आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

१२ दिनदेखि कनकमणि भूमिगत ! १२ अर्ब २५ करोड बिदेश पुर्‍याए : राजश्व

शुक्रबार, ०७ साउन २०७३, १८ : ०८
शुक्रबार, ०७ साउन २०७३

काठमाडौं– साझा यातायातका अध्यक्ष कनकमणी दीक्षितलाई राजस्व अनुसन्धान विभागले सात दिनभित्र उपस्थित नभए कारबाही गर्ने चेतावनी दिएपछि उनी प्रहरीको खोजीमा छन् ।

असार २८ गते कनकमणी र श्रीमती शान्ता दीक्षितलाई पक्राउ गर्न पाटनढोकास्थित दीक्षित निवास पुगेको राजस्व र महानगरीय प्रहरी परिसर ललितपुरको टोली खाली हात फर्केको थियो ।

असार २६ गतेदेखी निवासमा जान छाडेका दीक्षित सामाजिक सञ्जालबाट समेत टाढा भएका छन् । सामाजिक सञ्जालमा निकै सक्रिय रहने दीक्षितले डा. गोविन्द केसीले अनसन शुरु गरेपछि अर्थात असार २६ गतेबाट ट्वीट अथवा रिट्वीट गरेका छैनन् । त्यसदिन उनले करिब १५ देखी २० ओटा टुईट र रिटुईट गरेका थिए ।

असार २८ गते उनलाई नियन्त्रणमा लिन नसकेपछि राजस्व अनुसन्धान विभागले सरकारी स्वामित्वको राष्ट्रिय दैनिक गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेर सात दिनभित्र विभागमा उपस्थित नभए प्रचलित कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिएको थियो ।

विदेशी विनिमय सम्वन्धी छानविन र अनुसन्धानको लागि भन्दै विभागले यसरी सार्वजनिक सूचना जारी गरेर बोलाएपनि दीक्षित दम्पती हालसम्म सम्पर्कमा नआएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

राष्ट्र बैंकलाई छलेर अर्बौ लगानी

०७३ वैशाखमा दीक्षित दम्पतीले विदेशी मुद्रा अपचलन गरेको भन्दै राजस्व अनुसन्धान विभागमा उजुरी परेको थियो । ‘विदेशी बैंकमा खाता र शेयर लगानी रहेको तथा अमेरिकामा ७ लाख ३५ हजार डरलको अपार्टमेन्ट खरिद गरेको’ उजुरी परेपछि विभागले उनको सम्पतिमाथि अनुसन्धान शुरु गरेको थियो ।

विदेशी विनिमय नियमित गर्ने ऐन–२०१९ अनुसार यसरी विदेशमा लगानी गर्दा राष्ट्रबैंकको स्वीकृती अनिवार्य हुन्छ । सोही ऐन अनुसार राष्ट्र बैंकले बेला–बेला सार्वजनिक सूचना समेत जारी गर्दै आएको छ । दीक्षितले राष्ट्र बैंकका त्यस्ता सूचनाको कहिल्यै पर्वाह नगरेको आरोप लागेको छ ।

‘उजुरी परेपछि हामीले राष्ट्र बैंकलाई सोधेका थियौं’ दीक्षितको सम्पतीबारे अनुसन्धान गरिरहेका राजस्वका एक अनुसन्धान अधिकृतले भने, ‘राष्ट्रबैंकले उनलाई विदेशमा लगानी गर्न अनुमति नदिएको र उनको लगानीबारे थाहा नभएको जानकारी गराएको थियो, त्यसपछि हामी उनको लगानी खोज्न थाल्यौं ।’

राजस्व अनुसन्धान विभाग स्रोतले दिएको जानकारी अनुसार अमेरिकाका दुईओटा बैंकहरु एपल र चेस तथा बेलायतको एचएसबिसी बैंकमा रहेको ७ ओटा खातामा दीक्षितले २ करोड ५० लाख डिपोजिट गरेको पाईएको छ ।

ती मध्ये कुनै खातामा ११ हजार पाउण्ड स्ट्रलिङ मात्र डिपोजिट रहेको पार्ईएको छ भने कुनै मा ४३ हजार पाउण्ड स्ट्रलिङ रहेको भेटिएको छ । नगद डिपोजिट थोरै भएपनि उनले विदेशी बैंकमा करिब १२ अर्बको शेयर लगानी गरेको पाइएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

दीक्षितमाथि अनुसन्धान भईरहेको पुष्टि गर्दै राजस्व अनुसन्धान विभागका डिजी निर्मलहरी अधिकारीले भने, ‘उँहामाथि अनुसन्धान भईरहेको छ, अनुसन्धान पुरा नभैकन सवै कुरा बाहिर बोल्न मिल्दैन ।’

१२ अर्बको शेयर लगानी

बेलायतको स्ट्याण्डर्ड चार्टर्ड बैंकमा दीक्षितको नाममा ३६ हजार कित्ता शेयर रहेको तथ्यांक राजस्व अनुसन्धान विभागले फेला पारेको छ ।

आजको मितिमा चार्टर्ड बैंकको प्रति शेयर मुल्य ४७० पाउण्ड स्ट्रलिङ रहेको छ, जसको नेपाली मुल्य २ अर्ब ३७ करोड हुन आउँछ ।

त्यस्तै बेलायतको एचएसबिसी बैंकमा दीक्षितको नाममा १ लाख २० हजार कित्ता शेयर लगानी रहेको खुलेको छ । सो बैंकको शेयर भ्यालु आजको मितिमा ५८७ पाउण्ड स्ट्रलिङ रहेको छ । जसको नेपाली मुल्य ९ अर्ब ८० करोड हुन्छ ।

यसरी दुईओटा बैंकमा रहेको उनको शेयरको नेपाली मुल्य करिब १२ अर्ब १७ करोड रहेको छ । यसरी बैंक डिपोजिट सहित उनले १२ अर्ब २५ करोड रुपैयाँ राष्ट्रबैंकलाई छलेर विदेश पुर्याएको ठहर गर्दै राजस्व अनुसन्धानले उनीमाथि करिब तीन महिना अघिदेखि अनुसन्धान शुरु गरेको थियो ।

गएको वैशाख १० गते साझा यातायातको अध्यक्षको हैसियतमा करोडौं भ्रष्टाचार गरेको भन्दै दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो । बन्दी प्रत्यक्षीकरणको रिटमार्फत सर्वोच्च अदालतको आदेशले उनी छुटेका थिए ।

अमेरिकामा अपार्टमेन्ट

दीक्षितले ६ बर्षअघी अमेरिकामा अपार्टमेन्ट खदिर गरेका थिए । ४ लाख ३५ हजार डलरमा खरिद गरेको सो अपार्टमेन्टको आधा भुक्तानी गरिसकेको हुनसक्ने राजस्व स्रोतले जनाएको छ । यदि अपार्टमेन्टको भुक्तानी आधा मात्रै गरेको भएपनी त्यसको नेपाली भ्यालु २ करोड ५० लाख हुन आउँछ ।

अब के हुन्छ ?

यसरी विदेशमा लगानी गर्दा वा विदेशी बैंकमा नगद डिपोजिट गर्दा दीक्षितले पुर्वस्विकृती नलिएको कुरा राष्ट्रबैंकले राजस्व विभागलाई पठाएको पत्रबाट खुलेको छ ।

यदि पुर्वस्वीकृति लिन नपाएको बखत विदेशमा आर्थिक कारोवार गरेर फर्केको ३५ दिनभीत्र जानकारी गराएर स्विकृत लिनुपर्ने कानुनी प्रावधानी रहेको छ, तर उनले त्यसो पनि गरेनन् । यसरी राज्यको कानुन विपरीत विदेशी मुद्रा अपचलन गरेको भन्दै उनलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान विभागले ९० दिनसम्म थुनेर अनुसन्धान गर्नसक्ने कानुनी प्रावधान रहेको छ ।

कसुर प्रमाणीत भएमा उनको विगो राज्यले जफत गर्नेछ । त्यसबाहेक उनलाई बिगोको न्युनतम सयदेखी ३ सय प्रतिशत सम्म जरीवाना हुने कानुनी प्रावधान रहेको छ । यसरी दीक्षितलाई न्युनतम २४ अर्ब ५० करोड देखी अधिकतम ३६ अर्ब सम्म जरिवाना हुनसक्ने बताईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप