मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको बैठक : वामपन्थी शक्तिहरुबीच एकता गर्नुपर्नेमा जोड

सोमबार, १८ पुस २०७९, १८ : ०२
सोमबार, १८ पुस २०७९

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्यहरूले वामपन्थी शक्तिहरूका बीचमा एकता गर्नुपर्नेमा जोड दिएका छन् । सोमवारबाट सुरु भएको पार्टीको पोलिटब्युरो बैठकमा आफ्नो धारणा राख्दै पोलिटब्युरो सदस्यहरूले वामपन्थी शक्तिहरूका बीचमा एकता गर्नुपर्नेमा जोड दिएका हुन् । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बैठकमा बोल्ने सदस्यहरूले वामपन्थीहरूलाई एकताबद्ध बनाउन पहल गर्नुपर्ने धारणा राखेको बताए । उनले वामपन्थीहरूको एकताको सम्बन्धमा सबैको एकमत रहेको बताए । त्यस्तै संगठन सुदृढीकरण गर्न आगामी पाँच वर्ष पार्टी निर्माणको अभियानमा लाग्नुपर्नेमा पनि सम्पूर्ण सदस्यहरू एकमत रहेको उल्लेख गरे ।

बैठकमा करिब ३० जना सदस्यले आफ्नो धारणा राखेको प्रवक्ता खतिवडाले जानकारी दिए । उनले वर्तमान सरकारमा जाने सन्दर्भमा औपचारिक प्रस्ताव नै नआएको भन्दै यस सम्बन्धमा छलफल नभएको बताए । बैठकमा सरकारलाई हेर्ने दृष्टिकोणको सम्बन्धमा भने छलफल भएको उनको भनाई छ ।  

प्रवक्ता खतिवडाले विगतमा सँगै गठबन्धन गरेका नेता पुष्पकमल दाहाल प्रधानमन्त्री भएसँगै आफूहरूलाई समर्थन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा धर्मसंकट परेको बताए । व्यक्तिगत रूपमा प्रधानमन्त्री दाहालप्रति सद्भाव भएपनि राजनीतिमा व्यक्तिगत सद्भावले काम नगर्ने स्पष्ट पारे । पार्टीको नीतिलाई स्पष्ट पार्नका लागि पोलिटब्युरो बैठक राखिएको भन्दै उनले परिपक्व निर्णय गरिने बताए । बैठक मंगलवार बिहान ११ बजे पुनः बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप