शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीबाट सप्तरी जिल्लाका दुई हजार घर डुबान

आइतबार, ०९ साउन २०७३, १२ : ०२
आइतबार, ०९ साउन २०७३

राजविराज - शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण सप्तरी जिल्लाका विभिन्न खोलानालामा आएको बाढीले करिब दुई हजारभन्दा बढी घर डुबानमा परेका छन् ।

खाँडो खोलामा आएको बाढीले बस्तीमा पानी पस्दा घर डुबानमा परेको प्रहरीले जनाएको छ । सो बाढीले सकरपुरा, दिघवा, लौनिया, रम्पुरा मल्हनियाँ, देउरी भरुवा, झल्ही, फर्सैठ, बिसहरिया, तिलाठी लगायत अधिकांश गाविसको गाउँ बस्तीमा पानी पसेको बताइएको छ ।

यस्तै मोहली खोलामा आएको बाढीले पोर्ताहा, भारदह, गिद्धखोरा, बरमझिया त्रिकोल हनुमानगर कोलाडी, लगायतको गाविसका हजारौँ घर डुबानमा परेको भारदह– ६ का अशोक माझीले बताए ।

सो खोलाको बाढीले भारदहमा बढी क्षति पु¥याएको छ । मोहली खोलाको बाढीले हनुमानगर योगिनीमाई नगरपालिका– २ स्थित कोसी पश्चिमी नहरका बाँधले पानी थुनिएपछि भारदह वडा ५ र ६ का गाउँ पूरै डुबानमा परेको स्थानीयवासी उमेश माझीले जानकारी दिए।

बाढी घर घरमा पसेपछि डुबान क्षेत्रका विभिन्न बाँध र नहरमा मानिस बस्न बाध्य भएको बताइएको छ । त्यस्तै पोडा खोलामा आएको बाढीले ढुकुली, महदेवा, बभन्नगामा कटीसहितको गाविसका दुई सयभन्दा बढी घर डुबानमा परेको स्थानीयवासी शैलेन्द्र सिंहले जानकारी दिए ।

विभिन्न खोलानालामा आएको बाढीले जिल्लाको करिब ३० हजार हेक्टर खेतीयोग्य जग्गासमेत जलमग्न भएको बताइएको छ ।

त्यस्तै विभिन्न ग्रामीण भेगमा रहेका दर्जनौँ माछा पोखरीमा पानी पस्दा लाखौँ बराबरको माछा पानीसँगै बगेको हनुमानगर योगिनी माई नगरपालिका– २ का श्याम खड्काले बताए ।

यसैबीच खाँडो खोलाबाट बाढीले बढी प्रभावित क्षेत्र सकरपुरा, रम्पुरा मल्हनियाँ र तिलाठी गाविसमा आज मुरही, चिउरा र भुजिया बाँडिने प्रजिअ बलदेव गौतमले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप