आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

६ महिनामुनिका बच्चाका आमालाई स्तनपानबारे १० सुझाव

सोमबार, ०८ कात्तिक २०७३, १० : ५८
सोमबार, ०८ कात्तिक २०७३
हरेक आमालाई बच्चा जन्माउन जति कष्टकर हुन्छ, हुर्काउन झन् बढी । जन्मिनेबित्तिकै गरिने कतिपय साना गल्तीले पनि बच्चालाई रोगले आक्रमण गर्छ र पछिसम्म सताइरहन्छ । अधिकांश आमालाई स्तनपानबारे सही ज्ञान नहुँदा पनि बच्चा रोगी र कमजोर बन्ने गर्छन् । त्यसैले ६ महिनामुनिका बच्चाका आमालाई बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंले स्तनपानबारे १० सुझाब दिएका छन्ः

डा. रामहरि चापागाईं बालरोग विशेषज्ञ, कान्ति बाल अस्पताल

१. भर्खर जन्मिएको शिशुमा रोगविरुद्ध लड्ने क्षमता हुँदैन । त्यसैले बच्चा जन्मिएको एक घन्टाभित्र दूध खुवाइसक्नुपर्छ । आमाको पेटमा रहुन्जेल रगतबाट शक्ति प्राप्त गर्ने बच्चा पृथ्वीमा आएपछि रुन्छ र उसको शक्ति खर्च हुन्छ । यो वेला दूध दिइएन भने शक्ति कमजोर भएर शिशुलाई रोगले आक्रमण गर्न सक्छ । शक्ति कमजोर भएपछि काँप्ने र निलो हुनेजस्ता समस्या बच्चामा देखा पर्छ । २. जन्मिएपछि जतिसक्दो चाँडो दूध खुवाउनु राम्रो हुन्छ । बच्चा जन्मेको ७२ घन्टाभित्र आउनेलाई दूधलाई बिगौती भनिन्छ । बिगौती दूध खुवाउनु निकै आवश्यक हुन्छ । हेर्दा दूधजस्तो नलाग्ने केही पहेँलो देखिने बिगौती कतिपयले निचोरेर फालिदिने र अरू नै चिज खुवाउने गरेको पाइन्छ । यो सबैभन्दा ठूलो गल्ती हो । शिशुलाई बिगौती नखुवाई अरू खुवाउनु राम्रो होइन । बिगौतीमा रोगविरुद्ध लड्ने क्षमता हुन्छ र पोषक तत्व पनि बढी हुन्छ । ३. आमाको बिगौती दूधसँगै अरू चिज पनि खुवाउनु हुँदैन । जन्मिएको ६ महिनासम्म पनि आमाको दूधको सट्टामा अरू दूध खुवाउनु राम्रो होइन । आमाको दूधमा बच्चालाई चाहिनेजति पौष्टिक आहार सबै पाइन्छ । यसमा रोगविरुद्ध लड्ने क्षमता पनि बढी हुन्छ । आमाको दूध बच्चालाई पचाउन पनि सजिलो हुन्छ । आमाको शरीरभित्रबाट सीधा निस्किने र सीधै बच्चाको पेटभित्र जाने भएकाले यसमा कीटाणुहरू संक्रमित हुन पाउँदैनन् । तर, गाई–भैँसी या पाउडर दूधमा रोगका कीटाणु हुन सक्छन् । यस्तो दूधमा कतिपय पौष्टिक तत्व बढी हुन सक्छन् भने कतिपय चाहिनेभन्दा कम । बाहिरी दूध बच्चालाई पचाउन पनि गाह्रो हुन्छ । आमाले दूध चुसाएर बच्चालाई पिलाउँदा भावनात्मक सम्बन्ध पनि बढ्छ । ४.  बच्चा जन्मिएलगत्तै दूध नै आएन भन्ने गुनासो अधिकांश आमाले गर्छन् । यो महत्वपूर्ण पाटोमा धेरैलाई भ्रम छ । क्यान्सरलगायत केही गम्भीर प्रकृतिका रोग लागेका तथा ती रोगका औषधि सेवन गरेकाबाहेक अन्य सबै आमाको दूध आउ“छ । दूध आएन भनेर बच्चालाई चुसाउन छाडेपछि बरु दूध आउँदैन । बच्चाले जति चुस्यो उति दूध निस्किने हो । जुनसुकै निरोगी आमाको दूध बच्चालाई पूर्ण रूपमा पुग्छ । ५. ६ महिनामुनिका बच्चालाई दिनमा कतिपटक दूध चुसाउनुपर्ने हो भन्ने कुरामा पनि अधिकांश आमा अन्योलमा हुन्छन् । २४ घन्टामा कम्तीमा आठपटक दूध खुवाउनैपर्छ । बच्चाले चाहेमा त्योभन्दा बढी समय पनि खुवाउनुपर्छ । बच्चाले खानका लागि झगडा गर्छ कि गर्दैन भन्ने ख्याल गरेर दूध पुगे–नपुगेको पत्ता लगाउन सकिन्छ । यसैगरी बच्चाले २४ घन्टामा पाँच पटकभन्दा बढीपटक पिसाब फेरेकै हुनुपर्छ । यो दूध पुगेको संकेत पनि हो । ६. ६ महिनामुनिका बच्चालाई आमाको दूधबाहेक अन्य चिज खुवाउने कि नखुवाउने ? यो प्रश्न पनि अधिकांशलाई चासोको विषय हो । आमालाई क्यान्सरलगायत केही गम्भीर प्रकृतिका रोग लागेको छ र औषधि सेवन गरेको छ, केमोथेरापी, रेडियोथेरापी गरिरहेको अवस्था छ भने बाध्यात्मक अवस्थामा अन्य दूध खुवाउनुपर्ने हुन सक्छ । नत्र निरोगी या सामान्य रोग लागेका आमाले पनि बच्चालाई दूध चुसाउन सक्छन् । अन्य दूध खुवाउनु पर्दैन । ७. अहिले अधिकांश आमा घरमा बच्चा छोडेर दिनभर काममा निस्किन्छन् । कामकाजी महिलाले यो समस्या टार्न बच्चालाई पशुको या पाउडर दूध खुवाउने गर्छन् । कुरुवा राखेर आफू काममा लाग्छन् । तर, अधिकांशलाई अझै पनि थाहा छैन कि आमाको दूध दोएर बच्चालाई दिनभर खुवाउन सकिन्छ । दोएर राखेको चार घन्टासम्म त्यत्तिकै खुवाउन सकिन्छ । योभन्दा बढी समयका लागि फ्रिजमा राखेर खुवाउन सकिन्छ । दोएर फ्रिजमा राखेको आमाको दूध बच्चालाई आवश्यक पर्दा फ्रिजबाट निकालेर केही समय बाहिरी वातावरणमा राखेपछि खुवाइदिन सकिन्छ । त्यसैले अरू दूधको सट्टा आमाको दूध नै दोएर खुवाइदिने गर्नुपर्छ । ८. पाउडर या गाई–भैँसी को दूधमा आमाको दूधमा जति चाहिने सबै तत्व हुँदैन । केही मात्रा चाहिनेभन्दा धेरै र केही मात्रा चाहिनेभन्दा कम हुन सक्छ । चाहिनेभन्दा बढी तत्व पचाउन नसक्ने मात्रै होइन, बच्चाको मिर्गौलामै असर गर्न सक्छ । व्यापारिक प्रयोजनले बनाइएको दूध आमाको दूधभन्दा मिठो हुन्छ । यस्तो दूधमा लत बसेपछि बच्चाले आमाको दूध रुचाउँदैन । ९. आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्रीवितरणलाई नियमन र नियन्त्रण गर्न बनेको विधेयक २०४९ ले स्पष्ट पारेको छ कि बजारिया पाउडर दूधहरू स्वास्थ्य कार्यकर्ताले सिफारिस गर्न मिल्दैन । तर, नेपालमा यो कानुन उल्लंघन भइरहेको छ । त्यसैले आमाले आफ्नो दूधको महत्व बुझेर बच्चालाई पिलाउनुपर्छ । १०. ६ महिनासम्मका बच्चालाई आमाको दूध मात्रै पर्याप्त हुन्छ चाहे जाडो ठाउँ होस् या गर्मी ठाउँ । बच्चालाई धेरै डायरिया भयो भने पनि आमाकै दूध धेरै खुवाउने हो । ६ महिनापछि भने आमाको दूधले पेट भरिए पनि बच्चालाई शक्ति पुग्दैन । आमाको दूधमा आइरन, क्याल्सियम कम हुन थाल्छ भने पानीको मात्रा बढ्छ । त्यसैले ६ महिनापछि आमाको दूधसँगै अन्य चिज पनि खुवाउनुपर्छ । नयाँ पत्रिका  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप