बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रोल्पा : सेनाले सिरक्याङभिर फोर्दै

शनिबार, ३० वैशाख २०७४, १२ : ४६
शनिबार, ३० वैशाख २०७४

रोल्पा, ३० वैशाख, । लामो समयसम्म निर्माण हुन नसकेको सुलीचौर–गुराँसे– थवाङ सडक खण्डको सिरक्याङभिर खण्ड निर्माण सुरु गरिएको छ । खड्ग दल गण रोल्पाले शुक्रबारदेखि चट्टान फोर्ने कार्य सुरु गरेको हो । सो सडक खण्डमा रहेको चट्टान फोर्न निर्माण व्यवसायी अनेक उपाय गर्दा समेत सफल नभएपछि रक्षा मन्त्रालयमा गरिएको अनुरोधानुसार नेपाली सेनालाई उक्त काम गर्ने जिम्मा दिइएको प्रजिअ डा डिजन भट्टराईले जानकारी दिए । निर्माणको सम्पूर्ण जिम्मा निर्माण व्यवसायीको हुने र प्राविधिक सहयोग मात्रै नेपाली सेनाले गर्ने डा भट्टराईले बताए ।

बढीमा एक महिनाभित्र सम्पन्न गर्ने गरी काम भइरहेको जनाइएको छ । धेरै पहिलेको ठेक्का भए पनि निर्माण व्यवसायीमार्फत सो स्थानको चट्टान फोर्न असम्भव देखिएकाले मन्त्रालयलाई आग्रह गरिएको स्थानीय विकास अधिकारी सुशील वैद्यले जानकारी दिए ।

“अब स्थानीय निर्वाचन अगावै सडक तयार हुन्छ”, वैद्यले भने । सो कामका लागि दैनिक एक प्लाटुन सेनाले प्रावधिक सहयोग गर्ने खड्ग दल गणका गणपति अजय गुरुङले जानकारी दिनुभयो । “निर्माण अवरुद्ध स्थानमा मात्र सेनाले सहयोग गर्छ” गुरुङले भभने । उत्तरी रोल्पाका थवाङलगायत गाविस जोड्ने गरी पञ्चायतकालदेखि निर्माण आरम्भ गरिएको सो सडक जिटिजेडको सहयोगमा निर्माण गरिएको थियो । सिरक्याङ भिरको अप्ठेरो भौगोलिक संरचना र कडा चट्टानका कारण निर्माण अगाडि नजाँदै सो परियोजनाको अवधि सकिएको थियो । सडक निर्माणसँगै उत्तरी रोल्पाका सेरम, उवा, थवाङ, मिरुल तथा रुकुम जिल्लाका एक दर्जन बढी गाविसका जनता लाभान्वित हुने बताइएको छ । हाल सदरमुकाम लिवाङबाट थवाङ जानका लागि घर्तीगाउँ– दुई खोलीको बाटो प्रयोग गर्दा धेरै समय लाग्नाका साथै गाडी भाडासमेत निकै महँगो रहेको यात्रुले गुनासो गरिरहेको बेला सुलीचौर–थवाङ सडकखण्ड निर्माणसँगै यात्रुलाई धेरै राहत हुने बताइएको छ । हाल लिवाङबाट थवाङ यात्राका लागि यात्रुले रु आठ सय भाडा तिर्दै आइरहेका छन् । व्यापारिक केन्द्र सुलीचौरदेखि पैदल मार्गबाट झन्डै दुई दिन लाग्ने सो सडकखण्ड निर्माणले रोल्पाको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने स्थानीयवासीले बताएका छन् ।

रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप