आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
निर्णयबाट सरकार 'ब्याक'

हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, साउन १ गते नै सेवा आरम्भ हुनेमा आशङ्का

आइतबार, २८ असार २०८३, १४ : १७
आइतबार, २८ असार २०८३

सारांश

  • महिलाको सुरक्षित यात्राका लागि भन्दै सरकारले साझा यातायात मार्फत ‘ब्लु बस’ सञ्चालनको तयारी गरे पनि तयारी नपुग्दा सेवा सुरुवातमा ढिलाइ हुने देखिएको छ ।
  • साझा यातायातले हरियो बसको रङ परिवर्तन गरेर निलो बनाउने नभई स्टिकर वा अन्य दृश्यात्मक चिह्न प्रयोग गरेर पहिचान दिइने बताएको छ ।
  • साउन १ गतेदेखि महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालन गर्ने चर्चा गरे पनि बजेट र कार्यविधिको सुनिश्चितता नभएसम्म तत्कालै सेवा सुरु हुने अवस्था नरहेको साझा यातायातले जनाएको छ ।

काठमाडौँ। महिलाको सुरक्षित यात्राका लागि भन्दै सरकारले साझा यातायात मार्फत ‘ब्लु बस’ सञ्चालनको तयारी गरे पनि सेवा सुरुवातमा केही ढिला हुने देखिएको छ ।

सरकारले आर्थिक वर्ष २०८३/०८४ को पहिलो दिन अर्थात साउन १ गते देखि सञ्चालन गर्ने भने पनि तयारी नपुग्दा सञ्चालनमा ढिलाइ हुने भएको हो । साझा यातायातको हरियो बसलाई रङ परिवर्तन गरेर ब्लु बस सञ्चालन गर्ने भनिए पनि सर्वत्र आलोचनापछि सरकार निलो रङ राख्ने निर्णयबाट 'ब्याक' भएको छ ।

साझाको हरियो रङ परिवर्तन गरेर निलो रङ लगाउने विषयलाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध हुँदै आएको छ । साझा यातायातले हरियो रङका बसलाई निलो रङमा पोतेर सञ्चालन गरिने हल्ला सत्य नभएको जानकारी दिएको छ ।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले सामाजिक सञ्जालमा सार्वजनिक भएका निलो रङका बसका अधिकांश तस्बिर कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर तयार पारेर चर्चा चलाइएको बताए ।

उनले सरकारले ‘ब्लु बस’ सञ्चालनका लागि साझा बसको रङ परिवर्तन नगरिने स्पष्ट पारे । उनले भने, ‘साझाको आफ्नै मौलिक ब्रान्ड छ । त्यसलाई परिवर्तन गरेर बसको रङ फेर्ने योजना छैन । महिलाका लागि छुट्टै सेवाको पहिचान गराउन बसमा स्टिकर वा अन्य दृश्यात्मक चिह्न प्रयोग गर्ने विषयमा छलफल भइरहेको छ ।’

६४ वर्षको इतिहास बोकेको साझाको आफ्नै ब्राण्ड र रङ भएकाले त्यसलाई नबिगारी साङ्केतिक रूपमा ‘ब्लु बस’ लेखिने वा केही निलो रङको प्रयोग गरेर पहिचान दिइने तयारी रहेको अर्यालको भनाइ छ । पटक–पटक रङ फेर्दा जनमानसमा नराम्रो सन्देश जाने साझाले जनाएको छ ।

‘ब्लु बस’ नामले सेवा अवधारणालाई मात्र जनाउने भएकाले बसको रङ परिवर्तन गर्ने कुनै योजना नरहेको अर्यालले प्रस्ट पारे । महिलामैत्री सेवालाई सहज रूपमा चिनाउन स्टिकर, ब्यानर वा अन्य दृश्यात्मक माध्यम प्रयोग हुन सक्ने भए पनि हरियो रङ फेरेर निलो बनाउने सरकारको योजना नरहेको उनले बताए ।

अर्यालका अनुसार सरकारले साउन १ गतेदेखि काठमाडौँमा महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालन गर्ने चर्चा गरे पनि बजेट र कार्यविधिको सुनिश्चितता नभएसम्म तत्कालै सेवा सुरु हुने अवस्था छैन । उनले साउन १ गते नै बस सञ्चालन हुने सम्भावना नरहेको स्पष्ट पारे ।

अर्यालका अनुसार, साझा यातायात र सरकारबिच अहिलेसम्म आधिकारिक सम्झौता भएको छैन । सम्झौता भएपछि मात्रै सञ्चालन हुने उनले बताए । ‘अझै बजेटको सुनिश्चितता र कार्यविधि बन्न बाँकी छ । सञ्चालन खर्च प्राप्त नभएसम्म र आधिकारिक पत्र नआएसम्म सञ्चालन हुँदैन,' अर्यालले भने, ‘दुई महिना सेवा दिएर बजेट अभावका कारण तेस्रो महिनामा सेवा बन्द गर्नुपर्ने अवस्था आएमा त्यसले संस्थाको ६४ वर्ष पुरानो साखमा धक्का पुग्छ । त्यसैले सेवा सुरु गर्नुअघि त्यसको निरन्तरताका लागि सरकारसँग सम्झौता गरेरमात्रै अघि बढ्छौँ ।’

सरकारले साउन १ गतेदेखि साझाका २६ सिट क्षमताका आठ वटा विद्युतीय बस महिलाका लागि निःशुल्क सञ्चालनमा ल्याउने योजना अघि सारेको थियो, तर तयारी नपुगेकाले सञ्चालनको समय र बसको अन्तिम सङ्ख्या भने अझै टुङ्गो लागिनसकेको उनले बताए ।

बजेट र दिगोपनको चुनौती

निःशुल्क सेवा सञ्चालनका लागि सरकारले सञ्चालन खर्च उपलब्ध गराउनुपर्ने साझाको माग छ । विद्युतीय बस सञ्चालन गर्दा दैनिक १० देखि १२ हजार रुपैयाँ र डिजेल बसको हकमा १५ देखि १६ हजार रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान छ ।

प्रारम्भिक योजनाअनुसार उपत्यकामा बुढानीलकण्ठ–लगनखेल–गोदावरी रुटमा दुई वटा, नागढुंगा–विमानस्थल रुटमा दुई वटा तथा चक्रपथ (रिङरोड)मा चार वटा विद्युतीय बस सञ्चालन गरिनेछ । चक्रपथमा चल्ने चारमध्ये दुई वटा बस कोटेश्वर–गौशाला–कलङ्की रुटमा तथा अन्य दुई वटा कोटेश्वर–सातदोबाटो–कलङ्की रुटमा सञ्चालन गर्ने योजना छ ।

सरकारले २०८२ साल चैत १३ गते सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा ‘ब्लु बस’ सेवा समावेश थियो ।

सोही कार्यसूचीअनुसार पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालन गर्ने लक्ष्य राखिएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले महिलाका लागि सीसी क्यामेरासहितको ‘ब्लु बस’ सेवा सञ्चालन गरिने घोषणा गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप