैले आमालाई सोधेँ, ‘आमा, म तपाईंको पेटमै हुँदा मैले आँखा देख्दिन भनेर तपाईंलाई थाहा थियो ?’

आमाले जवाफ दिनुुभयो, ‘आँखा देख्दिनस् भनेर थाहा पाएको भए म तँलाई जन्म नै दिने थिइनँ ।’

आमाको जवाफले मलाई असाध्यै रुवायो । अनि जब सम्हालिएँ, त्यसैले बलियो बनायो । आँखा नदेख्दैमा कमजोर हुन्छ भन्ने परिवार र समाजको धारणालाई गलत सावित गर्न म मिहिनेत गर्न थालेँ । आँखा देख्नेले भन्दा राम्रो र उदाहरणीय काम गरेर देखाउने मेरो लक्ष्य बन्दै गयो ।

राम्रै स्कूलमा पढाउन सक्ने परिवारको आर्थिक हैसियत थियो । तर दृष्टिविहीन भएका कारण रोजेकै स्कुलमा पढ्न पाउने अवस्था भएन । म लगनखेलको नमूना मछिन्द्र स्कुलमा भर्ना भएँ । पढाइमा आजसम्म दोस्रो भएको सम्झना छैन । बच्चैदेखि साहित्यमा मेरो रुचि थियो । सात र नौ कक्षामा पढ्दा लेखिएका ‘मेरो फूलबारी’ कविता संग्रह र ‘सेतो भूत’ कथा संग्रहले पुरस्कार पनि पाए ।

मैले आठ वर्षमा ‘बालबालिका’ भन्ने कविता लेखेकी थिएँ । आज पनि कठस्थै छ । पहिलो कविताबाट नै मैले निकै प्रशंसा पाएको थिएँ । एकान्तमा सँधै घोत्लिएर कविता र कथा रच्न थालेँ । रचना पत्रिकामा छापिरहन्थे । अरुले दुःख दिँदा लेखेँ, खुसी हुँदा लेखेँ । स्कुलका दिनहरुमा पनि लेख्नुपर्ने हरेक क्रियाकलापमा भाग लिन्थेँ । स्कुलस्तरका, राष्ट्रिय स्तरका प्रतियोगितामा म सहभागी हुन्थेँ । र दोस्रो कहिल्यै भइनँ । स्कुलमा मैले प्रतियोगितामा भाग लिएपछि जितिन्छ नै भन्ने थाहा पाएपछि हरेक प्रतियोगतिामा मलाई नै अघि सार्थे । तर जित्ने र पुरस्कार पाउने अपेक्षाले भने कहिल्यै लेख्दिनथेँ । मलाई लेख्न रमाइलो लाग्थ्यो, लेख्थेँ । लेख्ने बानी छुटेको छैन ।

मेरो पहिलो लेख ‘मनकामना दर्शन’ शीर्षकमा ‘कोपिला’मा छापियो । विभिन्न पत्र–पत्रिकामा लेख छाप्दै पत्रकारिता सुरु गरेँ । मैले नलेखेको बाल पत्रिका र नबोलेका रेडियो सायदै होलान् । रेडियो नेपालमा ‘बाल कार्यक्रम’ चलाउने अवसर पनि पाएँ । रेडियो नेपालपछि मैले विभिन्न एफएममा बालकार्यक्रम चलाएँ ।

कार्यक्रम गर्ने भएपछि हामी दिनदिनै फिल्डमा हिँड्न थाल्यौँ । जहाँ जाँदा पनि क्यामेरापर्सनले मेरो साथ छोडनुहुन्नथ्यो । हामी घरघर गएर अन्तरवार्ता लिन्छौं । तिमी कसरी यस्ती भयौ ?’ भन्दै उल्टै मेरो अन्तरवार्ता लिन खोज्छन् मान्छेहरु । जवाफ दिँदा¬–दिँदा दिक्क लाग्छ । कतिलाई एउटै जवाफ दिनु ? यस्ता कुराले मलाई निरास बनाउँछन् । मेरो आँखा र पत्रकारिताको केही सम्बन्ध नै छैन नि ।

टेलिभिजनमा काम गर्ने अवसर पाइएला भनेर त मैले कहिल्यै कल्पनासमेत गरेकी थिइनँ । सक्छुजस्तो पनि लाग्दैनथ्यो । त्यतातर्फ ध्यान नै थिएन मेरो । दुग्धमातासँग हाम्रो राम्रो चिनजान थियो । एकदिन उहाँ घरमा आएर टेलिभिजनमा धार्मिक कार्यक्रम चलाउने योजना सुनाउनुभयो । मलाई पनि सँगै काम गर्ने प्रस्ताव राख्नुभयो । मैले भनेँ, ‘म कहाँ टेलिभिजनमा कहाँ काम गर्न सक्छु र ? क्यामेरा के हो ? कसरी फेस गर्ने ? मलाई केही थाहा छैन । म सक्दिनँ होला ।’

तर माताले नआत्तिकन निर्णय लिन भन्नुभयो । आमाले पनि माताले भनेपछि एक महिना स्वयंसेवक भएर काम गरिदिन भन्नुभयो । आमाको कुरा काट्न मन लागेन । काम गर्छु भनेँ । एबिसी टिभीमा हामीले ‘ईश्वर आराधना’ भन्ने कार्यक्रम चलाउने भयौँ । म एक्लै घरबाट बाहिर निस्केर जाने गरेकी थिइनँ । दिनहुँ कसैलाई काम गर्ने ठाउँसम्म पुर्याइदिनु पनि म भन्न सक्दिनथेँ । त्यसैले कार्यक्रम मेरै घरमा सुटिङ हुने भयो । पहिलो दिन हाम्रै घरको कौसीमा सुटिङ भयो । म निकै हतोत्साहित भएँ । क्यामेरापर्सनको आवाज जता–जता सुनिन्थ्यो, म त्यतै फर्केर बोल्थेँ । हाम्रो कार्यक्रमका क्यामेरापर्सन बलराम थापा थिए । पहिलो दिन गाह्रो नै भयो ।

तर पछि सबैले हौसला दिए । कार्यक्रम राम्रो हुँदै गयो । जसो–तसो एक महिना स्वयंसेवी भएर काम गरेँ । उक्त कार्यक्रमबाट मैले धेरै कुरा सिक्ने अवसर पाएँ । मुख्य त आत्मविश्वास विकास बढ्यो ।

यसैबीच एकदिन मेरा संगीत शिक्षक रमेश सुवेदीले मलाई जावलाखेलस्थित केवल नेटवर्कमा लिएर जानुभयो । त्यहाँ मेरो भेट एसिई च्यानलका डाइरेक्टर सचिन जोशीसँग भयो । उहाँ मेरो कामबाट प्रभावित हुनुहुँदो रहेछ । ‘स्पोन्सर’ खोज्ने हो भने च्यानल एसिईमा काम गर भन्ने प्रस्ताव गर्नुभयो । मैले तुरुन्त प्रतिक्रिया दिइहालेँ, ‘अवसर दिनुस्, म सक्दो मिहिनेत गरेर काम गर्छु ।’

मसँग क्यामेरापर्सन बलराम थापा पनि हुनुहुन्थ्यो । हामीले सँगै काम गर्ने भयौँ । च्यालन एसिईमा हामीले कार्यक्रम ‘धरातल’ चलायौं । अहिले पनि साताको दुई दिन यो कार्यक्रम सञ्चालन हुन्छ ।

म सेतो छडीको भरमा हिँड्छु । डोर्याइदिनु भनेर सकेसम्म कसैसँग पनि सहयोग माग्दिनँ । काम सकेर साँझ घर पुग्दा अबेर हुन्छ । तर पनि मलाई चोकसम्म लिन आउनु भनेर परिवारका सदस्यलाई पनि बोलाउँदिनँ । आमालाई भन्छु, ‘आमा जसरी सानी बहिनी सहयोगविना घर आउन सक्छिन् भनेर तपाईं ढुक्क हुनुहुन्छ, त्यस्तै सोच्नुहोला । म आउन सक्छु ।’

कार्यक्रम गर्ने भएपछि हामी दिनदिनै फिल्डमा हिँड्न थाल्यौँ । जहाँ जाँदा पनि क्यामेरापर्सनले मेरो साथ छोडनुहुन्नथ्यो । हामी घरघर गएर अन्तरवार्ता लिन्छौं । तिमी कसरी यस्ती भयौ ?’ भन्दै उल्टै मेरो अन्तरवार्ता लिन खोज्छन् मान्छेहरु । जवाफ दिँदा¬–दिँदा दिक्क लाग्छ । कतिलाई एउटै जवाफ दिनु ? यस्ता कुराले मलाई निरास बनाउँछन् । मेरो आँखा र पत्रकारिताको केही सम्बन्ध नै छैन नि । म चाहन्छु मसँग साक्षात्कार हुने हर मान्छेले मेरो कामका बारेका मात्र चाासो राखुन् । मेरो अशक्तताबारे मात्र सोधेर मेरो उर्जा कम नगरिदिए हुन्थ्यो ।

०००

म सिर्जनसिल हुन मन पराउने मान्छे । तर मलाई धेरैले अपांग कोटामा लडेर जागिर खान पैसा कमाउन सल्लाह दिन्छन् । कर पनि गर्छन् । तर म फरक हुन चाहन्छु । जबदेखि म बुझ्ने भएँ, आँखा नदेख्ने भनेर नै सँधै विचराको पात्र बनाएको पाएँ । तर मैले आफूलाई कहिल्यै पनि कमजोर ठानिनँ । म घरभित्र भन्दा बाहिर खुला आकाशमा रमाउँछु । हरेक दिन नयाँ केही सिक्न चाहन्छु । संसार देख्न सक्तिनँ तर महशुस गर्न सक्छु । त्यसैले मलाई विचरा भनेर सुम्सुम्याउने मान्छे मन पदैैनन् । मलाई त तिमी केही गर भनेर आँट र हिम्मत दिने मान्छे मन पर्छन् ।

म सेतो छडीको भरमा हिँड्छु । डोर्याइदिनु भनेर सकेसम्म कसैसँग पनि सहयोग माग्दिनँ । काम सकेर साँझ घर पुग्दा अबेर हुन्छ । तर पनि मलाई चोकसम्म लिन आउनु भनेर परिवारका सदस्यलाई पनि बोलाउँदिनँ । आमालाई भन्छु, ‘आमा जसरी सानी बहिनी सहयोगविना घर आउन सक्छिन् भनेर तपाईं ढुक्क हुनुहुन्छ, त्यस्तै सोच्नुहोला । म आउन सक्छु ।’

म सानैदेखि विद्रोही स्वभावकी थिएँ । परिवारका सदस्य जाने हर ठाउँमा मलाई जानु पर्थ्यो । उनीहरुले झैँ ठाउँअनुसारका लुगा पनि लगाउनुपर्थ्यो मलाई । साडी, कुर्ता, हिल सबै । कसैले तँ सक्दिनस्, जान्दिनस् भनेको म सुन्नै सक्दिनँ । उनीहरुले झैँ राम्ररी साडी लगाएर र हिँडेर म देखाइदिन्छु । मैले उनीहरुले भन्दा राम्ररी साडी लगाउन जानेकी छु । ऐनामा आफूलाई हेर्न सक्दिनँ । तर मेकअप पनि उस्तै राम्ररी गर्छु । अनि सबैले गर्व सक्ने काम पनि गरेर देखाएकी छु । म स्कुलमा पनि त्यस्तै थिएँ । शिक्षकले लेखाएको नोट मैले कहिल्यै एक अक्षर पनि लेखिनँ । अध्ययनका लागि पनि कुनै एउटा शिक्षकको किताब मात्र रटिनँ । किनकि म आफूलाई अरुका कुरा रट्ने सुगाजस्तो बनाउन चाहन्नँ ।

०००

जीवनमा आइपरेका ठक्करले नै मलाई बलियो बनाए । म कामको खोजीमा विभिन्न एफएममा जान्थेँ । तर आँखाको ज्योति नभएकै कारण मलाई काम दिँदैनथे । तिमी सक्दिनौ, आउन–जान गाह्रो हुन्छ भन्दै मेरो क्षमताको अपमान गर्नेहरु धेरै थिए । मैले पनि म अपांग हुँ, दया गरेर जागीर दिनु भनेर कहिल्यै भनिनँ । म तिनीहरुलाई धन्यवाद दिन चाहन्छु । त्यतिबेला ती मिडियाहरुले दया गरेर काम दिएका भए सानातिना काममै अल्झिएर बसेकी हुन्थेँ हुँला । अहिले विभिन्न हण्डर र ठक्कर खाएर म बलियो बनेँ । आफुलाई तिखारेँ । टेलिभिजनमा काम गरिरहेकी छु । आत्मनिर्भर छु, खुशी छु । अहिले म मानसिक तनाव भएकालाई काउन्सिलिङ पनि गर्छु । संगीत मन पर्छ । अध्यात्मतिर पनि झुकाव छ, साधना गर्छु र गराउँछु । अहिले ‘प्लस टू’को परीक्षा दिएर बसेकी छु । अगाडि पनि धेरै पढ्ने योजना छ । अर्को रहर छ, क्याफे लाइब्रेरी खोल्ने । नेपालमा धेरै क्याफे लाइब्रेरी छन् । तर ती महँगा छन् । म त्यस्तो क्याफे लाइब्रेरी खोल्न चाहन्छु, जसमा जो कोही सजिलै सदस्य बन्न सकुन् । म सीमान्तकृत वर्गका मानिस त्यहाँ आएर र अन्तरक्रिया गरेको हेर्न चाहन्छु । म सामान्य मानिसका कथा पत्रकारितामार्फत बाहिर ल्याउन चाहन्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप