आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा बाढी : मर्नेको संख्या १५० नाघ्यो, हजारौं विस्थापित

आइतबार, ०९ साउन २०७३, १५ : ०३
आइतबार, ०९ साउन २०७३

बेइजिङ – चीनको उत्तरी र मध्य भागमा आएको बाढी र पहिरोका कारण कम्तिमा १५० जनाको मृत्यु भएका छन् भने सयौंको संख्यामा बेपत्ता भएका छन् । चिनियाँ अधिकारीहरुका अनुसार बाढीले आवसीय क्षेत्रमा क्षति पुर्याउँदा हजारौं विस्थापितसमेत भएका छन् ।

बाढी र पहिरोको मारमा पर्नेमा सबैभन्दा बढी हेबई र हेनान प्रान्त रहेको छ । हेबईमा कम्तिमा ११४ जनाको मृत्यु भएको छ भने १११ जना बेपत्ता रहेका छन् । उक्त क्षेत्रमा ५३ हजार घरहरु नष्ट भएका छन् ।

प्रान्तको सिङताई सहरमा २५ जनाको मृत्यु भएपछि त्यहाँ स्थानीयले प्रदर्शनसमेत गरेका थिए । त्यस्तै जिङसिङ काउन्टीमा २६ जनाको मृत्यु भएको छ भने ३४ जना हराइरहेका छन् ।

हेनानमा १५ जनाले ज्यान गुमाएको खबर प्राप्त भएको छ भने त्यहाँ ७२ हजारजनालाई सुरक्षित स्थानमा सारिएको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सरकारले बाढी र पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारको कामलाई तिव्र बनाएको छ । धेरै स्थानमा विद्युत आपूर्ती र सञ्चार प्रभावित भएको छ ।

यस वर्ष १.५ मिलियन हेक्टर जमिनमा लगाइएको बाली नष्ट भएको र ३ बिलियन डलर क्षति भएको अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप