बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भोट खसाल्न मतदाता परिचय पत्र छैन ? चिन्ता नमान्नुस्, यस्तो छ उपाय

शनिबार, ३० वैशाख २०७४, १७ : २७
शनिबार, ३० वैशाख २०७४

शम्भु दंगाल

काठमाडौँ, बैशाख ३० – स्थानीय तहको चुनावमा भोट खसाल्न तपाईले परिचय पत्र पाउनुभएन वा केही त्रुटी भेटिएको छ ? त्यसो हो भने चिन्ता नमान्नुस् ।

तपाईंलाई मतदान गर्न आयोगले बाटो खुला गरेको छ । तपाईंले सरकारी परिचय पत्रका आधारमा मतदान गर्न पाउनुहुनेछ । यसका लागि मतदाता नामावलीमा तपाईको नाम भने उल्लेख भएको हुनुपर्नेछ ।

भोटर लिस्टमा तपाईको नाम छ र परिचय पत्र पाउन सक्नुभएन वा कुनै गल्ति छ भने तपाईले नागरिकताको प्रमाणपत्र, सवारी लाइसेन्स, सरकारी कार्यालयले जारी गरेको कुनैपनि परिचयपत्रका आधारमा तपाईले मतदान गर्न पाउनुहुने भएको छ ।

निर्वाचन आयोगको वैशाख २९ गते बसेको बैठकले भोली पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गर्न नसकेकाहरूका लागि सरकारी निकायबाट जारी गरिएको फोटोसहितको परिचयपत्रका आधारमा मतदान गर्न दिने निर्णय गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताएका छन् ।

स्थानीय तहको निर्वाचन, २०७४ प्रयोजनार्थ तयार पारिएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा पनि भोट दिन पाइनेछ ।

नागरिकको मताधिकार सुनिश्चित गर्न नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय आयोगले गरेको छ ।

साथै मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउनसमेत सम्बन्धित सबैलाई जानकारी गराइएको प्रवक्ता शर्माले जनाएका छन् ।

यस सम्बन्धमा थप बुझ्नु परेमा निर्वाचन आयोगको टोल फ्रि नम्बर १६६००१४४२२२ मा सम्पर्क गरी जानकारी लिन सक्नुहुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप