बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

झापामा बहुप्रतिक्षित नहर सञ्चालन

सोमबार, २५ पुस २०७३, १४ : १५
सोमबार, २५ पुस २०७३

भद्रपुर - झापाको बाहुन्डाँगी गाविस क्षेत्रलाई लक्षित गरी १० वर्षअघि सुरु भएको सिद्धिखोला सिँचाई योजना आजबाट सञ्चालनमा आएको छ ।

करिब रु४४ करोडको लागतमा २०६३ सालमा सुरु भएको निर्माण कार्य सम्पन्न भइ कृषकको खेतमा पानी जान थालेपछि स्थानीय कृषक उत्साहित भएका छन् ।

लगभग २१ किलोमिटर लामोे सो नहरमा १३ वटा शाखा छन् भने एक हजार ७०० हेक्टर जग्गामा सिँचाइको भरपर्दो व्यवस्थाले कृषकमा खुसी आएको हो ।

बाहुन्डाँगी गाविसको ५ नं वडाबाहेक सबै वडामा पानी पुग्ने व्यवस्था मिलाइएको छ ।

नहरमा १ दशमलव ५ क्यूसेक पानी आउने र यो नहरले बाहुन्डाँगी क्षेत्रमा करिब तीन हजार हेक्टर जग्गामा पानी पुग्ने क्षमता रहेको सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ ।

भौगोलिक विकटताका कारण पहाडको भित्ता चिरेर पक्की नहर निर्माण गर्नुपरेकाले योजना सम्पन्न गर्न समय लागेको प्रमुख डिभिजन इन्जिनियर ईश्वरीप्रसाद तिवारीले जानकारी दिए ।

उनले यो नहरलाई पूर्णरुपमा व्यवस्थित गर्न सरकारले कम्सेकम पाँच वर्षका लागि एएमआइएसमा राख्नुपर्ने सुझाव दिए ।

नहरलाई व्यवस्थित रुपमा सञ्ंचालन एवम् रेखदेख गर्न सिँचाइ विकास डिभिजन कार्यालयले नियुक्त गरेको आठ कर्मचारीलाई नहरबाट आउने पानीको पालो मिलाउने र कृषकको खेतसम्म पानी पु¥याउन काम गर्ने जिम्मेवारी दिइएको छ ।

सिद्धि खोला सिँचाइ योजना जल उपभोक्ता समितिका अध्यक्ष हरि चौलागार्इंले लगभग ४७ हजार जनता र एक हजार ७५० घरधुरी रहेको बाहुन्डाँगी गाविसका जनता यो नहरबाट लाभान्वित हुनुका साथै उत्पादन बृद्धि हुनेमा जोड दिए ।

लामो समय लगाएर र धेरै खर्च गरेर निर्माण गरिएको यो नहरलाई दुरुस्त राख्न उपभोक्ताको पनि जिम्मेवारी बढेको प्रतिक्रिया पनि उनले दिए ।

त्यस्तै, ४ नं शाखाका जल उपभोक्ता समितिका अध्यक्ष हेमलाल गुरागार्इंले नहर निर्माण भएकामा खुसी व्यक्त गर्दै अब कृषकले जमिनबाट कसरी अत्यधिक लाभ लिने भन्नेमा लाग्न कृषकलाई आग्रह गरे । आफ्नै खेतमा पानी रेखदेख गरिरहेका कृषक कृष्णबहादुर प्रधान र प्रभाखर पौडेलले नहर निर्माण भएकै कारण हिउँदको समयमा हाम्रो खेतमा पानी आएको हो नत्र भने कृषकले लगाउने बालीमा पानीको अभावले अपेक्षित लाभ लिन कठिनाइ हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप