शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

पत्रकार पनि चुनावी मैदानमा

मङ्गलबार, २६ वैशाख २०७४, ०८ : ५८
मङ्गलबार, २६ वैशाख २०७४

बागलुङ, २६ वैशाख । अघिपछि सञ्चार क्षेत्रमा व्यस्त हुने ज्ञानेन्द्र गौतम अहिले मतदाताको घरदैलोमा छन् । नेपाली काँग्रेसका तर्फबाट बागलुङ नगरपालिका–११ को वडाध्यक्ष पदमा उम्मेदवार बनेपछि ३६ वर्षीय गौतमको दैनिकी बदलिएको हो । गाउँ विकासको योजना सुनाउँदै मतदाताको मन जित्ने कसरतमा गौतम लागि परेका छन् ।

दुई दशकदेखि पत्रकारिता गर्दै आएका गौतम स्थानीय तहको निर्वाचनसँगै राजनीतिमा होमिएका हुन् । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्यसमेत रहेका गौतमले बाँकी जीवन सक्रिय राजनीतिमा बिताउने बताए । “पार्टीले विश्वास गरेर उम्मेदवार बनाएको छ”, रायडाँडाका स्थायी बासिन्दा गौतमले भने – “अब गाउँको विकासमा प्रतिबद्ध भएर लाग्छु ।”

आफू राजनीतिक यात्रामा हुँदा पनि सञ्चार क्षेत्रको विकासका लागि काम गर्ने बताउँदै उनले नागरिकका आधारभूत आवश्यकता परिपूर्ति र समतामूलक विकासमा ध्यान दिने उल्लेख गरे । “ठूलो आश्वासन दिएको छैन, नागरिकको दुःख सुखमा साथ दिनेछु”, गौतमले भने – “पछाडि पारिएको रायडाँडालाई विकास र समृद्धितर्फ लैजाने योजना छ ।” गौतम अहिले पार्टीका अगुवा नेता, कार्यकर्तासँगै चुनावी प्रचारमा जुट्नुभएको छ ।

गौतम सदरमुकामस्थित सामुदायिक रेडियो बागलुङ एफएमको स्टेसन म्यानेजर र ई–बागलुङ अनलाइन पत्रिकाको सम्पादकसमेत थिए । गौतमले यसअघि अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकलगायतका सञ्चारमाध्यममा काम गरेका थिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप