आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बेल र रोनाल्डोपछि हिग्वाइन बने विश्वकै तेस्रो महंगो खेलाडी

बुधबार, १२ साउन २०७३, १० : ४०
बुधबार, १२ साउन २०७३

काठमाडौं – युभेन्टसले अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिग्वाइनलाई नापोलीबाट ७५.३ मिलियन पाउण्डमा अनुबन्ध गरेको छ ।

नापोलीले राखेको ९० मिलियन युरोको रिलिज क्लज पूरा गरेपछि २८ वर्षीय स्ट्राइकर ५ वर्षका लागि इटालियन च्याम्पियन क्लबमा आबद्ध भएका हुन् । युभेन्टसले दुई चरणमा उक्त रकम नापोलीलाई उपलब्ध गराउने सहमति भएको उल्लेख छ ।

इटालियन लिगमा यो सबैभन्दा महंगो स्थानान्तरण हो भने योसँगै हिग्वाइन विश्वकै तेस्रो महंगो खेलाडी बनेका छन् । उनी सन् २०१३ मा रियल म्याड्रिडबाट नापोली मात्र ३४.५ मिलियन पाउण्डमा आएका थिए ।

उनी रियल म्याड्रिडका गेराथ बेल (८५ मिलियन पाउण्ड) र रियलकै क्रिस्टियानो रोनाल्डो (८५ मिलियन पाउण्ड) पछिका सबैभन्दा महंगो खेलाडी बनेका हुन् ।

गत सिजन लिगमा उनले ३६ गोल गर्दै गोल्डन बुट जितेका थिए । यद्यपि, नापोली भने दोस्रो स्थानमा नै सिमिति बनेको थियो ।

इटालियन लिगमा कुनै पनि खेलाडीले ३० गोल पार गरेको यो दोस्रो पटक मात्र थियो । यसअघि सन् २००५–०६ सिजनमा फ्लोरेन्टिनाका लागि लुका टोनीले ३१ गोल गरेका थिए ।

योसँगै युभेन्टसबाट पाउल पोग्बा म्यान्चेस्टर युनाइटेड जाने सम्भावना थप बलियो बनेको छ । युनाइटेडले पोग्बालाई १०० मिलियन पाउण्डमा किन्न लागेको चर्चा छ । यदी यो सफल भए पोग्बा विश्वकै महंगो खेलाडी बन्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप