बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्वाचन आयोगको अपिल : एक दिन राष्ट्रका लागि समय प्रदान गरी मतदान गर्नुहोस्

शनिबार, ३० वैशाख २०७४, १७ : २५
शनिबार, ३० वैशाख २०७४
काठमाडौँ, वैशाख ३० –निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणअन्तर्गत आइतबार हुने ऐतिहासिक निर्वाचनमा सहभागी भई मतदान गर्न समाजका सबै वर्ग, तह र समुदायका मतदातालाई आह्वान गरेको छ । निर्वाचन आयोगको मिडिया सेन्टरमा आज आयोजित विशेष पत्रकारसम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आइतबार हुने स्थानीय तहको निर्वाचनको भरपर्दाे सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । प्रमुख निर्वाचन आयुक्त डा यादवले भने, “तीनवटा प्रदेशका ३४ जिल्ला मातहत २८३ स्थानीय तहका ६ हजार ६४२ मतदान केन्द्रमा मतदान सामग्रीसहित मतदान अधिकृत र सुरक्षाकर्मी सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदानका लागि आवश्यक तयारी पूरा गरिसक्नु भएको छ ।” राजनीतिक प्रणाली परिवर्तनका लागि मुलुकमा विभिन्न समयमा भएका आन्दोलनको सबैभन्दा ठूलो उपलब्धिका रुपमा आफ्नै घरदैलोमा स्थानीय सरकार गठनका लागि भोेलि आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म पहिलो पटक स्थानीय तहको निर्वाचन हँुदैछ । उक्त निर्वाचनबाट १८६ गाउँपालिकाका अध्यक्ष, १८६ उपाध्यक्ष, ९७ नगरपालिकाका प्रमुख, ९७ उपप्रमुख र दुई हजार ५९८ वडा अध्यक्ष, दुई हजार ५९८ वडा सदस्य, दुई हजार ५९८ महिला वडा सदस्य र दुई हजार ५९८ दलित महिला वडा सदस्य, दुई पद वडासदस्यका लागि पाँच हजार १५६ सहित १३ हजार ५५६ समावेशी जनप्रतिनिधिको चयन हुनेछ । प्रमुख निर्वाचन आयुक्त डा यादवले भने, “सुरक्षाको भरपर्दो व्यवस्था गरिएकाले मतदानमा ढुक्क भएर सहभागी भई आफूले रोजेको उम्मेदवारलाई मतदान गर्न निर्वाचन आयोगका तर्फबाट सबै मतदाता महानुभावसँग हार्दिक अपिल गर्दछु ।” मुलुकमा १५ वर्षदेखि कर्मचारीले सञ्चालन गर्दै आएको स्थानीय तहको नेतृत्व यो निर्वाचनबाट जनप्रतिनिधिमा हस्तान्तरण हुने भएकाले पनि मतदाताहरू यस पटकको निर्वाचनप्रति धेरै नै उत्सुक देखिएका छन् । “जनप्रतिनिधिहरूले लेखेको संविधान कार्यान्वयन गर्ने क्रममा मतदानमा सहभागी हुँदैछौँ, मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछिको यो पहिलो स्थानीय तहको निर्वाचनले जनताको सुख–दुःख हेर्ने घर छेउको सरकारको नेतृत्व गर्ने जनप्रतिनिधिहरू निर्वाचित गर्नेछ”, प्रमुख निर्वाचन आयुक्त डा यादवले भने । आइतबारको निर्वाचनमा ४९ हजार ३३७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला उम्मेदवार छन्, जसमा नौ हजार ८३ महिला वडा सदस्य र सात हजार ५२६ दलित महिला वडा सदस्यको उम्मेदवारी छ । उत्साहका साथ मतदानको प्रतीक्षामा रहेका मतदाताले कुनै कारणवश मतदाता परिचयपत्र नपाएको भए नागरिकताको प्रमाणपत्र देखाएर पनि मतदान गर्न सक्ने व्यवस्था गरिएकाले त्यसको सदुपयोग गरी मतदानमा सरिक हुन पनि आयोगले मतदातालाई आग्रह गरेको छ । जुन मतदान केन्द्रमा मतदाता नामावलीमा नाम छ, त्यही केन्द्रमा गएर मतदान गर्न तथा नाम ढाँटेर अर्काको नाममा मतदान नगर्न पनि मतदातालाई सचेत गराउँदै आयोगले यो निर्वाचनको अनुगमन गर्न केन्द्रदेखि स्थानीय तहसम्म सूक्ष्म ढङ्गले विभिन्न तहको अनुगमन टोली र ४९ वटा संस्थाका पर्यवेक्षक खटाएको जनाएको छ । अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामीलाई मतदानमा प्राथमिकता दिन पनि आयोगले सुझाव दिएको छ । दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैँ मत सङ्केत गर्न नसकेमा एकाघरको परिवारको सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मत सङ्केत गर्ने व्यवस्था आयोगले मिलाएको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा १६० महिला र १६९ पुरुष गरी ३२९ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनमा ४९ लाख ५६ हजार ९२५ मतदाता मतदान गर्दै छन् । निर्वाचनमा राष्ट्रिय पर्यवेक्षण गर्ने ४९ संस्थाका पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्नेछन् भने आयोगले केन्द्रदेखि जिल्ला तहसम्म अनुगमन र सूक्ष्म अनुगमनको समेत व्यवस्था मिलाएको छ । आचारसंहिता पालना गर्नुस् आचारसंहिताको पूर्ण पालना गर्दै मतदातालाई मताधिकारको प्रयोग गर्ने सहज वातावरण निर्माणका लागि सबै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, आमसञ्चार माध्यम र निर्वाचनसँग सरोकार राख्ने सबैसँग अनुरोध गर्दै आयोगले मौन अवधिको महत्व र निर्वाचनको संवेदनशीलतालाई सबैले मनन पनि ध्यानाकर्षण गराएको छ । निर्वाचन कार्यक्षेत्रमा खटिनुभएका राष्ट्रसेवकको मेहनतले आयोगको मर्यादालाई उच्च बनाएको जनाउँदै आयोगले लोकतन्त्रको जगलाई गाउँ, सहर र बस्तीबाटै सुदृढ बनाउने कार्यमा सबैबाट सहयोग हुने विश्वास व्यक्त गरेको छ । आयोगले भनेको छ – ‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन आयोग दृढ छ । तपाईंको मत अमूल्य छ । खर्बपति र गरिबको मत समान छ । तसर्थ कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्ररूपमा विवेकपूर्ण निर्णय गरेर गोप्य मतदान गर्नुहोस् ।  

आदरणीय मतदाता आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू,

१. स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तहको भोलि अर्थात् २०७४ वैशाख ३१ गते आइतबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको जानकारी गराउन चाहन्छु । भोेलि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानका लागि ६ हजार ६४२ मतदान केन्द्रमा आवश्यक पर्ने सम्पूर्ण तयारी आयोगले पूरा गरिसकेको छ । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य पदका लागि निर्वाचन हुन लागेको हो।

२. आदरणीय मतदाताहरू मतदान गर्न ज्यादै उत्सुक हुनुहुन्छ भन्नेमा निर्वाचन आयोग विश्वस्त छ । निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन् र आफ्नो अमूल्य मत सातजना उम्मेदवारलाई प्रदान गर्न सबै मतदाता महानुभावहरूसँग आयोग हार्दिक अपिल गर्न चाहन्छ ।

३. हाम्रा निर्वाचित जनप्रतिनिधिहरूले लेखेको हाम्रो संविधानलाई कार्यान्वयन गर्ने क्रममा आइतबार हामी मतदानमा सहभागी हुन पाएकोमा निकै भाग्यमानी भएको अनुभूत गरिरहेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको पहिलो ऐतिहासिक निर्वाचनले स्थानीय तहको नेतृत्व गर्ने व्यवस्थापिका, कार्यपालिका र न्यायापालिकाका जनप्रतिनिधिहरूको निर्वाचन गर्ने छ ।

४. आदरणीय मतदाताहरू तपाईहरूले पक्कै पनि निर्वाचन आयोगले जारी गरेको मतदाता परिचयपत्र नजिकको मतदान केन्द्रबाट प्राप्त गरिसक्नु भएकै होला । फोटोसहितको मतदाता नामावलीमा तपाईको नाम समावेश छ र मतदाता परिचयपत्र पाउनु भएन वा कुनै कारणले नस्ट भयो भने नागरिकता वा नेपाल सरकारबाट जारी भएका आधिकारिक कुनै पनि प्रमाणपत्र देखाएर मतदान गर्न पाउने गरी मतदाताको अधिकारलाई आयोगले सुनिश्चित गरेको व्यहोरा सहर्ष जानकारी गराउन चाहन्छु ।

५. मतदान गर्न जाँदा फोटोसहितको परिचयपत्र वा नेपाल सरकारबाट जारी भएको कुनै पनि आधिकारिक परिचयपत्र लिएर मात्र मतदान केन्द्रमा जानुहुन म मतदाता महानुभावहरूसँग आग्रह गर्न चाहन्छु । स्थानीय तहको निर्वाचन, २०७४ प्रयोजनार्थ तयार पारिएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय आयोगले गरेको जानकारी गराउँछु।

साथै मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउनसमेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ।

भोलि आइतबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गर्नुभएका मतदाताले मात्रै मतदान गर्न पाउनु हुने हुँदा सबै मतदाताले एक दिन राष्ट्रका लागि समय प्रदान गरी दुःख सहेर भए पनि मतदानमा सरिक भई आफूले रोजेको योग्य उम्मेदवारलाई निर्वाचित गराउन म यहाँहरूलाई अनुरोध गर्दछु।

६. मतदाता महानुभावहरु उहाँहरुको नाम मतदाता नामावली जुन मतदान केन्द्रमा छ, सोही मतदान केन्द्रबाट मात्रै मतदान गर्न पाउनु हुने भएकाले तोकिएको मतदान केन्द्रमा गई गोप्य तवरले मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्न हुन आग्रह गर्दछु । कुनै पनि मतदाताले नाम ढाँटेर अर्काको नाममा मतदान नगर्नु हुन अपिल गर्दै कसैले त्यस्तो गैर कानुनी कार्य गर्नुभएमा कानूनबमोजिम सजायको भागी हुनुपर्ने व्यहोरासमेत स्मरण गराउन चाहन्छु ।

७. अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा विरामी मतदातालाई मतदान गर्ने कार्यमा प्राथमिकता दिई उचित व्यवस्थापन मिलाउन र सहज ढङ्गले मतदानको प्रबन्ध गर्न सबै मतदान अधिकृतलाई आयोग निर्देश गर्दछ । अपाङ्गता भएका मतदातालाई मतदान गर्न सजिलो होस् भन्ने हेतुले एक सयभन्दा बढी मतदान केन्द्रमा ¥याम्प बनाइएको छ । दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैं मत सङ्केत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतसङ्केत गर्न सक्नु हुने छ । यसरी मत सङ्केत गर्दा मतदाताको इच्छाविपरीत हुने छैन भन्ने आयोगले विश्वास लिएको छ ।

८. गोप्य मतदानको प्रक्रियाद्वारा एक पद एक मतको आधारमा बहुमतीय निर्वाचन प्रणालीमा यो निर्वाचन हुँदैछ । यसका लागि कुल ४९ हजार ३३७ उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । तीमध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला उम्मेदवार रहनु भएको छ । यस निर्वाचनमा ४ महानगरपालिका, १ उपमहानगरपालिका, ९२ नगरपालिका र १८६ गाउँपालिकामा भोलि मतदान हुने छ । यस निर्वाचनबाट नगरप्रमुख वा अध्यक्ष गरी २८३ र त्यतिकै संख्यामा उपप्रमुख वा उपाध्यक्ष निर्वाचित हुनु हुने छ । यस निर्वाचनबाट २ हजार ५९८ वडाध्यक्ष निर्वाचित हुनु हुने छ । निर्वाचनमा प्रमुख वा अध्यक्षमा कुल एक हजार ७२३ पुरुष र १५७ महिला गरी एक हजार ८८० तथा उपप्रमुख एवं उपाध्यक्षमा पुरुष २५७ र महिला एक हजार १२७ गरी जम्मा एक हजार ३८४ जना प्रतिस्पर्धामा हुनुहुन्छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारी फिर्तापछि कुल ४९ हजार ३३७ उम्मेदवारमध्ये महिला ३९ प्रतिशत र पुरुष ६१ प्रतिशतको उम्मेदवारी कायम रहेको छ । नगरप्रमुख तथा अध्यक्षमा पुरुष एक हजार ७२३ र महिला १५७ जनाको मात्रै उम्मेदवारी छ । नगरप्रमुख वा उपाध्यक्षमा भने पुरुषको भन्दा महिलाको सङ्ख्या सबैभन्दा बढी देखिएको छ । उपाध्यक्षमा २५७ जना पुरुष र एक हजार १२७ जना महिला हुनुहुन्छ । वडाध्यक्षमा पुरुष १० हजार २९६ जना र महिला ४४८ जना उम्मेदवारहरू निर्वाचनको मैदानमा हुनहुन्छ । यसैगरी, वडा सदस्य दुई पद खुलाका लागि पुरुष १७ हजार ७२९ र महिला ९५१ जना र महिला वडा सदस्य पदमा नौ हजार ८३ र दलित महिला वडा सदस्यमा ७ हजार ५२६ जनाको उम्मेदवारी कायम रहेको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार, राजनीतिक दलहरूले उम्मेदवारी मनोनयन गराउँदा नगरप्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, वडा सदस्य पदका लागि ४० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने व्यवस्था गरेको छ । यस निर्वाचनमा १६० महिला र १६९ पुरुष गरी ३२९ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसक्नु भएको छ । पहिलो चरणको निर्वाचनमा ४९ लाख ५६ हजार ९२५ मतदाता मतदान कार्यमा सहभागिता जनाउँदै हुनुहुन्छ । निर्वाचनमा ४९ संस्थाका पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्ने छन् भने आयोगले केन्द्रदेखि जिल्ला तहसम्म अनुगमनकर्ता र सूक्ष्म अनुगमनकर्ताको समेत व्यवस्था मिलाएको छ ।

आदरणीय मतदाता महानुभावहरू,

९. संविधानले महिला, पिछडिएका क्षेत्र, सीमान्तकृत समूह, दलित, मधेशी समुदाय र अपाङ्गता भएका व्यक्तिहरूका साथै अन्य लक्षित समूह एवम् समुदायहरूको निर्वाचनमा सहभागिता सुनिश्चित गरेको छ । स्वतन्त्र र निष्पक्ष निर्वाचनबाट सामान्य नागरिकहरूले पनि शासनमा सहभागिता हुन पाओस् र लोकतन्त्रमा कसैले पनि आफू वञ्चितिमा परेको अनुभ्ुति गर्नु नपर्ने प्रावधान हुँदा स्थानीय तह निर्वाचनको महत्व अझै बढेको छ ।

१०. निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । निर्वाचन प्रक्रियाबाट मात्र जनताले लोकतन्त्रको महत्वको अनुभूति गर्न पाउँदछन् । निर्वाचनकै माध्यमबाट आवधिकरूपमा नेतृत्व चयन गरिन्छ । निर्वाचनले जनप्रतिनिधिलाई जनताप्रति जवाफदेही हुन प्रेरित गर्दछ । यसले लोकतान्त्रिक पद्धतिको सम्बद्र्धन र विकासमा सघाउ पु¥याउँदछ । त्यसैले आफ्नो स्थानीय सरकार कस्तो बनाउने हो, त्यो तपाई मतदाताहरूकै हातमा निर्भर रहेको छ । सुरक्षा निकायले शान्ति सुरक्षाको अवस्थालाई भरपर्दो बनाएको हुँदा कोही कसैबाट जनताको मताधिकारलाई कुण्ठित गराउने प्रयास भएमा सुरक्षाकर्मीले त्यस्ता प्रयासलाई विफल पार्ने कुरामा आयोग विश्वस्त छ । तपाईको अमूल्य मत कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्ररूपमा विवेकपूर्ण निर्णय गरेर गोप्यरूपले प्रदान गर्नु हुने कुरामा आयोग ढुक्क रहेको छ ।

११. यस निर्वाचनबाट महिला, दलित र अल्पसङ्ख्यकको नेतृत्व विकासमा महत्वपूर्ण सहयोग पुगी महिलाको आत्मविश्वास र आत्मसम्मानको विकास हुने र महिलालगायत पिछडिएका वर्गका नागरिकको सन्तुष्टिको तह वृद्धि हुने भएकाले मुलुकको राजनीतिक पद्धति सफल हुने कुरामा दुई मत रहन सक्दैन ।

१२. मौन अवधिको महत्व र निर्वाचनको संवेदनशीलतालाई सबैले मनन गर्नु हुने छ । यस अवधिमा निर्वाचन प्रसार–प्रसारका सबै कार्य निषेध गरिएको जानकारी सबै दल र उम्मेदवारले पाइसक्नु भएकै छ । त्यसैले आचारसंहिताको पूर्ण पालना गर्दै मतदातालाई मताधिकारको प्रयोग गर्ने सहज वातावरण निर्माणका लागि सबैसँग हार्दिक अनुरोध गर्दछु ।

१३. निर्वाचन कार्यक्षेत्रमा खटिनुभएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत, अन्य कर्मचारी र सुरक्षा निकायले विगतमा झैं आ–आफ्नो जिम्मेवारी पूरा गर्न कठिन परिश्रमका साथ अहोरात्र खटिरहनुुभएको छ । तपाईहरूको मेहनतले आयोगको मर्यादालाई उच्च बनाउन सहयोग पुग्ने छ । साथै लोकतन्त्रको जगलाई गाउँ, सहर र बस्तीबाटै सुदृढ बनाउने कार्यमा तपाईहरूले आफ्नो बुद्धि, विवेक र संयमताको भरपूर प्रयोग गर्नु हुने छ भन्ने कुरामा आयोग विश्वस्त रहेको छ ।

१४. निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज र आमसञ्चार माध्यमलगायत सबै क्षेत्रबाट रचनात्मक सहयोगका लागि आयोग हार्दिक अपलि गर्दछ । एकाध ठाउँमा बाहेक दलहरूबीचको सौहाद्र्र्धता प्रसंशनीय देखिएको छ, यो सौहाद्र्धता मतदान गर्न र विजय र्‍यालीसम्म पनि कायमै रहने छ भन्नेमा आयोगले आशा एवं विश्वास लिएको छ । समग्रमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएकाले मतदानमा निर्धक्क भई आफूले रोजेको उम्मेदवारहरूलाई मतदान गर्न निर्वाचन आयोगको तर्फबाट म सबै मतदाता महानुभावसँग पुनः हार्दिक अपील गर्दछु।

१५. नेपाल सरकार, मित्रराष्ट्रहरू, दातृ निकाय तथा विकास साझेदार संस्था तथा अन्तर्राष्ट्रिय समुदायको अटुट सहयोग र सद्भावप्रति आयोग हृदयदेखि नै धन्यवाद दिन चाहन्छ।

अन्त्यमा, निर्वाचनको वातावरण निर्माण गर्न आमसञ्चार जगत्ले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु । मिडियाकर्मीहरूले छिटोभन्दा छिटो र सनसनीपूर्ण समाचार दिन चाहनु हुन्छ तर निर्वाचनको संवेदनशीलतालाई मनन गरेर निर्वाचन आयोग, सुरक्षा निकाय, मतदान कार्यमा खटिएका कर्मचारीबाट पुष्टि भएका सूचना मात्रै सम्पे्रषण गरेर मतदाताको सही सूचना पाउने नैसर्गिक अधिकारको सम्मान गर्नसमेत पत्रकार मित्रहरूसँग अनुरोध गर्दछु। धन्यवाद

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप