बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

माग पूरा नभएसम्म गठबन्धनले काठमाडौँ केन्द्रित आन्दोलन जारी राख्ने

आइतबार, ०२ जेठ २०७३, १८ : ५४
आइतबार, ०२ जेठ २०७३

काठमाडौँ - सङ्घीय गठबन्धनले सिंहदरबार घेराउ गरेको छ । बिहान नौ बजेदेखि सिंहदरबारको हनुमानथान र माइतीघर मण्डलामा २९ दलीय सङ्घीय गठबन्धनमा आबद्ध दलका नेता कार्यकर्ताले धर्ना दिएका थिए ।

सिंहदरबार वरपर निषेधित क्षेत्र घोषणा गरी बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी आन्दोलनकारीलाई अघि बढ्न नदिने गरी तयारी अवस्थामा तैनाथ थिए । आन्दोलनकारीले झण्डासहित नारा लगाई माग पूरा हुनुपर्ने माग गरे ।

धर्नामा गठबन्धनका नेता उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, सर्वेन्द्रनाथ शुक्ल, राजकिशोर यादव, अशोक राई, अनिल झा, परशुराम तामाङ, कुमार लिङ्देन, कुमार राई, वृशेषचन्द्र लाललगायत सहभागी थिए । घेराउले सो क्षेत्रमा भएको यातायात अवरुद्धका कारण यात्रु पैदलै गन्तव्यमा जान बाध्य थिए । तराई मधेस लोकतान्त्रिक पार्टीका महासचिव सर्वेन्द्रनाथ शुक्ल संविधानमा भएका त्रुटि हटाएर संविधान संशोधन नगरेसम्म आन्दोलन जारी रहने बताउँछन् ।

“मधेसको आन्दोलन साम्प्रदायिक हो भन्ने भ्रम चिरी शान्तिपूर्ण तबरले माग पूरा गराउने उद्देश्यले सिंहदरबार केन्द्रित धर्ना सुरु गरेका हौँ, माग पूरा नभएसम्म धर्ना जारी रहन्छ, जनसङ्ख्याका आधारमा राजनीतिक प्रतिनिधित्व गरिनुपर्छ भन्ने मधेसका जनताको माग छ”–उनले भने । गत असोज ३ गते संविधानसभाबाट संविधान जारी भएपछि प्रदेश सीमाङ्कनको विषयलाई लिएर असन्तुष्ट मधेस केन्द्रित दलले सुरुमा नेपाल–भारत सिमानामा आन्दोलन गरेका थिए । सिमानाको आन्दोलनले अत्यावश्यक वस्तुको आपूर्तिमा असहज भयो । त्यसपछि जनताको दैनिकीमा कठिनाइ भएको भन्दै गठबन्धनले सिंहदरबार केन्द्रित आन्दोलन गरेको हो । धर्नापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै गठबन्धनका नेता अशोक राई, गोपाल दहित, मगरातका नवीन रोक्का, नेवा देय् दबूःका अध्यक्ष नरेश ताम्राकारलगायतले माग पूरा नभएसम्म काठमाडौँ केन्द्रित आन्दोलन जारी रहने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप