शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

हिउँबाट चिप्लेर खसेका भारतीय पर्यटकको एपीएफ टोलीद्वारा उद्धार

मङ्गलबार, २६ वैशाख २०७४, १० : ४५
मङ्गलबार, २६ वैशाख २०७४

मुस्ताङ, वैशाख २६ – मुस्ताङ जिल्लाको बारागाउँ मुक्तिक्षेत्र गाउँपालिका–२ स्थित थोरङ्ग भन्ने स्थानमा हिउँबाट चिप्लिएर करीव ६० मिटर तल खोचमा खसेका एक जना भारतीय पर्यटकलाई एपीएफ टोलीले बैशाख २५ गते सकुशल उद्धार गरेको छ ।

मुस्ताङ घुम्न आएका भारतको कोलकत्ता घर बताउने ६० वर्षिय देवनारायण चक्रवती हिजो साँझ हिउँमा चिप्लिएर पहाडको खोचमा खसेको बताइएको छ ।

सो बारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म मुस्ताङबाट उद्धार कार्यको लागि तत्कालै एपीएफ टोली खटिएको थियो ।

सशस्त्र प्रहरी नायव निरीक्षक विश्वराज कुँवर क्षेत्रीको कमाण्डमा खटिएको एपीएफ टोलीले उनलाई घाइते अवस्थामा फेलापारी सकुशल उद्धार गरेको हो ।

निज चक्रवतीलाई एपीएफ टोलीले उद्धार लगत्तै उपचारको लागि जोमसोम स्थित अस्पतालतर्फ पठाएको थियो ।

पाँच सय ८६ तोला चाँदीको गरगहनासहित एक जना पक्राउ

यता, पर्सा जिल्लाको बिरगञ्ज उपमहानगरपालिका १६ बाट एपीएफ टोलीले बैशाख २४ गते करीव दुई लाख ५० हजार रुपैयाँ बराबरको चाँदीको गरगहनासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको बिरगञ्ज उपमहानगरपालिका १८ बस्ने २५ वर्षिय सन्दिपकुमार श्रेष्ठ छन् ।

उनलाई सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म बिरगञ्जबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

गस्तीमा खटिएको एपीएफ टोलीले सो ठाउँमा जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको ना. ४३ प ५०२ नम्बरको मोटरसाइकलमा सवार श्रेष्ठको साथबाट उल्लेखित मूल्य बराबरको पाँच सय ८६ तोला चाँदीको गरगहना बरामद गरेको हो ।

पक्राउ परेका श्रेष्ठलाई बरामद गरगहना तथा मोटरसाइकलसहितै आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिरगञ्जमा बुझाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप