बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्वाचनका दिन अन्तर्राष्ट्रिय विमानस्थलको उडान नियमित

शुक्रबार, २९ वैशाख २०७४, २० : ५६
शुक्रबार, २९ वैशाख २०७४
काठमाडौँ, वैशाख २९ – निर्वाचनको दिन वैशाख ३१ गते उपत्यकामा सवारीसाधन नचले पनि मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान नियमित हुने भएको छ । निर्वाचनको दिन विमानस्थलका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सेवालाई नियमित बनाउन आवश्यक व्यवस्था गरिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । उनका अनुसार वैशाख ३१ गते यात्रुलाई विमानस्थलदेखि गन्तव्यसम्म आवतजावतलाई सहज बनाउन पर्यटक बस र साझा यातायातलाई सेवा सञ्चालनका लागि आग्रह गरिएको छ । विमानस्थलमा चल्ने ट्याक्सीले निर्वाचन आयोगबाट कम पास पाएकाले नचलाउने निर्णय गरेकाले थप यातायातको व्यवस्था गरिएको विमानस्थलले जनाएको छ । हाल विमानस्थलमा २०८ भाडाका ट्याक्सी गुड्ने गरेकामा ३५ वटाले मात्र ‘पर्मिट’ पाएका छन् । थोरैले चलाउने हुँदा आपसमा झगडा हुने भएकाले सबै ट्याक्सी नचलाउने निर्णय भएको बताइएको छ । विमानस्थलले आफ्ना तीनवटै ‘सिफ्ट’का कर्मचारीलाई आवतजावतका लागि पाँच वटा सवारीसाधनको व्यवस्था गरिएको प्रवक्ता ठाकुरले बताए । त्रिअविमा अहिले अन्तर्राष्ट्रियतर्फ ९० र आन्तरिकतर्फ ३०० बढी दैनिक उडान हुँदै आएको छ । अन्तर्राष्ट्रियमा २८ र आन्तरिकतर्फ (हेलिकप्टरसहित) २० वायुसेवा कम्पनीले दैनिक उडान भर्दै आएका छन् । यात्रु तथा पर्यटकलाई बस सेवा विमानस्थलका पर्यटक तथा यात्रुको सुविधालाई मध्यनजर गर्दै नेपाल पर्यटन बोर्डले निर्वाचनका दिन उपत्यकाका विभिन्न चार वटा रुटमा पर्यटक बस चलाउने भएको छ । विमानस्थलदेखि पाँचतारे होटललाई लक्षित गरी चार वटा रुटमा पर्यटक बस चलाउने नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले जानकारी दिए । यो सेवा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फका यात्रुलाई दिइनेछ । बोर्डले विगतका बन्द हडतालका बेला सेवा दिइ रहेकै चार वटा रुटमा पहिलो उडानदेखि अन्तिम उडानसम्म बस सञ्चालन गरिनेछ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप