आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

सडकको भवितव्य, समाजको न्याय र सहानुभूतिको आहुति

आइतबार, २८ असार २०८३, १४ : १३
आइतबार, २८ असार २०८३

सारांश

  • सडक दुर्घटनामा दुई परिवारको खुसी क्षणभरमै सकिएको छ, जसमा मोटरसाइकल चालकको मृत्यु र कार चालक मानसिक आघातमा परेका छन् ।
  • समाजले सडक दुर्घटनामा तुरुन्तै पीडित र पीडक तोक्ने गर्छ, तर दुर्घटना नियतवश नभएकोले दुवै पक्ष पीडित हुने गर्छन् ।
  • दुर्घटनापछि मृतकका परिवारले डेढ करोडको अस्वाभाविक क्षतिपूर्ति माग गर्दा सहानुभूति आक्रोश र घृणामा परिणत भएको छ ।

केही दिनअघि एउटा सडक दुर्घटना भयो । जसले क्षणभरमै दुईवटा सर्वथा अपरिचित परिवारको हाँसो र खुसीलाई एउटै नियतिको भुमरीमा ल्याएर पछारिदियो । कार र मोटरसाइकल एकापसमा ठोक्किए । दुर्घटनामा मोटरसाइकल चालकको अल्पआयुमै दुःखद अवसान भयो । उनकी जीवनसङ्गीनीको खुट्टाको हड्डी भाँचिएर अस्पतालको बेडमा ‘इन्टरनल फिक्सेसन’ (स्टिल हाल्ने शल्यक्रिया) गर्नुपर्‍यो ।

अर्कोतर्फ, कहिल्यै मदिराको थोपासम्म नचाखेका, सधैँ संयमित गतिमा सवारी चलाउने कार चालक भौतिक रूपमा त जोगिए । तर उनको भित्री संसार भत्कियो । तीव्र मानसिक आघात र कारुणिक आत्मग्लानीका कारण उनको रक्तचाप र मधुमेहको सन्तुलन पूर्ण रूपमा गुम्यो । अस्पतालको बेड र प्रहरी नियन्त्रणको दोहोरो दबाबले उनलाई पनि छटपटी र उपचारको शरणमा पुर्‍यायो ।

दुर्घटनामा ‘पीडक’ को ‘पीडित’ को ?

हाम्रो समाजको एउटा ठुलो कमजोरी के छ भने, सडक दुर्घटना हुनासाथ हामी तुरुन्तै एउटालाई ‘पीडित’ र अर्कोलाई ‘पीडक’ को ट्याग भिराइदिन्छौँ । सानो गाडिवाला पिडित अनि ठुलो गाडिवाला पिडक । तर वास्तविकता दुर्घटटना नियतवश गरिएको होइन र विशुद्ध भवितव्य हो । त्यसैले दुर्घटनामा कोही पीडक हुँदैन, दुवै पक्ष पीडित नै हुन् । हो, कुनै पक्षको क्षति अपुरणीय वा ठुलो होला, जसको भर्पाई गर्न सक्दैन । तर अर्को पक्ष पनि चैनले निदाएको हुँदैन । उसको पनि परिवार, जीवन र प्रतिष्ठा हुन्छ, जुन पलभरमा सडककै धुलोमा मिसिन्छ ।

यस दुर्घटनामा पनि मोटरसाइकल चालकको निधन नै भयो, जसको कुनै भर्पाई गर्न सकिँदैन । अर्कोतर्फ कार चालक, जो आफैँ कारका धनी र घरका मुख्य खम्बा थिए । अस्पतालभित्रै प्रहरीको घेरामा परे । व्यवसाय लथालिङ्ग भयो, परिवार चिन्ताको दलदलमा डुब्यो । यति हुँदा पनि समाजले उनलाई विना अनुसन्धान एउटा क्रूर ‘हत्यारा’ जस्तो व्यवहार गरिरह्यो । समाजको यो ‘भीडतन्त्र’ र पूर्वाग्रही चस्माले गर्दा निर्दोष व्यक्तिले भोग्नुपरेको मानसिक ‘ट्रमा’ झन् भयानक थियो ।

‘हुने हार दैव नटार ।’ दुर्घटनामा कुनै पनि पक्ष खुसी हुने कुरा आउँदैन । कार चालक पक्ष मृतकको पीडामा मलहम लगाउन र आफ्नै खल्ती काटेर भएपनि राहत दिन तयार थिए । मृतकको घरमा वृद्ध बुबा, साना भतिजाहरू र एक विवाहित छोरी मात्र रहेछन् । ओछ्यानमा आमाको शल्यक्रियाको घाउ अझै आलै थियो । यो कारुणिक अवस्था देखेर चालक पक्षले मृतक पक्षका हरेक व्यक्तिको आक्रोश, गालीगलौज र कटु वचनहरूलाई ‘शोकमा डुबेकाहरूको चित्कार’ ठानेर अत्यन्तै शान्त र सभ्य भएर सहँदै गए ।

डेढ करोडको ‘मृगतृष्णा’ र सहानुभूतिको अवसान

कानुन केवल कोरा भावनाले चल्दैन । प्रहरीको रोहबरमा १३औँ दिनको काजक्रिया सकिएपछि दुवै पक्ष सरसल्लाहका लागि जुटे । जब वार्ताको बीचमा मृतक पक्षबाट क्षतिपूर्तिको रूपमा डेढ करोडको अस्वाभाविक माग दाबी गरियो । तब मानवीय संवेदनाको गम्भीर अपमान भयो । एउटा भवितव्यलाई ‘नियोजित हत्या’ जस्तो प्रस्तुत गरेर आफ्नै परिवारजनले मृत्युलाई पैसाको तराजुमा जोख्न खोज्यो । कार चालक पक्षको धैर्यको बाँध फुट्यो, सायद स्वाभाविक नै थियो ।

लास देखाएर ‘लुटको खेती’ गर्न खोजेझैँ देखियो । नेपाली आर्थिक परिवेश र विद्यमान कानुनभन्दा कोसौँ टाढा पुगेर गरिएको यो डेढ करोडको बार्गेनिङ मानवीय पक्कै थिएन । पीडा र आँसुको आवरणभित्र लुकेको यस्तो चरम आर्थिक लोभ र ‘मृगतृष्णा’ ले मृतकको आत्माकै अपमान ग¥यो । जुन परिवारप्रति समाजको अगाध सहानुभूति थियो । यो अस्वाभाविक बार्गेनिङ सुन्नासाथ त्यो सहानुभूति एकाएक आक्रोश र घृणामा परिणत भयो । यसले मृतकको पवित्र स्मृति र उनको परिवारप्रति रहेको साँचो सहानुभूतिको समेत ‘आहुति’ दियो ।

क्रोनिक सामाजिक प्रवृत्ति

यो घटना कुनै नौलो वा एक्लो उदाहरण भने होइन । लासमाथि आर्थिक मोलमोलाइ गर्ने र सवारी धनीको आर्थिक हैसियत हेरेर करोडौँको ‘व्यापार’ गर्न खोज्ने यो एउटा भयानक सामाजिक प्रवृत्तिका रूपमा विकास भइसकेको छ । विगतका केही चर्चित घटनाहरूलाई हेर्ने हो भने यो तीतो यथार्थ अझ प्रस्ट हुन्छ । 

बिस. २०८० मा नारायणगढ–मुग्लिन सडकखण्डमा सिम्फनी रिसोर्टका सञ्चालक आफैँले चलाएको कार र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भयो । दुर्घटना विशुद्ध भवितव्य जस्तो देखिए पनि जब सवारी धनी प्रतिष्ठित व्यवसायी भएको स्थानीयले चाल पाए भीड र पीडित पक्षका बिचौलियाहरू मोलमोलाइका लागि सामुन्ने आइपुगे ।

कानुनी प्रक्रियालाई लत्याउँदै १ करोड ५० लाख रुपैयाँको अस्वाभाविक माग राखेर हप्तौँसम्म शव बुझ्न मानेनन् । निर्दोष व्यवसायी चालकले हप्तौँसम्म हिरासतको मानसिक यातना भोग्नुपर्‍यो । व्यवसाय चौपट भयो र पछि दबाबमूलक आपसी सहमतिमा मात्र मुद्दा सल्टियो ।

त्यस्तै २०७९ मा पूर्व–पश्चिम राजमार्गको विर्तामोड खण्डमा एउटा निजी कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भयो । कार चालक स्थानीय व्यवसायी थिए । मृतकका आफन्त र भीडले बिर्तामोडको मुख्य चोकमा टायर बालेर सडक नै ठप्प पारे । उनीहरूले तेस्रो पक्ष बीमाको प्रावधानलाई लत्याउँदै १ करोड रुपैयाँ नगद र मृतककी श्रीमतीलाई स्थायी जागिरको माग गरे । ‘मेरो गल्ती थिएन, बीमाले दिने बाहेक म यति धेरै रकम दिन सक्दिनँ’ भन्दा गाडी धनीलाई भौतिक आक्रमणको धम्की दिइयो र अन्त्यमा दबाब सिर्जना गरेर ठुलो रकम लेनदेन गरियो ।

दुर्घटना गराउने गाडीको चालक साधारण ‘कर्मचारी’ वा ‘ड्राइभर’ मात्र हो भने पीडित पक्ष कानुन बमोजिमको वा केही लाख रुपैयाँमा चित्त बुझाउँछन् । तर सवारी धनी आफैँ चालक हो भने वा गाडी कुनै मध्यमवर्गीय वा सम्भ्रान्त व्यक्तिको हो भने बार्गेनिङको ग्राफ अस्वाभाविक रूपमा ह्वात्तै बढेको उदाहरणहरू हाम्रै समाजमा प्रशस्त छन् । यस्तो अवस्थामा न्याय खोजिँदैन, बरु गाडी धनीको खल्ती हेरेर रकम तोकिन्छ । लाग्छ, दुर्घटना न्याय पाउने माध्यम होइन, ‘धनीलाई कानुनी रूपमा लुट्ने वैध हतियार’ हो ।

कतै–कतै चालकको चरम लापरबाही भएको, पहिलो पटक ठक्कर लाग्दा जोगिएका घाइतेलाई ‘उपचार गर्नुभन्दा मारिदियो भने क्षतिपूर्ति कम तिर्नुपर्छ’ भन्ने निकृष्ट मानसिकता पनि देखिन्छ यदाकदा । यस्ता जघन्य सडक अपराधका कारण समाजको आक्रोश बढ्नु स्वाभाविक हो । तर त्यस्ता अपराधी चालकका कारण सिर्जना भएको सामाजिक आक्रोशको मूल्य यो घटनाका जस्ता निर्दोष, सभ्य र भवितव्यमा परेका कार चालकले चुकाउनुपर्नुे कुन हदसम्मको न्याय हो ?

अवैज्ञानिक कानुन र अन्तर्राष्ट्रिय चेतनाको खाडल

छिमेकी मुलुक भारत लगायत अन्य विकसित देशहरूमा नेपालको भन्दा कयौँ गुणा बढी गाडी गुड्छन्, सडक चौडा छन् र गति पनि तीव्र छ । तर त्यहाँ नेपालको तुलनामा ‘जनसंख्या र सवारी साधनको अनुपातमा’ दुर्घटना र त्यसपछिको सामाजिक अराजकता कम देखिन्छ । किनभने त्यहाँ सडक चेतना उच्च छ । त्यहाँ मोटरसाइकल चालक र पैदलयात्रीहरू आफू जोगिनका लागि अत्यन्तै सचेत रहन्छन् । 

हाम्रो देशमा सडकको छेउमा विधिसम्मत तरिकाले रोकिएर राखेको गाडीमा आएर कसैले मोटरसाइकल ठोक्कायो र मोटरसाइकल चालक घाइते वा मृत भयो भने पनि उल्टै गाडी पक्ष नै कानुनी झमेलामा फस्छ । भीड जम्मा हुन्छ, गाडी जलाइन्छ र गाडी धनीलाई थुनामा राखेर करोडौँको मोलमोलाइ सुरु हुन्छ । 

कानुनले गल्ती कसको थियो भनेर हेर्दैन, बरु ‘ठुलो गाडी’ लाई नै दोषीको कठघरामा उभ्याउँछ । यसले हाम्रो कानुन कति अवैज्ञानिक र अव्यवहारिक छ भन्ने देखाउँछ । 

विकसित देशहरूमा ‘दोषरहित बिमा प्रणाली’ लागू हुन्छ । त्यहाँ दुर्घटना हुनासाथ बिमा कम्पनीहरूले पीडितको उपचार र क्षतिपूर्तिको जिम्मा लिन्छन् । दुई पक्षबिच यसरी बजारको व्यापार जस्तो मोलमोलाइ गर्ने परिस्थिति नै सृजना हुँदैन । साथै चालकको गम्भीर गल्ती (जस्तैः मादक पदार्थ सेवन वा तीव्र गति) प्रमाणित नभएसम्म उसलाई अपराधी जस्तो थुनामा राखेर मानसिक यातना पनि दिइँदैन ।

जब हामी दुर्घटना जस्तो सामाजिक त्रासदीमा पनि न्याय खोज्नुको साटो ‘कमाउने मौका’ खोज्न थाल्छौँ, तब समाजबाट मानवीयता, सभ्यता र सद्भावको अन्त्य हुन्छ । पीडित पक्षले न्यायोचित राहत र क्षतिपूर्ति पाउनै पर्छ, तर पीडाको नाममा गरिने यस्ता नाजायज आर्थिक बार्गेनिङले घटनाको गाम्भीर्यता र मानवीय संवेदना दुवैलाई जिउँदै मार्छ । 

जबसम्म हाम्रो देशको कानुन वैज्ञानिक बन्दैन र हामी ‘सडक दुर्घटना’ र ‘सडक अपराध’ बिचको सीमारेखा बुझ्दैनौँ । तबसम्म हाम्रो समाजमा न त न्याय जीवित रहनेछ, न त मानवीय संवेदना नै ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बालकृष्ण साह
डा. बालकृष्ण साह
लेखकबाट थप