आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

ओलीलाई ‘अन्तिमसम्म साथ दिन्छु’ भन्ने गच्छदार यसरी भए ‘ब्याक’

आइतबार, ०९ साउन २०७३, १७ : ५४
आइतबार, ०९ साउन २०७३

काठमाडौं – मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको साथ नछाड्ने अडान अन्तिम समयसम्म लिएर बसेका थिए ।

तर, पार्टीका अन्य नेताहरुले गच्छदारको अडानप्रति असहमति जनाउँदै सरकार छाड्न बाध्य बनाए । सरकारबाट फिर्ता हुने कुरामा अझै पनि गच्छदार भित्री मनले अझै सहमत देखिएका छैनन् ।

शनिबार पार्टी कार्यालयमा संसदीय दल तथा पार्टीको संयुक्त बैठकमा विजयकुमार गच्छदारले आफू केपी शर्मा ओलीलाई धोका नदिने कुरा पटक–पटक दोहोर्याएका थिए । उनले भनेका थिए, ‘प्रधानमन्त्री ओली राजिनामा दिएको भए मलाई प्रचण्डको गठबन्धनलाई समर्थन गर्न सजिलो हुन्थ्यो तर राजिनामा नदिएकै अवस्थामा ओलीलाई छाड्न मिल्दैन ।’

तर, यसमा पार्टी उपाध्यक्ष रामेश्वर राय यादवले फरक मत राखेका थिए । यादवको भनाई उद्धृत गर्दै पार्टी स्रोत भन्छ, ‘ओली सरकार गठनको बेलामा पनि पार्टीका बहुमत कार्यकर्ता तथा नेताले सरकारमा नजान भनेको तर सरकारमा जानुभयो । आज बहुमत सदस्यले नै ओली सरकार छाड्न भनि रहेका छन् यो कुराको ख्याल राख्नुहोला ।’

ओली नेतृत्वको सरकारलाई छाड्यो भने मधेशमा पार्टीप्रति भइरहेको आलोचना पनि कम हुने सुझाव दिँदै उपाध्यक्ष यादवले भनेको कुरा उल्लेख गर्दै एक नेताले भने, ‘फेरि पनि बन्ने सरकारमा तपाईको नेतृत्वमा जानेछ, त्यसैले ओली सरकारलाई छाडेर अविश्वासको प्रस्तावमा निर्णय गर्ने बाटो खुल्ला गरी दिनुहोला ।’

त्यस्तै, पार्टीका उपाध्यक्ष जितेन्द्र देवले पनि ओलीको सरकार छाड्दा नै राम्रो हुने भनि सझुाव दिएका थिए । यद्यपि, गच्छदार भने अझै सरकार नछाड्ने मुडमा नै थिए ।

त्यही बेला वातावरण मन्त्री बिश्वेन्द्र पासवान पार्टी कार्यालयमा पुगे । प्रधानमन्त्री केपी ओलीको दूत भएर पार्टी कार्यालय छिरेका उनलाई भेट्न गच्छदार बैठक छाडेर निस्के । ‘तपाईंहरु छलफल गर्दै गर्नु म एकछिनमा आइहाल्छु’ भनि पासवानसँग भेट्न अर्को कोठामा पसेका थिए । गच्छदार निस्केपछि बैठकको अध्यक्षता उपाध्यक्ष यादवले गरे । आफ्नै अध्यक्षतमा बैठक भएको कारणले रामेश्वर राय यादवलाई निर्णय गर्न सजिलो भयो । उनले गच्छदार अनुपस्थितिको बैठकमा अन्य नेताहरुलाई कन्भिन्स गरि सरकारबाट फिर्ता हुने निर्णयनै गराए ।

एकछिनपछि जब गच्छदार आए, उपाध्यक्ष यादवले आफूहरुले सरकारबाट फिर्ता हुने निर्णय गरिसकेको जानकारी गराए । गच्छदार आश्चर्यचकित हुँदै, ‘ए, निर्णय नै गर्नुभयो । निर्णय गरिसक्नु भएको छ भने ठीकै छ ।’

त्यसपछि उनले सरकारबाट फिर्ता भएको विज्ञप्ति जारी गर्न लगाएका थिए । विज्ञप्तिमा सरकारको कुनै अलाचोना गरिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप