बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मौन अवधिमा बढ्न थाल्यो हिंसा, कहाँ–कहाँ के–के भयो ?

शनिबार, ३० वैशाख २०७४, १३ : ४५
शनिबार, ३० वैशाख २०७४

बैशाख ३०, काठमाडौं–स्थानीय तहको पहिलो चरणको चुनावको मतदानको समय नजिकिदै जाँदा चुनाव विरोधी गतिविधि बढन थालेका छन् । बन्दको आव्हानदेखि बम विस्फोटसम्मका चुनाव विरोधी घटना गराएर मतदातालाई आतंकित बनाउने काम भएको छ ।

मौन अवधीमा अचानक बढेका हिंसाका घटनाले उम्मेदवार र मतदातालाई चिन्तित बनाउन सक्छ । यद्यपी सरकारले सुरक्षा व्यवस्था चाहीँ कडा पारेको बताएको छ । हिजो राती १२ बजेबाट मौन अवधी शुरु भएको थियो ।

यस्ता छन्, पछिल्ला चुनाव विरोधी गतिविधि

बैशाख ३० गते 

-मुगुको छाँयानाथ रारा नगरपालिका–१२ बाट विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका लुटेका छन् । शनिवार विहान नेपाल राष्ट्रिय निमावि शोभाको मतपेटिका लुटिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख (डिएसपी) शारदा प्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार १ थान मतपेटिका लुटिएको छ । मतपेटिका कसले लुटेर भाग्यो भन्नेबारे नखुलेपनि विप्लवको पार्टीले लुटेको प्रहरीको आशंका छ । घट्नाबारे पुरा विवरण आई नसकेको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । ‘घट्ना भएको हो तर भौगोलिक विकटताका कारण पुरा विवरण आईसकेको छैन’ जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले भने, ‘सदरमुकाम बाट राष्ट्रिय निमावी शोभा पुग्न करिब ४ घण्टा लाग्छ, हामी घट्नाको यकिन विवरण बुझ्दै छौं ।’ प्रहरी स्रोतका अनुसार शनिवार करिब ११ बजे मतदान केन्द्रमा पुगेको विप्लवका कार्यकर्ता मतपेटिका खोसेर भागेका थिए ।

हेटौँंडा, मनहरि गाउँपालिका—१ हाँडीखोलामा नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्ष उम्मेदवार रामकुमार उप्रेतीलाई नेकपाले आज बिहानै नियन्त्रणमा लिएको छ ।

उप्रेतीको परिवार र गाउँलेका अनुसार उप्रेतीलाई नेकपाले नियन्त्रणमा लिएको हो । यतिबेला उप्रेतीको खोजीका लागि हेटौँडाबाट प्रहरी निरीक्षक मधु थापाको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आफ्ना विभिन्न सङ्गठनमा आबद्ध व्यक्तिलाई कुनै अपराधजन्य क्रियाकलाप नगरे पनि प्रहरी प्रशासनले नियन्त्रणमा लिएको जनाउँदै नेकपाले पनि उम्मेदवार उप्रेतीलाई नियन्त्रणमा लिएको बताइएकोे छ । घटनाको जिम्मा लिँदै नेकपाले कुनै अपराधजन्य कार्यमा सहभागी नभए पनि विभिन्न पेसा, व्यवसाय गरिबसेका आना दलका शुभचिन्तक, समर्थक र कार्यकर्तालाई मानसिक यातना दिने तथा नियन्त्रणमा लिएकोप्रति आपत्ति जनाएको छ । उम्मेदवार उप्रेतीको खोजीलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

-बेनी नगरपालिका– ९ नेप्टेचौरमा शुक्रबार राति नेपाली काँग्रेस र नेकपा९एमाले०का कार्यकर्ताबीच झडप हुँदा दुई मोटरसाइकलमा आगजनी भएको छ ।

सो क्रममा एउटा मोटरसाइकलमा सामान्य क्षति, स्थानीय सहकारीको कार्यालयमा तोडफोड र एक थान भरुवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ना ४५ प १६९७ र ध १ प २४७८ नंको मोटरसाइकल आगजनीबाट ध्वस्त भएको र एउटा मोटरसाइकलमा सामान्य क्षति पुगेको छ । स्थानीय इच्छा महिला बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा समेत तोडफोड हुँदा सहकारीको कागजात र खाता हराएको अध्यक्ष शान्ति रोकाले बताए ।

तोडफोड र आगजनी गर्ने पक्षलाई अर्को पक्षले देखाएको हतियार बरामद गरिएको प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले बताउनुभयो । प्रहरीका अनुसार सो भरुवा बन्दुक रवि कार्कीले व्यक्तिगत सुरक्षाका लागि जिप्रकाबाट अनुमति लिएर राखेका थिए ।

निर्वाचनका समयमा हतियार प्रहरीलाई बुझाउन जिप्रकाले सार्वजनिक सूचनामार्फत आग्रह गरे पनि १४ जनाले मात्र बुझाएका थिए । घटनापछि दुई पक्षको भागाभाग भएको र प्रहरीले हतियार नियन्त्रणमा लिएको प्रनाउ खड्काले बताए । उनका अनुसार घटनामा संलग्नको खोजी भइरहेको छ । काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार चक्र केसीले राति बेनीबाट गएका एमालेका कार्यकर्ताले मोटरसाइकलमा आगजनी, स्थानीयवासीको घरमा तोडफोड र कोठामा सुतिरहेका आफ्ना कार्यकर्तालाई आक्रमण गरेको आरोेप लगाए ।

एमालेका जिल्ला सचिव बालकृष्ण सुवेदीले काँग्रेसका कार्यकर्ताले फोनमा कुरा गरेर हिँडिरहेका आफ्ना कार्यकर्तालाई आक्रमण गरेपछि कोठामा लुकेर बसेका काँग्रेसका कार्यकर्तालाई खोज्न जाँदा देखाएको बन्दुक खोसेर प्रहरीलाई बुझाइएको बताए ।

घटनास्थल बेनी– ९ को कार्यालय नजिकैको घरमा बेनी–पाखापानी सडक आयोजनाको ठेक्का लिएको हिमदुङ नाना ठोक्कर जेभीको कार्यालय थियो । काँग्रेस कार्यकर्ता कार्कीले कम्पनीको कार्यालयका रुपमा प्रयोग गर्दैआएको सो घरमा काँग्रेसका वडाध्यक्षका उम्मेदवार केसीको सम्र्पक कार्यालय पनि थियो । क्षतिको विवरण सङ्कलन र अनुसन्धानका लागि प्रहरी निरीक्षकको टोली घटनास्थलमा परिचालन गरिएको र घटनामा संलग्नको खोजी तीव्र पारिएको बताइएको छ ।

-पोखरा–लेखनाथ महानगरपालिकाको सभागृह चोकमा आज बिहान राखिएको शङ्कास्पद वस्तुलाई निष्क्रिय पारिएको छ । झोलाभित्र शङ्कास्पद वस्तु राखेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । नेपाली सेनाको बम डिस्पोजल टोलीले सो वस्तुलाई निष्किय पारेपछि हेर्दा प्रेसर कुकुर र बिजुलीको तार भेट्टिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए ।

-तनहँको रिसिङ र बेलभन्ज्याङमा शुक्रबार राति अज्ञात समूहले बस र ट्रकमा आगजनी गरेको छ ।

रिसिङ –६ चालिसेमा अपरिचित समूहले एउटा बसमा आगो लगाउँदा बस जलेर पूर्ण रुपमा ध्वस्त भएको छ । आठ नौजनाको समूहमा आएका अपरिचित व्यक्तिले पार्किङ गरिराखिएको ना६ ख ३५२५ नं को बसमा आगो लगाएको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताए ।

उक्त समूहले चालक र सहचालकलाई खुकुरी देखाई बाहिर निकालेर आगो लगाएको र त्यसको तीव्र खोजी भइरहेको जनाइएको छ ।

एक हप्ताअघि मात्रै अज्ञात समूहले निर्वाचन प्रयोजनका लागि ल्याइएको घिरिङ गाउँपालिकाको स्कार्पियो जिपमा आगजनी गरेको थियो । सो घटनामा शङ्कास्पद एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यस्तै शुक्रबार राति नै तीन चारजनाको अज्ञात समूहले बन्दीपुर गाउँपालिका– १ स्थित बेलभन्ज्याङमा ना ३ ख ९११६ नं को ट्रकमा आगजनी गरेको छ । चालकलाई ट्रकमै राखेर उनीहरुले आगो लगाए पनि सिसा फोडेर उनी बाहिर निस्केको घटनास्थल पुग्नुभएका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताए ।

शनिबार बिहान ५:१५ बजेतिर उक्त समूहले पेट्रोल छर्केर ट्रकमा आगजनी गरेको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताउनुभयो । बन्दमा गाडी चलाएको भन्दै चालक र सहचालकलाई भाटाले समेत हानिएको थियो । चिनी बोकेर डुम्रेबाट पोखरा जाँदै गरेको उक्त ट्रकमा आगजनी भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रहरी निरीक्षक राजन रायमाझीले बताए ।

–स्थानीय तह निर्वाचनको मौनअवधिमा धादिङ प्रहरी र सशस्त्र प्रहरीले संयुक्तरुपमा गरेको चेकजाँचको क्रममा छ जनालाई पक्राउ गरेको छ भने पेस्तोल खुकुरीसहितको हातहतियार नगदसमेत बरामद गरेको छ ।

खनियाबास गाउँपालिका–५ सत्यदेवीमा प्रहरीले गरेको चेकजाँचको क्रममा सोही स्थानका २६ वर्षीय युल तामाङ र २७ वर्षीय जयकुमार तामाङलाई शुक्रबार राति युएसए पेस्तोल एक थान, यसको गोली तीन थान र खुकुरी एक थानसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दीपेन्द्र पंजीयार थारुले बताएका छन् ।

–चेकजाँचको क्रममा फेला परेको बा७प १९६२ नं को मोटरसाइकल र ४१ हजार ७०० नगदसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । यसैगरी त्रिपुरा सुन्दी गाउँपालिका–१ सल्यानटारबाट चार जना पक्राउ गरेको छ । तीन खुँडासहित त्रिपुरासुन्दरी गाउँपालिका–३ का २४ वर्षीय उत्तम अधिकारी, २४ वर्षीय प्रचित अधिकारी, २२ वर्षीय प्रकाश थापामगर र ३० वर्षीय नवीन थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

–यसैगरी नेकपा विप्लव समूहले राजमार्गका तीन ठाउँमा राखिएको बम आज बिहान संयुक्त सुरक्षा फौजले निस्क्रिय पारेको जनाएको छ । सिद्धलेक गाउँपालिकाको कालुपाण्डे मार्गमा राखिएको प्रेसरकुकर बम, पृथ्वीराजमार्गको घाटबँेसीमा राखिएको सिलिन्डर बम र महादेवबँेसी नजिककै राखिएको बम सेना प्रहरी र सशस्त्र प्रहरीको टोलीले निस्क्रिय पारेको हो ।

धनगढी उपमहानगर क्षेत्रका दुई छुट्टाछुट्टै ठाउँमा आज बिहान फेला परेको बम नेपाली सेनाको टोलीले निस्क्रिय (डिस्पोज)पारेको छ । धनगढीको व्यस्त बजार ट्राफिक चौराहामा प्रेसरकुकरमा खतरा लेखिएको अवस्थामा र मनहेरा बजारको सडक छेउमा बोराभित्र प्रेसरकुकर बम फेला परेपछि स्थानीयवासी त्रसित भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले निर्वाचनको विरोध गरिरहेको विप्लव मओवादीका कार्यकर्ताले आतङ्क फैलाउने उद्देश्यले यी दुई ठाउँमा बमजस्तो देखिने शङ्कास्पद वस्तु राखेको हुनसक्ने बताएका छन् । बम भेटिएको सडकमा प्रहरीले सतर्कता अपनाउँदै बम निस्क्रिय पारिएपछि अहिले यातायात आवागमन सुचारु भएको छ ।

भरतपुरको केन्द्रीय बस टर्मिनल नजिकै नेपाली काँग्रेसको सम्र्पक कार्यालय आडमा भेटिएको होक्स प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले आज बिहान निस्क्रिय(डिस्पोज) गरेको छ । भरतपुर महानगरपालिका–९ सरदपुरमा रहेको सो कार्यालयको आडमा शङ्कास्पत वस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बम निस्क्रिय गर्नुअघि सो क्षेत्रको सुरक्षाका लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।

सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेसँगै अहिले त्यस क्षेत्रको जनजीवन सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिएका छन् । निर्वाचनको समयमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

–पोखरा–लेखनाथ महानगरपालिकाको लेकसाइडस्थित ताल बाराही उच्च माविको हातामा गएराति बम विस्फोट गराइएको छ । केही अपरिचित व्यक्तिले विद्यालयको पर्खालभित्र बम फालेपछि बम विस्फोट भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

बम विस्फोटबाट कुनै मानवीय क्षति नभए पनि मध्यरातमा भएको विस्फोटले स्थानीयलाई भने तर्सित बनाएको थियो । निर्वाचन विरोधी गतिविधि गर्दै आएको नेकपा माओवादी विप्लव समूहले विस्फोट गराएको अनुमान प्रहरीले गरेको छ । बम विस्फोट गराइएको विद्यालयमा वडा नं ६ को मतदान केन्द्र राखिएको छ । प्रहरीले यस्ता गतिविधिमा संलग्न उच्छुङ्खल तत्वको खोजतलास गरिरहेको जनाएको छ ।

बैशाख २९ गतेका घटना

सप्तरीको नापी शाखा कार्यालयमा आज अपराह्न ४ः१५ बजे प्रेसरकुकर बम विस्फोट भयो । विस्फोटबाट मानवीय क्षति नभए पनि केही सवारीसाधनमा क्षति पुगेको छ । अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चाले सो घटनाको जिम्मेवारी लिएको थियो । मोर्चाका संयोजक जयकृष्ण गोइतले ‘भ्रष्टाचार भएको कार्यालयमा’ आफूले कारबाही गर्न बम विस्फोट गराइएको विज्ञप्तिमा जनाउँदै मोर्चाले बिहीबार पनि सिरहाको यातायात व्यवसायी कार्यालयमा बम विस्फोट गराएको बताएका थिए ।

नवलपरासीमा उम्मेदवारको घरघरमा बम भेटिन थालेपछि स्थानीय निर्वाचनका लागि सुरक्षा चुनौती थपिँदै गएको बताइएको छ । नवलपरासीमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले विभिन्न उम्मेदवारलाई लक्षित गरी विभिन्न किसिमका बम राख्ने गरेको पाइएको छ । पछिल्लो समय दुई दिनयता पहिलो चरणको स्थानीय निकायको निर्वाचन हुने नवलपरासीको नवलपुर क्षेत्रमा उम्मेदवारलाई लक्षित गरी बम राखेको पाइएको हो ।

नवलपरासीको कावासोती नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट नगरप्रमुखको उम्मेदवार बनेका महेन्द्र पोखरेलको घरमा बिहीबार राति बम फेला परेको थियो । सो बमलाई गएराति नै नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ । यस्तै, कावासोती–३ स्थित पुरानो कावासोती चोकनजिक सार्वजनिकस्थलमा बिहीबार साँझ बम पड्किएको थियो । सार्वजनिकस्थलमा नेपाली काँग्रेसले गरेको सभालाई लक्षित गरी राखिएको बम पड्किए पनि यसबाट मानवीय क्षति भने भएन । यसैगरी बिहीबार नै गँैडाकोट नगरपालिकामा पनि नेकपा (माओवादी केन्द्र)का तर्फबाट नगरप्रमुख पदमा उम्मेदवार बनेका दुर्गादत्त ढुङ्गानाको घरनजिकै बिहीबार नै बम फेला परेको थियो । सो बमलाई पनि नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो ।

कावासोती नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट नगरप्रमुखको उम्मेदवार बनेका दासीराम बस्यालको घरमा पनि फेला परेको बमलाई सेनाको टोलीले डिस्पोज गरेको थियो ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा अज्ञात समूहले सिलिन्डर बम विस्फोट गराएको थियो । दुवाकोटको काठमाडाँै मेडिकल कलेजनजिकै राप्रपाका नेता माधव खत्रीको घरअगाडि विहान करिब ३ बजे ठूलो आवाज आउने गरी सिलिन्डर बम विस्फोट भएको थियो । बम विस्फोट हुँदा खत्रीको घरका आठवटा झ्यालको सिसा र पुष्प प्रधानाङ्गको घरको चारवटा झ्यालको सिसा फुटेको महानगरीय प्रहरी वृत्त, थिमिले जानकारी दिएको छ ।

–स्याङ्जाको गल्याङ नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवारको घरमा बम फेला परेको थियो । गल्याङ प्रहरी चौकीका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेकाअनुसार आज बिहान प्रमुख पदका उम्मेदवार लालगोपाल अर्यालको घरको बरन्डामा एउटा बम फेला परेको थियो । प्लास्टिकले बेरिएको अवस्थामा बम देखेपछि घरपरिवारले प्रहरीलाई खबर गरेका थिए । बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले केहीछिन्अघि निष्क्रिय पारेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिएका थिए ।

नेकपा (मोआवादी केन्द्र)को तर्फबाट तार्केश्वर गाउँपालिकाको उपाध्यक्षका लागि प्रत्यासी कमलाकुमारी तामाङको छोरासहित दुई जनालाई प्रहरीले घरेलु हतियारसहित पक्राउ गरेको थियो । (माओवादी केन्द्र)बाट उपाध्यक्षका उम्मेदवार तामाङको छोरा शमशेर तामाङ र सहयोगी राजेन्द्र तामाङलाई एक थान खुकुरी र तीन थान फलामको रडसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी देवबहादुर बोहराले जानकारी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप