आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

टर्कीको विशेष सुरक्षा दस्ता विघटन गरिने

आइतबार, ०९ साउन २०७३, १० : २४
आइतबार, ०९ साउन २०७३

अनकारा - अघिल्लो हप्ता सत्ता पलटको असफल प्रयासपछि टर्कीको राष्ट्रपतीय सुरक्षा दस्ता भंग गरिने भएको छ।

आफ्ना विपक्षीलाई सफाया गर्ने कारबाहीलाई राष्ट्रपति रेजिप तायप अर्दोआनले निरन्तरता दिइरहँदा सत्ता पलटलाई साथ दिएको भन्दै उक्त दस्ताका झण्डै ३ सय सुरक्षाकर्मी पक्राउ परेका छन्।

टर्कीका प्रधानमन्त्री बिनाली यल्द्रिमले झण्डै २५ सय सैनिक रहेको उक्त दस्ता आवश्यक नरहेको एउटा टेलिभिजन च्यानललाई बताएका छन्। सत्ता पलटको असफल प्रयास यता त्यहाँ १३ हजार भन्दा बढी पक्राउ परिसकेका छन्।

राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति अर्दोआनले सत्तापलटको प्रयासमा संलग्न जो कोहीले पनि आफ्ना कामको लागि राज्य, सुरक्षानिकाय र न्यायालयको सामना गर्नैपर्ने बताए।

गिरफ्तार गरिनेमा अमेरिकामा बस्दै आएका धर्मगुरु फेतुल्लाह गुलेनका भतिजा र प्रमुख सहयोगी पनि छन्।

अर्दोआनले असफल सत्ता पलटमा गुलेनको हात रहेको आरोप लगाएपनि उनले त्यसलाई अस्वीकार गर्दै आएका छन्।

उक्त घटनापछि हजारौँ सरकारी कर्मचारी एवं सुरक्षाकर्मीलाई गिरफ्तार गरिएको छ एवं विद्यालयका शिक्षक तथा विश्वविद्यालयका प्रध्यापकलाई पदमुक्त गरिएको छ।

बुधवार संकटकाल घोषणा गरिएपछि, राष्ट्रपति र मन्त्रिपरिषदले संसदको अनुमति विना नै कानुनको मस्यौदा गर्ने र अधिकार एवं स्वतन्त्रतामा कटौति गर्ने शक्ति पाएका छन्।

झण्डै २५ सय सदस्य रहेको राष्ट्रपतीय सुरक्षा दस्ताका कम्तीमा २ सय ८३ जना असफल सत्ता पलटपछि गिरफ्तार भइसकेका छन्।

कुनै बेला अर्दोआनका साझेदार रहेका फेतुल्लाह गुलेनले आफ्नो सुपुर्दगीबारे टर्कीले गरेको प्रयास अस्वीकार गर्न अमेरिकालाई आग्रह गरेका छन्।

टर्कीको एनाडोलु समाचार संस्थाले गुलेनका भतिजालाई देशको उत्तरपूर्वी क्षेत्राबाट गिरफ्तार गरि सोधपुछका लागि राजधानी अंकारा ल्याइंदै गरिएको जनाएको छ।

राष्ट्रपति कार्यालयले गुलेनका दाहिने हातका रुपमा हेरिने हेलिस हेन्सी पनि पक्राउ परेको बताएको छ।

यसबीच सत्ता पलटको प्रयास विरुद्ध वैधानिक ढंगले दिनुपर्ने प्रतिक्रियाको हद अर्दोआनले पार गर्न लागेको भन्दै अधिकारवादी संस्था एमनेष्टि इन्टरनेश्नलले चिन्ता व्यक्त गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप