बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेप्टेचौरमा दुई मोटरसाइकलमा आगजनी

शनिबार, ३० वैशाख २०७४, १२ : ३७
शनिबार, ३० वैशाख २०७४
बेनी नगरपालिका– ९ नेप्टेचौरमा शुक्रबार राति नेपाली काँग्रेस र नेकपा९एमाले०का कार्यकर्ताबीच झडप हुँदा दुई मोटरसाइकलमा आगजनी भएको छ । सो क्रममा एउटा मोटरसाइकलमा सामान्य क्षति, स्थानीय सहकारीको कार्यालयमा तोडफोड र एक थान भरुवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ना ४५ प १६९७ र ध १ प २४७८ नंको मोटरसाइकल आगजनीबाट ध्वस्त भएको र एउटा मोटरसाइकलमा सामान्य क्षति पुगेको छ । स्थानीय इच्छा महिला बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा समेत तोडफोड हुँदा सहकारीको कागजात र खाता हराएको अध्यक्ष शान्ति रोकाले बताए । तोडफोड र आगजनी गर्ने पक्षलाई अर्को पक्षले देखाएको हतियार बरामद गरिएको प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले बताउनुभयो । प्रहरीका अनुसार सो भरुवा बन्दुक रवि कार्कीले व्यक्तिगत सुरक्षाका लागि जिप्रकाबाट अनुमति लिएर राखेका थिए । निर्वाचनका समयमा हतियार प्रहरीलाई बुझाउन जिप्रकाले सार्वजनिक सूचनामार्फत आग्रह गरे पनि १४ जनाले मात्र बुझाएका थिए । घटनापछि दुई पक्षको भागाभाग भएको र प्रहरीले हतियार नियन्त्रणमा लिएको प्रनाउ खड्काले बताए । उनका अनुसार घटनामा संलग्नको खोजी भइरहेको छ । काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार चक्र केसीले राति बेनीबाट गएका एमालेका कार्यकर्ताले मोटरसाइकलमा आगजनी, स्थानीयवासीको घरमा तोडफोड र कोठामा सुतिरहेका आफ्ना कार्यकर्तालाई आक्रमण गरेको आरोेप लगाए । एमालेका जिल्ला सचिव बालकृष्ण सुवेदीले काँग्रेसका कार्यकर्ताले फोनमा कुरा गरेर हिँडिरहेका आफ्ना कार्यकर्तालाई आक्रमण गरेपछि कोठामा लुकेर बसेका काँग्रेसका कार्यकर्तालाई खोज्न जाँदा देखाएको बन्दुक खोसेर प्रहरीलाई बुझाइएको बताए । घटनास्थल बेनी– ९ को कार्यालय नजिकैको घरमा बेनी–पाखापानी सडक आयोजनाको ठेक्का लिएको हिमदुङ नाना ठोक्कर जेभीको कार्यालय थियो । काँग्रेस कार्यकर्ता कार्कीले कम्पनीको कार्यालयका रुपमा प्रयोग गर्दैआएको सो घरमा काँग्रेसका वडाध्यक्षका उम्मेदवार केसीको सम्र्पक कार्यालय पनि थियो । क्षतिको विवरण सङ्कलन र अनुसन्धानका लागि प्रहरी निरीक्षकको टोली घटनास्थलमा परिचालन गरिएको र घटनामा संलग्नको खोजी तीव्र पारिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप