बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्थानीय तह निर्वाचनको सुरक्षा तयारी पूरा

शनिबार, ३० वैशाख २०७४, १६ : ०७
शनिबार, ३० वैशाख २०७४

किरण भट्टराई

काठमाडौँ, ३० वैशाख । आइतबार हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको छ । निर्वाचनमा नेपाली सेनासहित ९५ हजार सुरक्षाकर्मी खटिने भएका छन् । नेपाली सेना ३१ हजार, नेपाल प्रहरी २२ हजार ६९५, सशस्त्र प्रहरी १७ हजार ३५६, राष्ट्रिय अनुसन्धान विभागका ३८३ र म्यादी प्रहरी २४ हजार ७७७ जना निर्वाचनका लागि परिचालन हुनेछन् । प्रदेश नं ३, ४ र ६ अन्तर्गतकशा ३४ जिल्लाका २८३ स्थानीय तहमा १३ हजार ५५६ जनप्रतिनिधि छनौट हुनेछ । निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले बताए । केन्द्रीयतहमा सुरक्षा योजना बनाइ क्षेत्रीय र जिल्ला तहमा समेत सुरक्षा योजना बनेको छ । निर्वाचन हुने सम्पूर्ण गाउँ, क्षेत्र, केन्द्रमा सुरक्षा योजना कार्यान्वयनमा लगिएको उनको भनाइ छ ।

प्रवक्ता पन्थीका अनुसार निर्वाचन अवधिभर पहिलो भित्री घेरामा नेपाल प्रहरी, दोस्रो बीचको घेरामा सशस्त्र प्रहरी र तेस्रो बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिने छ । निर्वाचन पूर्वको सुरक्षा, निर्वाचन अवधिको सुरक्षा र निर्वाचनपछिको सुरक्षा गरी तीन चरणको सुरक्षा तयारी गरी कार्यान्वयनमा लगिसकिएको पन्थीले बताए ।

गृह मन्त्रालयले सुरक्षा कमजोरी देखिए तत्काल त्यसलाई सच्याउँदेै संवेदनशीलताको आधारमा जिल्ला र मतदान केन्द्रका लागि आवश्यक सुरक्षा रणनीति बनाएको छ । “पूर्ण सुरक्षा योजना निर्वाचन सकिने बेलासम्म बनिरहन्छ । अहिले सामान्य भनिएका ठाउँमा निर्वाचनको समयमा असमान्य हुनसक्छ भने अहिले असमान्य भनिएका ठाउँ निर्वाचनको बेला सामान्य बन्नसक्छ,” उनले भने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि सुरक्षा निकायले उच्च निगरानीमा राखेको छ । पछिल्लो समय आगजनी, बम विष्फोटलगायत निर्वाचन विरोधी गतिविधिमा सो पार्टीको संलग्नता देखिएपछि उक्त पार्टीका नेता कार्यकर्तालाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । प्रवक्ता पन्थीले लुकिछिपी एकाध ठाउँमा निर्वाचन विरोधी गतिविधि भए पनि त्यो समूह प्रभावकारी नभएको बताए । निर्वाचन विरोधी कुनै गतिविधि भइहाले तत्काल प्रहरी पुग्नेगरी निर्वाचन सुरक्षा तयारी गरिएको प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले बताए । चार ठाउँमा हेलिकप्टर तयारी अवस्थामा नेपाली सेनाको प्रवक्ता झङकरबहादुर कडायतले निर्वाचनलाई मध्यनजर गर्दै काठमाडौँ, पोखरा, सुर्खेत र हेटौँडामा सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको बताए । सुरक्षाका लागि आवश्यक काममा मद्दत गर्ने तथा निर्वाचनका लागि आवश्यक बन्दोबस्तीका सामग्री पु¥याउने काममा ती हेलिकप्टर प्रयोग भइरहेको बताए ।

पहिलो चरणको निर्वाचनमा करिब ३१ हजार नेपाली सेना सुरक्षाका लागि खटिने र उनीहरुले बाहिरी घेरामा रहेर सुरक्षा दिने छन् । सेनाले सुरक्षाको प्रत्याभूति दिन अहिले नियमित गस्ती गरिरहेको छ । त्यस्तै सुरक्षालाई मध्यनजर गर्दै विष्फोटक पदार्थ निष्क्रिय पार्नका लागि समेत विभिन्न जिल्लामा टोली तयारी अवस्थामा राखिएको छ । विमानस्थल, कारागारलगायत कतिपय स्थानमा खटिएका प्रहरी निर्वाचनमा खटिएपछि जिल्ला सुरक्षा समितिको आग्रहमा सो ठाउँको सुरक्षाको जिम्मा समेत सेनाले लिएको छ ।

रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप