मुक्तकमैया भन्छन् : झुल दिनेलाई भोट दिन्छौँ
भीमदत्तनगर, २८ वैशाख । दुई दशकपछिको स्थानीय तहको निर्वाचनको सन्मुख बस्तीको मुहार फेर्नेदेखि सडक, यातायात, खानेपानी, स्कुल व्यवस्थापनको माग गरेका समाचार आइरहेका बेला कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०का मुक्तकमैया शिविरका बासिन्दा भने सुपानेट झुल वितरण गर्नेलाई भोट दिने भएका छन् ।
चुनावी माहोल बुझ्न मुक्तकमैया बस्ती पुग्दा बस्तीका भलमन्सा चन्दा रानाले झुल वितरण गर्नेलाई आफूहरुले भोट दिने बताइन् । “रातभर लामखुट्टेले टोकेर यहाँका बासिन्दा सुत्नै पाउँदैनन् ।” उनले भनिन् – “बस्तीमा तीन वर्ष पहिले दिएको झुल अहिले काम नलाग्ने भइसक्यो ।” “सुत्दा लुगा ओढे गर्मीले सहिनसक्नु हुन्छ, उस्ती सुते लामखुट्टले हैरान पार्छन्, के ठूला मागहरु राख्नु ।”
बजारको झुलभन्दा सुपानेट झुल बढी उपयोग रहेको बताउँदै मुक्तकमैया शिविरका तौला रानाले पनि झुल दिनेलाई चुनावमा भोट दिने बताए । “अहिले बस्तीमा सामूहिक रुपमा कार्यकर्तासहित भोट माग्न उम्मेदवार आएका छैनन् ।” उनले भने – “छाडा गोरु व्यवस्थापन पनि हाम्रो भोट दिने अर्को माग हो ।”
सरकारले दिएको जग्गामा लगाएको खेती÷तरकारी छाडा गोरुका कारण आफूहरुले उपभोग गर्न नै नपाउने गरेको चर्चा गर्दै रानाले बताए, “खेती बचाउन हामी तारबारको मागसमेत गर्छौ ।ं”
भलमन्सा चन्दा राना डेढ दशक हलिया बसेर २०५८ सालमा मुक्त भएर शिविरमा बसेपनि सिँचाइको व्यवस्था नहुँदा अहिले पनि शिविरका मुक्तकमैयाले साहुजनको खेत अँधियामा काम गर्नुपरेको उनले बताइन् । “शिविरमा सिँचाइका लागि बोरिङ गरिएको थियो ।” चन्दा रानाले भनिन् – “बिजुलीको व्यवस्था नहुँदा बोरिङसमेत सञ्चालनमा आउन सकेन शिविरको सडक, बिजुली, छाडा गोरु व्यवस्थापन, झुललगायतका माग राख्ने विषयमा बस्तीमा कुरो भइरहेको छ ।”
“विसं २०७०को संविधानसभाको निर्वाचनमा पनि नेताहरुले खुबै आश्वासन बाँडेर गए ।” तौला रानाले भने – “यो चुनावमा त लिखित सम्झौता गरेरमात्रै भोट लिन्छौँ ।”
एक सय २० मुक्तकमैया परिवार रहेको उक्त शिविरमा पुनःस्थापनाका बेला प्रतिपरिवार पाँच कट्ठाका दरले जग्गा दिए तर त्यसपछि अन्य कुनै सुविधाहरु बस्तीमा नथपिएको उनको गुनासो थियो ।
“अघिल्लो चुनावमा विकासे नारा सुनेर हामीलाई थोका भयो ।” मुक्तकमैया बस्तीका छोटे रानाले भने – “यसपटक त पहिले झुल माग्छौँ अनि भोट दिन्छौँ ।” बस्तीमा नेपाली काँग्रेस, नेकपा एमाले लगायत पार्टीका नेताहरु निर्वाचनमा भोट माग्न आएको उनले बताए ।
“अब गरिबलाई आश्वासन लिएर भोट पाउने आश कसैले नगरे हुन्छ ।” रानाले भने – “अब बस्तीमा देखिने गरी विकास चाहिन्छ ।”
बस्तीमा सिलाइकटाइ, बिजुली बनाउनेदेखि धेरै सीपमूलक तालिम दाताहरुले दिए । मुक्तकमैया बस्तीका १८ वर्षीय राजाराम रानाले भने – “बस्तीमा अझै पनि बीचमै विद्यालय छाड्नेको सङ्ख्या धेरै छ ।” झलारीमा रहेको चन्द्रसूर्य हायर सेकेन्ड्री स्कुलमा प्रवीणता तह अध्ययनरत रानाले बस्तीमा प्राथमिकस्तरसम्मको विद्यालय बनाउनसमेत बस्तीमा आउने उम्मेदवारसित माग गर्ने बताए ।
“चुनावका बेला निकै आश्वासन बोकेर नेताहरु घरदैलोमा आउँछन् ।” उनले भने – “चुनाव जितेपछि फर्की नहेर्ने प्रवृत्ति छ ।” मुक्तकमैयाबाट पुनःस्थापना भएर आए पनि मुक्तकमैयाले मजदुरीका भरमा बाँच्नु परेको उनको भनाइ छ । “अहिले पनि बस्तीका युवा भारतदेखि स्थानीय झलारी बजारसम्म मजदुरी गरेर परिवारको पालनपोषण गरिरहेका छन् । पुनःस्थापना भन्दै नदीको बगरमा अलपत्र पार्ने काम भयो ।” रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण