लोकमान नियुक्तिविरुद्धका मुद्दामा जारी सुनुवाइ आइतबार पनि
शुक्रबार, २२ पुस २०७३, १८ : ०७
काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा बहस हुँदै आएको सो मुद्दामा आज कार्की पक्षका कानुनी व्यवसायीले बहस गर्नुभएको हो । कार्कीका पक्षबाट वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, कृष्ण सापकोटा, अधिवक्ता दीपेन्द्र झा, आनन्दमणि लम्सालले बहस गरे।
कार्की नियुक्तिविरुद्धको पुनरावलोकनमा कुनै पनि नयाँ प्रमाण र आधार नभएको साथै उच्च नैतिक चरित्र मापन गर्ने आधारसमेत नभएको तर्क उहाँहरुले प्रस्तुत गर्नुभएको थियो । बहस आज पनि नसकिएकाले ‘हेर्दाहेर्दै’ मा आगामी आइतबारका लागि तोकिएको छ ।
कार्कीका पक्षबाट यसअघि वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ता बाबुराम दाहाल, महादेव यादव, कुमार रेग्मी र सुरेन्द्र महतोले बहस गरेका थिए ।
कार्कीको नियुक्ति र योग्यताविरुद्धका सम्बन्धमा यही पुस ७ गतेबाट सुरु भएको बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।
प्रमुख राजनीतिक दलको समझदारीमा २०६९ फागुन ३० गते तत्कालीन प्रधानन्यायाधीश खिलराज नेतृत्वको चुनावी मन्त्रिपरिषद् गठन गरिएको थियो । सोही समझदारीमा राजनीतिक समस्या समाधान गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेता सहभागी राजनीतिक संयन्त्र गठन गरिएको थियो । २०६९ चैत ३ गते बसेको संयन्त्रको सिफारिस अनुसार संवैधानिक परिषद्ले कार्कीलाई अख्तियार प्रमुखमा नियुक्तिका लागि मार्ग प्रशस्त गरेको थियो ।
उक्त नियुक्ति संविधान विपरीत भएको जिकिर गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले दायर गर्नुभएको रिट निवेदनमा सर्वोच्चले एक वर्षपछि उक्त निवेदन खारेज हुने फैसला गरेको थियो । फैसलामा चित्त नबुझेपछि अधिवक्ता अर्यालले पुनः सर्वोच्चमा पुनरवलोकन निवेदन दिनुभएको थियो । सोही पुनरवलोकन निवेदनमा अहिले अन्तिम बहस भइरहेको छ ।
सो मुद्दाका सम्बन्धमा सर्वोच्च अदालतको म्याद तामेलीमा अवरोध पु¥याएको विषयमा पनि आज सुनुवाइ भएको थियो । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, वरिष्ठ अधिवक्ता यज्ञमूर्ति बञ्जाडे, अधिवक्ताहरु राजेन्द्र फुयाँल, पोषणराज लामिछाने, प्रकाश बस्नेतले बहस गरेका थिए ।
अदालतका कर्मचारीहरु कार्कीको घर बानेश्वर–१० मा म्याद तामेली गर्न जाँदा अवरोध पु¥याएका कार्कीसहित उनका ज्वाइँ प्रवल थापा, पूर्व कानुन सचिव प्रमोदकुमार कार्की, वडा नं १० का सचिव सरिता राई र भेषराज अर्याल, सही नकुुलराज गौतमलाई अदालतको अवहेलनाअन्तर्गत मुद्दा चलाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण