निर्वाचनको पूर्वसन्ध्या प्रधानमन्त्रीको ९ बुँदे अपिल
काठमाडौँ, वैशाख ३० –प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको ऐतिहासिक चुनावमा सक्रिय रुपमा भाग लिई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्न सबै मतदातालाई अपिल गरेका छन् ।
शान्ति सुरक्षाको दृष्टिले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले दरिलो र भरपर्दो सुरक्षा प्रबन्ध मिलाएको भन्दै प्रधानमन्त्री प्रचण्डले भय र संकोच विना निर्धक्क भई आफुले चाहेका उम्मेदवारहरुलाई मत खसाली ऐतिहासिक अवसरको सदुपयोग गर्न सबै मतदातालाई अनुरोध गरेका छन् ।
शनिबार अपरान्ह अपिल जारी गर्दै प्रधानमन्त्री प्रचण्डलेभोलि केवल मतदानको दिन मात्र नभई नेपाली लोकतान्त्रिक इतिहासको महाउत्सवको दिन पनि रहेको भन्दै सबैलाई उत्साहका साथ सहभागी हुन आग्रह गरेका हुन् ।
पहिलो चोटि नेपालको संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहित गरेको तथा लोकतन्त्रमा जनताले आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने माध्यम नै निर्वाचन भएको भन्दै आफ्नो निर्णायक शक्तिको प्रयोग चुनाव मार्फत् गर्न पनि उहाले सबैलाई आग्रह गरेका छन् ।
जारी अपिलमा प्रधानमन्त्री प्रचण्डले नेपाली जनताले प्राप्त गरेको सार्वभौम अधिकारको प्रयोग गर्ने पहिलो अवसरका रुपमा रहेको स्थानीय तहको निर्वाचन शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने कडीका रुपमा पनि रहेको भन्दै लामो समयदेखि जरा गाडेको एकात्मक र केन्द्रीकृत राज्यसत्ताको अन्त्य गरी संघात्मक शासन व्यवस्थाको स्थापनाका लागि एउटा कोशेढुंगाका सावित हुने उल्लेख गरेका छन् । चुनावबाटै सिंहदरबार केन्द्रित अधिकार र स्रोत साधनलाई जनताको घर आँगनसम्म पु¥याउनका लागि ढोका खुला हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले निर्वाचन प्रयोजनमा खटिएका राष्ट्रसेवक कर्मचारी, शिक्षक, सुरक्षाकर्मीसहित सबैलाई संयमतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न तथा राजनैतिक दल, संचारकर्मीलगायतलाई आ—आफ्नो क्षेत्रबाट सहयोग गर्नका लागि पनि अपिल गर्नुभएको छ । उहाँले आगामी जेठ ३१ गतेका लागि निर्वाचनको मिति तय भएका प्रदेश नं १, २, ५ र ७ का जनसमुदायलाई आफ्ना जनप्रतिनिधि चुन्ने कार्यको तयारीमा सक्रियतापूर्वक लाग्न पनि विशेष अपील गरेका छन् ।
प्रधानमन्त्रीद्धारा जारी अपिलमा स्थानीय तहको निर्वाचनमा अन्तराष्ट्रिय समुदायबाट प्राप्त सहयोग र समझदारीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहयोग र सदभाव कायम रहने अपेक्षा गरेका छन् ।
पहिलो चरणमा भोली बैशाख ३१ प्रदेश नं ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका २८३ स्थानीय तहमा जनप्रतिनिधि छनौट गर्नका लागि मतदान हुदैछ ।
समस्त नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू,
१. नेपाली जनताको दशकौं लामो संघर्ष र वलिदानबाट प्राप्त संविधान कार्यान्वयनको सन्दर्भमा देश स्थानीय तहको निर्वाचनको संघारमा रहेको छ ।
२. नेपालको संविधानले संघ, प्रदेश र स्थानीय गरी तीन तहको संघीय शासन प्रणालीको व्यवस्था गरे बमोजिम जनताले दैनिक रुपमा देख्न र अनुभव गर्न सक्ने स्थानीय तहको पहिलो चरणको निर्वाचन यही बैशाख ३१ गते हुदैंछ । भोलि प्रदेश नं ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका २८३ स्थानीय तहमा १३,५५६ जनप्रतिनिधि छनौट गर्ने कार्यको अन्तिम अवस्थामा छौं । स्थानीय तहको यस ऐतिहासिक चुनावमा सक्रिय रुपमा भाग लिई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्न म सम्पूर्ण मतदाताहरुमा हार्दिक अपिल गर्दछु ।
३. पहिलो चोटि नेपालको संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहित गरेको छ । लोकतन्त्रमा जनताले मूलतः आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने भनेको निर्वाचनका माध्यमवाट नै हो । अर्को शब्दमा जनताले आफ्नो निर्णायक शक्तिको प्रयोग चुनावमार्फत् गर्दछन् । यस अर्थमा नेपाली जनताले प्राप्त गरेको सार्वभौम अधिकारको प्रयोग गर्ने पहिलो अवसरका रुपमा यस निर्वाचनलाई लिन सकिन्छ ।
४. धेरैले लगभग बीस वर्षको अन्तरालपछि स्थानीय चुनाव हुन गइरहेको भन्ने गरेको पाइन्छ । हो, स्थानीय स्तरमा जन प्रतिनिधि चुन्ने अर्थमा यस्तो चुनाव लामो समय पछि हुन गइरहेको छ । तर म के स्पष्ट पार्न चाहन्छु भने यस्तो प्रकारको चुनाव नेपालमा पहिलो चोटि हुँदैछ । एकातिर यो चुनाव नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने कडीका रुपमा रहेको छ भने अर्कातिर स्थानीय लोकतन्त्रलाई सुदृढ गर्दै लामो समयदेखि जरा गाडेको एकात्मक र केन्द्रीकृत राज्यसत्ताको अन्त्य गरी संघात्मक शासन व्यवस्थाको स्थापनाका लागि एउटा कोशेढुंगाका रुपमा लिन सकिन्छ । यही चुनावबाटै सिंहदरबार केन्द्रित अधिकार र स्रोत साधनलाई जनताको घर आँगनसम्म पु¥याउनका लागि ढोका खुला हुनेछ ।
५. समावेशिताको दृष्टकोणले पनि यो चुनाव ऐतिहासिक रहेको छ । यो चुनावमा हरेक वडाबाट एक दलित महिला सदस्यसहित दुई जना महिला चुनिने व्यवस्था गरिएबाट लगभग ४० प्रतिशत दिदीबहिनीहरु अनिवार्य रुपमा चुनिएर आँउदै हुनुहुन्छ भने गाउँपालिका र नगरपालिकाका प्रमुख र उप प्रमुख मध्ये एक जना महिला उठाउनै पर्ने व्यवस्थाबाट पनि ठूलो संख्यामा महिलाहरु चुनिएर आउने अवसरको सिर्जना भएको छ । यो भनेको शदियौंदेखि चुलो चौकामा सीमित नेपाली महिलाहरुको सशक्तीकरण र नेतृत्व निर्माणका दिशामा ऐतिहासिक कोशेढुंगा हुनेछ ।
६. यस निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन निर्वाचन आयोगले आफ्नो तर्फबाट सबै उपाय अपनाएको छ भने नेपाल सरकारले पनि आफ्नो तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी राखेको छैन । मूलतः शान्ति सुरक्षाको दृष्टिले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न दरिलो र भरपर्दो सुरक्षा प्रबन्ध मिलाइएको छ । तसर्थ सबै मतदाता दिदी बहिनी तथा दाजुभाइहरुलाई यस ऐतिहासिक अवसरको सदुपयोग गर्दै कुनै भय र संकोच विना निर्धक्क भई आफूले चाहेका उम्मेदवारहरुलाई मत खसाल्न हार्दिक अनुरोध गर्दछु ।
७. निर्वाचनको यस पवित्र कार्यमा खटिएका राष्ट्रसेवक कर्मचारी, शिक्षक, सुरक्षाकर्मीसहित सबैलाई संयमतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्दछु भने राजनैतिक दल, संचारकर्मीलगायत सम्पूर्णमा आ—आफ्नो क्षेत्रबाट सहयोगका लागि अपिल गर्न चाहन्छु । सिंगो देश सहभागी भएको लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न आवश्यक छ । भोलि केवल मतदानको दिन मात्र होइन, नेपाली लोकतान्त्रिक इतिहासको महाउत्सवको दिन पनि हो ।
८. संविधानको स्वीकार्यता बढाई मधेशी, थारु, आदिवासी जनजाति लगायतको सहभागिता सुनिश्चित गर्ने अभिप्रायले प्रदेश नं १, २, ५ र ७ मा स्थानीय तहको चुनाव दोस्रो चरमा गरिदै छ । ती प्रदेशमा आगामी जेठ ३१ गतेका लागि निर्वाचनको मिति तय गरिएको छ । म ती प्रदेशका आदरणीय जनसमुदायलाई आफ्ना जनप्रतिनिधि चुन्ने कार्यको तयारीमा सक्रियतापूर्वक लाग्न पनि विशेष अपील गर्दछु । सरकार तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध छ ।
९. अन्तमा, नेपाली जनताको यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा अन्तराष्ट्रिय समुदायबाट प्राप्त सहयोग र समझदारीप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सदा झै सहयोग र सदभावको अपेक्षा गर्दछु ।
मितिः ३० वैशाख, २०७४ पुष्पकमल दाहाल ‘प्रचण्ड’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण