सम्पत्ति हत्याउन भएको एउटा निर्मम हत्याको कथा
काठमाडौं, जेठ २७–‘अनि केही पत्तो लाग्यो भाउज्यूको हत्या बारे ? ओई अनि तिमीहरुले खोजी गर्न नेपाल पुलिसलाई अझै दवाव बढाउनुपर्छ क्या ! अझै कोही पक्राउ परेको छैन रे । ओई अनि नेपाल पुलिसले भाउजुलाई मार्नेलाई पक्राउ गर्न सकेन हगि ?’
भारतको दार्जिलिङ जिल्लाको सिलिगुडी नगरसँगै जोडिएको चम्पासरी ग्रामपञ्चायत सालबारी स्थित काजीमान प्रधान रोड मेथिबारी बस्ने ४२ बर्षीय जग्गा कारोबारी राजकुमार प्रधान प्राय छिमेकी बिमल शर्मालाई घरको गेटमै आएर यस्तै प्रश्न गरिरहन्थे ।
१० असोज २०७३ मा नेपालको पुर्वपश्चिम राजमार्ग स्थित मोरङ कानेपोखरीको जंगलमा बिभत्स अबस्थामा मृत फेला परेकी २९ बर्षिया भाउजु लीला दहालको हत्याबारे छिमेकी बिमल र आफन्तहरु चिन्तित थिए । हत्याका आरोपीहरु पक्राउ परे परेनन् , रहस्य पुलिसले पत्ता लगाउन सक्यो सकेन भन्ने जिज्ञाशा नेपाल आएर फर्केने बित्तिकै प्रधानले बिमल र ससुरा मोहनप्रसाद दहाललाई सोध्ने गरेका थिए – केही रहस्य खुल्यो , हत्यारा को रहेछ ?
आफनो शान्त गाउँमा बसोवास गर्दै आएकी सोझो परिवारकी सोझी महिलाको नेपालमा लगेर कस्ले र किन हत्या गरयो भनेर ससुरा मोहन र देवर बिमल मात्र नभएर सिँगो चम्पासरी पञ्चायतका बासिन्दा नै चिन्तित थिए । यसैले उनिहरु पटक पटक नेपाल आएर प्रहरीलाई हत्यारा पत्ता लगाउनका लागि खोजीलाई तीब्र बनाउन आग्रह गरेर फर्कन गरेका थिए । र , उनिहरु घर फर्कनासाथ छिमेकी प्रधान सबैभन्दा पहिला आएर सोध्ने गर्थे , –‘पक्राउ पर्यो त लीला भाउजुको हत्यारा ?’ तर ससुरा मोहन र देवर बिमललाई मात्र हैन गाउँका कसैलाई पनि अलिकति शंका पनि थिएन सोझी लीलालाई योजना बनाएर मार्ने गाउँकै छिमेकी यीनै राजकुमार प्रधान हुन् भन्ने ।
आठ महिनापछि बल्ल पक्राउ कानेपोखरीको जगलमा ढुंगाले अनुहार किच्याएको अबस्थामा मृत फेला परेकी महिला लीला दहालको हत्याको रहस्य पत्ता लगाउन नेपाल प्रहरीलाई ठयाक्कै आठ महिना लाग्यो । १० असोज ७३ मा कानेपोखरी गाउँपालिका ७ स्थित पुर्वपश्चिम राजमार्ग किनारको जंगलमा मृत अबस्थामा फेला परेकी महिलाबारे अनलाइन पोर्टलहरुमा फोटो सहित समाचार आएपछि बिदेशमा बस्ने आफन्तहरु समेतको चासोमा मृतक सिलिगुडीकी महिला लीला दहाल नै हुन भन्ने पृष्टि भएको थियो । नेपालमा मृत भेटिएकी महिला आफनी बिधुयी भाउजु भएको थाहा पाएपछि देवर बिमल , ससुरा मोहन मात्र नभएर गाउँका छिमेकीहरु पुर्व डिएसपी बिएस राना , पुर्व ईन्स्पेक्टर नन्दलाल ओली , चम्पासरी ग्रामपञ्चायतका अध्यक्ष कुमार क्षेत्री , गाउँका अगुवा समाजसेबी एमबी क्षेत्री लगायत पटक पटक नेपाल आएर लीलाको हत्या भएको दाबी गर्दै हत्यारा खोजी गरिदिन आग्रह गर्दै आएका थिए ।
उनीहरु तात्कालिन पुर्व क्षेत्रका डिआइजी केशरीराज घिमिरेसँग समेत डेलिगेसन पुगेका थिए । यस्तै नेपालका पहुचवाल नेताहरुलाई समेत घटनाको रहस्य पत्ता लगाउन आग्रह गरेका थिए । चर्को चासो भएपछि प्रहरीले घटनाको रहस्य पत्ता लगाउन पुर्व क्षेत्रिय प्रहरीले स्पेशल व्युरोलाई खटाएको थियो । अनुसन्धान गर्दै जाँदा लीलाको हत्या गर्ने चम्पासरीका भारतीय नागरिक राजकुमार प्रधाननै भएको प्रहरीले टुंगो लगाएको थियो । तर भारतमा भएकोले तत्काल पक्राउ गर्न सकिरहेको थिएन । तर प्रहरीले सिलिगुडी पुगेर गाउँमा सोधपुछ गर्ने काम भने जारी राखेको थियो । र प्रहरीले जग्गा कारोबारी बनेर योजनामा नेपाल बोलाइ राजकुमारलाई ३१ बैसाख २०७४ मा पक्राउ गर्न सफल भएको थियो । जग्गा कारोवारकै सिलसिलामा कारमा नेपाल आउँदै गर्दा प्रधान लीलाको हत्या आरोपमा पक्राउ परेका थिए । मोरंगका एसपी संन्दिप भण्डारीका अनुसार अनुसन्धानका क्रममा हत्या अघि लीलाको मोवाइलमा प्रधानले अन्तिम पटक सम्पर्क गरेको पाइएको थियो । सोही तथ्यका आधारमा फलो गर्दै जाँदा लीलाको हत्या प्रधानबाटै भएको पृष्टि भएको थियो ।
प्रहरीले लीलाको मोवाइल सिलिगुडीमा कसैले भेटेर प्रयोग गर्दै गरेको अबस्थामा फेला परेको थियो । प्रहरीका अनुसार नेपालमा हत्या गरेर फर्केपछि राजकुमारले प्रमाण लुकाउन उक्त मोवाइल भारतको सिलिगुडीको कुनै गल्लिामा लगेर फयाकेका थिए ।
अपराध लुकाउन देवर र ससुराले हत्या गरेको झुटो हल्ला लीलाको हत्यापछि चम्पासरी स्थित मेथिबारी गाउँ शोकाकुल नै बनेको थियो । सबैमा सोझी एकल महिलालाई कस्ले र किन मारयो त्यो पनि नेपालमा लगेर भन्ने सबैमा सर्वत्र चासो थियो ।चम्पासरीको मेथिबारी गाउँमा सबै नेपाली भाषीहरु बस्ने भएकोले उनिहरुले लीलाको हत्यारा पक्राउ नपरेकोमा आक्रोश पनि व्यक्त्त गर्न थालेका थिए ।
सोही बेला गाउँमा लीलाको हत्याबारे सोधीखोजी गर्दै नेपाल प्रहरी पुगेपछि राजकुमार भयभित बनेका थिए । तर कसैले पनि शंका नगरेकोले उनि भयभित बनेको कसैले चाल पाउन सकेनन् । यसैले उनले अपराधबाट जोगिन लीलाको हत्या सम्पत्ति हडप्न देवर र ससुरा मिलेर गराएको भन्ने झुठो हल्ला पनि फैलाएका थिए । तर गाउँलेहरुले त्यो हल्लामा कत्तिपनि बिश्वास गरेका थिएनन् । उनीहरु सबैलाई प्रतिक्षा थियो –आखिर को होला लीलाको हत्यारा ? यसैले उनीहरु पटक पटक नेपाल आएर हत्यारा खोजी गरिदिन आग्रह गर्दै डेलिगेसन जाने गरेका थिए । यसकारण प्रधानले गरे लीलाको हत्या
प्रहरीको अनुसन्धान र मेथिबारीबासीका अनुसार अनुसार हत्या गरिएकी लीला दहालका श्रीमान रामप्रसाद र राजकुमार प्रधान ७ बर्षदेखी जग्गा कारोबारका पार्टनर थिए ।
उनीहरुले चम्पासरीमा मिलेर प्लटिंगको कारोवार गर्ने गरेका थिए । जसबाट उनीहरुले राम्रो पैसा कमाएका थिए । पहिले केही पनि नभएका र आएको पाँचसात बर्षभित्र राजकुमारले मेथिबारीमा दुई तीन वटा आलिसान घर बनाइसकेका थिए । सन २०१५ मा राजकुमारका पार्टनर राप्रसादको कार दुर्घटनामा मृत्यु भएको थियो । त्यसपछि प्रोफेसनल क्रिमिनल हुन अग्रसर भैरहेका राजकुमारले पार्टनरसँग भएको कारोवारको आर्थिक लाभ आफैले लिने योजना बनाए । यसकालागि उनले दुई छोराछोरीकी आमा समेत बनिसकेकी २९ बर्षिय लीलासँग हिमचिम बढाए । एकल महिला लीला पनि पतिको कारोवार सम्हाल्न भन्दै जग्गा कारोवारमा सहभागी भइन् ।
आर्थिक कारोवार बढदै गयो । आफन्तका अनुसार रामप्रसादको मृत्यूको फाइदा उठाउँदै राजकुमारले जग्गाको पैसा तिर्न बाँकी रहेको भन्दै २८ लाख रुपैया रामप्रसादको बुवाबाट असुलउपर गरे ।
त्यसपछि रामप्रसादकी श्रीमती लीलासँग हिमचिम बढाएर पैसा लिन थाले । उनले कमाएको पैसा सबै आफुसँगै कारोवारमा लगाउन र आफु मार्फत नै लुकाउन योजना लीलालाई बताउँदै गए । उनले कमाएको पैसा सगोलमा राखेमा पछि देवर र ससुराले हडप्ने भएकोले आफुसँग मिल्न लीलालाई आस्वस्त पारेका थिए । लीलाले पनि छोराछोरीको भबिष्वकालागि भन्दै बिश्वासमा परेर राजकुमारको योजनामा फसेकी थिइन् । यत्तिकैमा राजकुमारले लीलाको एकलपनको फाइदा उठाउँदै यौन सम्बन्ध पनि बनाउन भ्याइसकेका थिए ।
जसको खवर गाउँमा कसैले पनि पाउन सकेको थिएन । तर सबै सम्पत्ती हत्याइसकेपछि लीलालाई छाड्न खोजेपनि लीलाले छाडन नचाहेपछि सबै सम्पत्ती सधैका लागि आफनो बनाउन र लीलाको दवाबबाट जोगिन उनको हत्या गर्ने योजना राजकुमारले बनाएका थिए । आफ्नो योजालाई सफल बनाउन राजकुमार आठ महिना पहिले श्रीमतीलाई लिएर मोरङको उर्लाबारी स्थित मंगलबारे आए ।
उनले लीलालाई बिहे गर्ने भनेर भएको पैसा लिएर काकडभिटा आउन अह्राएका थिए । लीलाले राजकुमारसँग बिहे गर्ने लोभमा सहकारीमा जम्मा गरेको पाँच लाख रुपैया निकालेर काकडभिटा आइसकेकी थिइन् । श्रीमतीलाई मगलबारेमा छाडेपछि काकडभिटा पुगेर राजकुमारले मोटरसाइकलमा चढाएर धरानतर्फ ल्याउँदै थिए । सोही क्रममा साँझ कानेपोखरी ७ मा जंगलमा आइपुगेपछि मोटरसाइक रोकेर पिसाव फेर्ने बहानामा लीलालाई जंगलमा लगेर ढुगाले अनुहारमा किचेर हत्या गरेर फर्केका थिए ।
यता लीला बेवारिसे अबस्थामा मृत फेला परेपनि उता आठ महिनासम्म निर्दोष बनेर राजकुमार सधैकालागि जोगिन सक्ने भन्दै ढुक्कले आफनो कारोवार चलाएर बसिरहेका थिए । मंगलबारेमा ससुराली र धरानमा आमाबुबा भएकोले पटक पटक नेपाल आउजाउ गर्ने राजकुमार लीलाको हत्या गरेपछि चाँही नेपाल आउजाउ गर्न छाडेका थिए ।
हाल राजकुमार मोरङको पथरी स्थित इलाका प्रहरीको हिरासतमा छन । प्रहरीले राजकुमार चतुर क्रिमिनल दिमागको व्यक्त्ति भएको ठानेको छ । अनुसन्धानमा संलग्न ईन्स्पेक्टर राजेन्द्र कार्कीका अनुसार राजकुमार यसअघि पनि नागपुर र भुटानमा बिभिन्न अपराधमा पक्राउ गरिसकेका व्यक्ति हुन् । प्रहरीले राजकुमारलाई कर्तव्य ज्यानमा सजाय दिलाउन तदारुकतासाथ प्रमाण संकलन गरेर मुद्दा अदालतमा बुझाएपछि मोरंग अदालतले प्रधानलाई पुपक्षकालागि २६ जेठमा मोरंग कारागार चलान गरेको छ ।
राजकुमार जस्तो व्यक्ति सिंगो समाजकै लागि खतरनाक हुने भन्दै मेथिबारीबासीहरु उनीमाथि कडा सजाय हुनुपर्ने माग गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दामा सुनील पौडेललाई ८ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना
-
के तेस्रो स्थानका लागि हुने खेलको गोल गोल्डेन बुटको दौडमा गणना हुन्छ ?
-
प्रदेश सरकार फेरबदलबारे मधेसका नेता भन्छन्– बाउले गल्ती गर्दा छोरालाई सजाय दिनु हुँदैन
-
देशभर ६१ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि
-
हुन सकेन स्वतन्त्र छानबिन, पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन गर्न आलटाल
-
तिलगंगा बस्ती हटाएको विरोधमा ७५ दिनदेखि स्थानीय धर्नामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण