बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आइतवार साँझबाट मतगणना शुरु : प्रमुख निर्वाचन आयुक्त

शनिबार, ३० वैशाख २०७४, १७ : ५४
शनिबार, ३० वैशाख २०७४

वैशाख ३०, काठमाडौं– शनिवार दिउँसो निर्वाचन आयोगले पत्रकार सम्मेलन बोलाएको थियो, जहाँ सयौँको सख्यामा पत्रकार उपस्थिति थिए । आफ्नो विज्ञप्ती पढेर सुनाएपछि प्रमुख निर्वाचन आयुक्तले पत्रकारका प्रश्नको जवाफ दिन थाले ।

जहाँ मन्त्रीहरुले नै निर्वाचन आचारसंहिता उल्लंघन गरेकोबारे प्रश्न गर्दा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले शत प्रतिशत आचारसंहिता पालना गराउन संभव नहुने बताए । ‘शत प्रतिशत आचार संहिता कसले पालना गर्छ ?’ उनले भने, ‘तपाई पत्रकारहरुले पनि शत प्रतिशत आचारसंहिता पालना गर्नुभएको छैन ।’

शनिवार निर्वाचन आयोगले गरेको विशेष पत्रकार सम्मेलनमा उद्योगमन्त्री रोमी गौचन थकाली र स्वास्थ्यमन्त्री गगन थापाले आचारसंहिता उल्लंघन गरेको भन्ने पत्रकारको जिज्ञासामा प्रमुख निर्वाचन आयुक्त यादवले भने, ‘मैले प्रेस काउन्सिलको रिपोर्ट अध्ययनका क्रममा पत्रकारहरुले पनि आचारसंहिता पालना नगरेको भेटेको छु, त्यसैले शत प्रतिशत आचारसंहिता लागु गर्न संभव हुँदैन ।’

मन्त्रीहरुलाई सामान्य नागरिक भएर हिँड्न र सरकारी साधन दुरुपयोग नगर्न आयोगले आग्रह गरेको जानकारी दिँदै यादवले भने, ‘यदि आयोगको आग्रहलाई वेवास्था गरेमा मन्त्रीहरुलाई पनि सचेत गराउने, स्पष्टिकरण सोध्ने र जरिवाना पनि गर्न सक्छौं ।’

त्यस्तै निर्वाचन आयोगकै डाटा सेन्टरबाट मतदाताहरुको नम्बर लिक भएको कुरा निर्वाचन आयोगले अस्वीकार गरेको छ । शुक्रवार काठमाडौंका केही उम्मेद्वारले मतदाताहरुलाई मेसेज गरेर भोट मागेका थिए । ‘हाम्रो डाटा सेन्टरबाट त्यसरी मतदाताको नम्बर लिक भएको छैन’ यादवले भने ।

आईतबार पहिलो चरणमा हुन लागेको स्थानिय निर्वाचनको ६ हजार ६४२ मतदान केन्द्रमा मतदाता शिक्षाको लागी आवश्यक सामग्री पठाईएको जानकारी दिँदै उनले भने, ‘मतदातालाई सचेत गराउने काम सहित निर्वाचनको सवै तयारी पुरा भैसकेको छ ।’

त्यस्तै दोस्रो चरणको निर्वाचनका लागी आवश्यक सामग्रीको छपाई समेत सकिएको आयोगले जनाएको छ ।

पहिलो चरणको निर्वाचन समाप्त हुनासाथ मतगणना शुरु हुने जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त यादवले भने, ‘पहिला निर्वाचन सक्न दिनुस्, त्यसपछि आईतबार साँझ नै मतगणना शुरु हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप