शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

सुँगुर आतङ्कले नगरवासी हैरान

मङ्गलबार, २६ वैशाख २०७४, १० : ०९
मङ्गलबार, २६ वैशाख २०७४
राजविराज, २६ वैशाख - विगत लामो समयदेखि सप्तरीको सदरमुकाम राजविराज नगर क्षेत्रमा सुँगुर छाडा छोडिँदा नगरवासी हैरानी खेप्न बाध्य भएका छन् । करिब ६० बिगाहा क्षेत्रफलमा फैलिएको राजविराज नगरपालिकाभित्र सुँगुर छाडापनका कारण यहाँका सर्वसाधारण जनताले दैनिक दुःख पाउनुको साथै राजविराज नगरपालिकाले सँुगुर नियन्त्रण गर्नमा ध्यान नदिएकाले पनि नगरभित्रको मुख्य चोकमा सुँगुरले दिसा गर्ने र थुपारिएको फोहरमा मुखले खनेपछि ठाउँठाउँमा दुर्गन्ध फैलिने गरेको पाइएको स्थानीय सञ्जय चौधरीले बताए । राजविराजको मुख्य चोकहरु – दर्शन चोक, गजेन्द्र चोक, महावीर चोक, अस्पताल चोक र हटिया लाइनसहितका मानिसको चहलपहल बढी हुने ठाउँमा जताततैबाट सुँगुर आएर दिसा गर्नाले झन् नगरमा दुर्गन्ध फैलिएको नगरवासीले गुनासो गरेका छन् । वर्षौंदेखि यत्रतत्र सुँगुरले नगरमा सर्वसाधारणलाई हैरान पार्दै यहाँ दुर्गन्ध फैलाउँदासमेत यसप्रति नगरपालिकाले कुनै ध्यान नदिएको नगरवासीको आरोप छ । सुँगुर पालकले सुँगुरलाई आफ्नो खोरमा नराखेकाले पनि राजविराजमा सुँगुर आतङ्क बढ्दै गएको सर्वसाधारणले गुनासो गरेका छन् । साथै, जहाँतहाँ सुगुरले फोहर गर्नाले नगरमा रोगको सङ्कमण समेत फैलिने सम्भवना देखिएको यहाँका बुद्धिजीवीको भनाइ छ । यसप्रति सम्बन्धित निकायले ध्यान नदिई सुँगुरबाट यहाँ दुर्गन्ध फैलिएर लामखुट्टेको सङ्ख्यामा वृद्धि हुँदा साँझ परेदेखि नै लामखुट्टेले टोक्ने गरेको राजविराज–४ का मुकेश यादवले बताए । साथै, लामखुट्टेको टोकाइबाट मलेरियाजस्ता रोग लाग्न सक्ने बताइएको छ । राजविराजका गल्लीगल्लीमा बस्ने सर्वसाधारण जनतालाई मात्र नभई अधिकांश सरकारी कार्यालयमा समेत सुँगुर पसेर कामकाजका लागि आउने सेवाग्राहीलाई हैरान गर्ने गरेको एक सेवाग्राहीले गुनासो गरेका छन् । यसैबीच, राजविराज नगर क्षेत्रमा बढेको सुँगुर आतङ्कबारे सर्वसाधारण जनताबाट गुनासो पाइएपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सुँगुर छडापनका कारण यहाँका जनताले भोग्नुपरेको समस्या नियन्त्रणका लागि सबैतिरबाट प्रयास भइरहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप