बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

भारतमा ढिस्कोमा पुरिएर चारजना नेपालीको मृत्यु : आश्वासन मात्र लिएर फर्किए परिवार

मङ्गलबार, २६ पुस २०७३, १० : ३८
मङ्गलबार, २६ पुस २०७३

भीमदत्तनगर - गत बुधबार भारतको हिमाञ्चल प्रदेशमा बाटो खन्ने क्रममा ढिस्कोमा पुरिएर मृत्यु भएका चारजना नेपालीका परिवार राहत पाउने आश्वासन लिएर भारतबाट घर फर्किएका छन् ।

हिमाञ्चलको सिमला जिल्ला तहशिल रामपुर भन्नेस्थानमा बाटो खन्ने क्रममा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ दिपनगरका लोकेन्द्र विष्ट, दीपेन्द्र विष्ट, कैलालीको सुख्खडका अजबबहादुर विष्ट र बैतडीका रामबहादुर बमको मृत्युपछि त्यहाँ पुगेका मृतकका आफन्तलाई हिमाञ्चल प्रदेश सरकारले प्रतिव्यक्ति तीनलाख ९० हजार भारतीय रुपैयाँ दिने आश्वासन दिएको छ ।

“पीडाका बीच हामी चारजनाको हरिद्वारमा दाहसंस्कार गरेर घर फर्किएका छौँ”, मृतक लोकेन्द्र विष्टका बुबा महेन्द्र विष्टले भने – “काजक्रिया सकिएपछि पुनः सिमला गएर क्षतिपूर्तिका लागि पहल गर्छौं ।”

सरकारी बाटो खन्ने काम भएकाले प्रदेश सरकारले मृतकका आफन्तलाई क्षतिपूर्ति दिने प्रावधान रहेको बताइएको छ । “चारजना ठेकेदार कम्पनीमार्फत सडकमा काम गरिरहेका थिए,” महेन्द्र विष्टले भने – “हिमाञ्चल प्रदेश सरकारले पनि नाता प्रमाणित, मृत्यु दर्ता प्रमाणपत्रसहित क्षतिपूर्तिका लागि प्रक्रियागत ढङ्गबाट आउन भनेको छ ।”

उनले ठेकेदार कम्पनीले पनि केही राहत दिने आश्वासन दिएको मृतकका आफन्तले बताएका छन् । “काजक्रिया सकेर त्यहाँ गएर प्रक्रियाअघि बढाउने सोचमा छौँ ।” विष्टले भने । दाहसंस्कार गरी आइतबार मृतकका परिवार नेपाल फर्किएर काजक्रिया गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप