शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोले पाइप बगाएपछि म्याग्दीमा खानेपानीको हाहाकार

आइतबार, ०९ साउन २०७३, ११ : ४९
आइतबार, ०९ साउन २०७३

म्याग्दी - म्याग्दीको बेनी नगरपालिका–४ बगरफाँटमा पहिरोले खानेपानीको पाइप बगाएपछि खानेपानीको हाहाकार भएको छ ।

गाउँको सिरानमा रहेको भकिम्ली गाविसको तोराखेतको भिरबाट विगत छ दिनदेखि लगातार खसेको पहिरोका कारण बगरफाँटका बासिन्दा त्रसित बन्नुका साथै छ दिनदेखि खानेपानीको समस्याबाट समेत पीडित बनेका छन् ।

बगरफाँट र भकिम्लीको सिमानामा पर्ने दुधेखोलाको मुहानबाट पाइपमार्फत ल्याइएको पानी उपभोग गर्दै आएका वगरफाँटका बासिन्दा पहिरोले पाइप बगाइदिएपछि पानीको जोहो गर्न कुवा र खोलामा धाउन बाध्य भएको स्थानीयवासी टीकाकुमारी घिमिरेले बताए ।

बगरफाँट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत वितरण गरिएको पानी पहिरोले पाइप बगाएपछि अवरुद्ध भएको र गाउँलेलाई समस्या भएको समितिका उपाध्यक्ष चन्द्रबहादुर घिमिरेले जानकारी दिए ।

वनक्षेत्रबाट पाइपमार्फत ल्याइएको पानी पहिरोले बगरफाँट सामुदायिक वनको विभिन्न तीन स्थानमा पाइप बिग्रेको बगरफाँट खानेपानी उपभोक्ता समितिका हेरालु तोपबहादुर कार्कीले बताए ।

केही दिनअघिदेखिको निरन्तर वर्षाका कारण तोराखेतको झाँक्रीस्थानको जमिन धाँजाधाँजा भएर चर्केको र त्यहीबाट आएको पहिरोले एक घर र दुई गोठ बगाइसकेको छ । तोराखेतका स्थानीय बासिन्दा टेकबहादुर मल्लले दिएको जानकारीअनुसार तोराखेतको कृषि सडकदेखि तल झाँकीस्थानसम्मको सम्पूर्ण जमिन तलतिर लच्केको छ भने बाटो माथिको जङ्गलसमेत तलतिर बग्न थालेकाले बगरफाँटको कुरुङ्दी र जरुवा क्षेत्रका करिब ५० घरपरिवार उच्च जोखिममा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप