बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

माओवादी एकताको घोषणाले खुसी छन् सहिद र बेपत्ता परिवार

आइतबार, ०२ जेठ २०७३, १६ : ३७
आइतबार, ०२ जेठ २०७३

काठमाडौँ– विभिन्न समूहमा विभक्त (माओवादी) घटकबीच एकता प्रक्रिया सुरु भएपछि दश वर्षे सशस्त्र युद्धको क्रममा सहादत प्राप्त गरेका र बेपत्ता भएका नागरिकका परिवारले खुसी व्यक्त गरेका छन् ।

माओवादी सशस्त्र युद्धका कारण मुलुकले गणतन्त्र, सङ्घीयता, सामाजिक न्याय तथा अन्य राजनीतिक तथा आर्थिक अधिकार प्राप्त गरेको तर त्यसको आरम्भकर्ता दल नै विभिन्न टुक्रामा विभक्त हुनु दुःखद रहेको तर्क गर्दै आएका उनीहरुले एकता प्रक्रियाले एउटा गति दिने बताएका छन् । माओवादी आन्दोलनमा लागेर सहादत प्राप्त गरेकी  भरत ढुङ्गानाका छोरी कविता ढुङ्गानाले  माओवादी पार्टीबीचको एकताले आफूहरुमा खुसीको सञ्चार गरेको बताइन्  ।

उनले भनिन्  – ‘‘मोहन वैद्यलाई पनि एकतामा ल्याउन सकिए भए त्यसले अझै सकारात्मक सन्देश दिन सक्थ्यो । उहाँहरु नआए पनि बहुमत सदस्य एकता प्रक्रियामा आउनु सकारात्मक छ ।’’ माओवादी आन्दोलनका सबै घटक सिङ्गो रुपमा एकीकृत भएर सहिद तथा बेपत्ता परिवारको भावनालाई सम्बोधन गर्नुपर्ने ढुङ्गानाको भनाइ छ ।

यस्तै, सशस्त्र युद्धको क्रममा आफ्ना दाइ र बहिनी गुमाएकी  हेम मोक्तान माओवादी घटक एकता प्रक्रियामा आउनुलाई सकारात्मक रुपमा लिएको बताउछन् ।  विभिन्न टुक्रामा माओवादी विभक्त हुँदा राजनीतिक मुद्दा ओझेलमा परेको, शान्ति सम्झौता विपरीतका गतिविधि बढेको, परिवर्तनबाट आएको शक्तिलाई हेप्ने र चेप्ने प्रक्रिया सुरु भएको भन्दै मोक्तान माओवादीका कुनै पनि नेता तथा कार्यकर्ताले बहानाबाजी गरेर एकता प्रक्रियालाई भाड्न नपाइने बताए  । मोक्तानको दाइ मणिकलाल मोक्तान र बहिनी सुमित्रा मोक्तान सशस्त्र युद्धको समयमा चितवनमा मारिएका थिए ।

यस्तै, बाँके नेपालगन्जमा ज्यान गुमाउनुभएका प्रेमबहादुर कार्कीका छोरा जटिल कार्कीमा पनि माओवादी घटकबीचको एकताले उत्साहको सञ्चार गरेको छ । माओवादी टुटफुटमा विभक्त हुँदा आन्दोलनमा मृत्युवरण गरेकाको रगतको अवमूल्यन भएको, सहिद परिवार क्रमशः निराश हुँदै गएको अवस्थामा सक्नेजति पार्टी एकतामा आउनु जायज भएको उनको भनाइ छ । उनले भने  – “हामी सहिद परिवार एकदमै खुसी छौ, ढिलै भए पनि माओवादी आन्दोलन एकतावद्ध हुने दिशामा अगाडि बढ्यो, यसले सहिदको रगतको सम्मान हुन्छ भन्ने विश्वास पैदा भएको छ ।”

सशस्त्र युद्धका क्रममा आफ्ना श्रीमान् बेपत्ता भएकी टीका बास्तोलालाई पनि माओवादी घटकको एकता प्रक्रियाले खुसी तुल्याएको छ । मुलुकको परिवर्तनमा योगदान गरेको पार्टी टुटफुट हुनुले बेपत्ता परिवारको भावनामा ठूलो चोट परेको उल्लेख गर्दै उहाँले ढिलै भए पनि सबै माओवादी घटक एकतामा आउनुलाई सकारात्मक रुपमा लिएको बताइन्  ।

उनले भने  – “आन्दोलनका क्रममा उठाइएको राजनीतिक, सामाजिक तथा आर्थिक मुद्दा सम्बोधन गर्दै नेपाली जनता, कार्यकर्ताको अपेक्षा पूरा गर्न लाग्नुपर्छ । सहिद बेपत्ताको सपना पूरा गर्न लाग्नुपर्छ ।”

यस्तै सशस्त्र युद्धको क्रममा घाइते समेत भएकी भगवती प्रधानलाई पनि माओवादी घटकबीचको एकताले खुसी तुल्याएको छ । उनले भनिन्  – “शान्ति प्रक्रियामा आएपछि माओवादीमा आएको टुटफुटले मुलुक, जनता, नेता तथा कार्यकर्तालाई ठूलो क्षति पु¥याएको छ । एकताले सो क्षतिको परिपूर्ति गर्छ भन्ने विश्वास छ ।” उनले सशस्त्र युद्धको क्रममा आफ्ना श्रीमान् कमलप्रसाद शर्मालाई गुमाएकी थिइन्  । एकीकृत नेकपा(माओवादी), नेकपा(क्रान्तिकारी माओवादी), नेकपा (माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा माओवादीसहित नेत्रविक्रम चन्द समूह तथा नयाँशक्ति अभियानमा लागेका केही नेताले आगामी एक साताभित्र एकता गर्ने घोषणा गरेका छन् ।

माओवादी घटकले विगतका गल्ती तथा कमजोरीलाई सच्याएर नयाँ आधारमा अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । यही जेठ १ गते विभिन्न पाँच दलले पार्टी एकताको १३ बुँदे प्रस्ताव समेत पारित गरेका छन् । उक्त प्रस्तावमा संविधानसभाबाट जारी भएको नेपालको संविधानमा उल्लिखित सकारात्मक विषयलाई ग्रहण गदै थप अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्ने विषयलाई जोड दिएका छन् ।

विसं २०६९ असारमा मोहन वैद्य समूहले बौद्धमा राष्ट्रिय भेला गरी बेग्लै नेकपा–माओवादी गठन गरेको थियो ।

यस्तै २०७१ मङ्सिर ८ गते बुद्धनगरमा गएर नेत्रविक्रम चन्द र खड्गबहादुर विकले वैद्य नेतृत्वको माओवादीसँग सम्बन्ध विच्छेद गरेको भन्दै वैद्य र महासचिव थापालाई लिखित पत्र प्रदान गर्नुभएको थियो । विसं २०७२ कात्तिक २२ गते वैद्य नेतृत्वको नेकपा–माओवादी र परि थापा नेतृत्वको नेकपा(एकीकृत) बीच पार्टी एकता भयो र नाम नेकपा (क्रान्तिकारी माओवादी) अस्तित्वमा आयो ।

एकता प्रक्रियाको विषयमा बोलाइएको सो पार्टीको केन्द्रीय समितिको बैठकले कुनै निर्णय नगरेपछि नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव रामबहादुर थापासहित ११४ जना नेताले जेठ १ गते एमाओवादीसँग एकतामा जाने औपचारिक निर्णय गरेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप