शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

राप्रपा नेता पशुपति शम्शेर चुनाव प्रचारमा

मङ्गलबार, २६ वैशाख २०७४, ०९ : ५०
मङ्गलबार, २६ वैशाख २०७४
मेलम्ची, २६ वैशाख - सिन्धुपाल्चोक जिल्लाकोे मेलम्ची नगरपालिका र जिल्लाका नगर तथा गाउँपालिका प्रमुखलगायतका पदहरुमा राप्रपालाई जिताउन राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर जबरा र केन्द्रीय सदस्य कोमल ओली लागिपरेका छन । नजिकिँदै गरेको चुनावमा राप्रपालाई पहिलो स्थानमा ल्याउनको लागि जबरा आफैँ घरदैलो कार्यक्रम तथा विभिन्न समारोहमा सहभागी हँुदै आएका हुन् । आइतबार मेलम्ची नगरपालिकाको फटकशिलामा राप्रपाद्वारा आयोजित एक कार्यक्रममा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) तथा नेपाली काँग्रेसलगायतबाट पार्टी परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका थिए । एकसयभन्दा बढीको सङ्ख्यामा रहेका कार्यकर्तालाई पशुपति शम्शेर र कोमल ओलीले टीका र दोसल्ला ओडाएर आफ्नो पार्टीमा प्रवेश गराए । राप्रपाको मेलम्ची नगरपालिका प्रमुखका उम्मेदवार फणीन्द्र दाहाललाई जिताउन अहिले राप्रपाका नेता घरदैलो कार्यक्रम तथा पार्टी प्रवेश गराउनमा व्यस्त छन् । जिल्लाभरि नै चुनावी माहोलको सरगर्मी बढ्दै गर्दा मेलम्ची नगरपालिकामा मुुख्य चार पार्टीको चर्काे प्रतिस्पर्धा हुने देखिएको छ । नगरभरिका गाउँमा नेपाली काँग्रेस, राप्रपा, माओवादी केन्द्र तथा नेकपा (एमाले) ले आआफ्नो पार्टीको प्रचारप्रसारका लागि लाखौँको लगानीमा पार्टीको झन्डा तथा टिसर्ट कार्यकर्ता माझ लैजानमा व्यस्त छन् । नगरपालिकाका ३१ हजार ९८७ मतदाताबाट चुुनिने नगरपालिका प्रमुखमा नेपाली काँग्रेस, राप्रपा, माओवादी केन्द्र र नेकपा (एमाले) ले आफ्नो पक्षमा पार्न विभिन्न चुनावी आश्वासन दिँदै मतदातालाई आकर्षित गर्नेतर्फ लागेका छन् । चार पार्टीको मुख्य प्रतिस्पर्धा रहेको मेलम्ची नगरपालिकामा नेकपा (एमाले) को नगर प्रमुखको उम्मेदवारी दिने विषयमा कुरा नमिल्दा आफ्नै कार्यकर्ताले क्षेत्रीय पार्टी कार्यालयमा ताला लगाएकाले असन्तुष्ट पक्षले कमै सहयोग गरेको देखिन्छ । असन्तुष्ट पक्षमा भएकाबाट नेपाली काँग्रेस र राप्रपालाई फाइदा मिल्नेमा काँग्रेस तथा राप्रपाका नेता बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप