शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिवि नतिजा : पुस १५ को टार्गेटमा नतिजा निकाल्न असफल

मङ्गलबार, १९ पुस २०७९, १४ : २८
मङ्गलबार, १९ पुस २०७९

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहका नतिजा पुस १५ गतेभित्र प्रकाशित गरिसक्ने टार्गेट लिएको थियो । तर, पुस १९ गते भइसक्दा पनि नतिजा प्रकाशित हुन सकेको छैन। 

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले गत वर्ष लिएको बीबीएस, बीएड लगायतका विषयको परीक्षाफल सार्वजनिक गर्न सकेको छैन । स्नातक तहका नतिजा प्रकाशित गर्न नसकेको त्रिविले स्नातकोत्तर तहका लागि भर्ना आह्वान गरिसकेको छ । त्रिवि शिक्षाध्यक्षको कार्यालयले स्नातकोत्तर तहको भर्ना आह्वान गरेको हो । 

शिक्षाध्यक्षको कार्यालयले स्नातकोत्तर तहमा मानविकी तथा समाजशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत पढाई हुने विषयका लागि भर्ना आह्वान गरेको हो । पुस ६ गतेदेखि माघ ५ गतेसम्म आवेदन फाराम भर्ने मिति तोकिएको छ । भने माघ २२ गतेदेखि पढाई सञ्चालन गर्ने जनाएको छ । 

त्रिविका अधिकारीहरू भने यसमा परीक्षा नियन्त्रण कार्यालय र शिक्षाध्यक्षको कार्यालयबीच कोर्डिनेशन नमिलेको बताउँछन् । त्रिविका एक अधिकारीले समयमै नतिजा प्रकाशन गर्न नसकेको बेला माथिल्लो तहको भर्ना आह्वान गर्नु गलत भएको बताए ।  

कोर्डिनेशन राम्रो नभएकाले यस्तो समस्या भएको भन्दै ती अधिकारीले भने, ‘परीक्षा नियन्त्रण कार्यालयले काम गर्न नसकेको देखियो । नतिजा निकाल्ने र भर्ना लिने कुरामा दुवै निकायबीच कोर्डिनेसन हुनुपर्थ्यो । त्यस्तो देखिएन् ।’

परीक्षा नियन्त्रण कार्यालयले अब पुस २५ भित्र सबै नतिजा निकालिसक्ने टार्गेट बनाएको छ । तर, अहिलेको गतिमा जाने हो भने यो महिनाभरमा पनि नतिजा निकाल्न गाह्रो हुने देखिएको छ । 

‘टार्गेट भनेको पुस १५ मा रिजल्ट निकालिसक्ने भन्ने थियो । तर, आज १९ भइसक्यो । प्राविधिक कठिनाइ भयो, रुजु गर्ने काम बाकी रहेको छ भनेर काम गर्न सकिएको छैन भनिरहेका छन्,’ ती अधिकारीले भने, ‘अब २५ गतेसम्म निकाल्छन् भन्ने कुरा हो । तर, यही अनुसारको भयो भने यो महिनाभित्र पनि निकाल्न सकिँदैन् जस्तो छ ।’ 

यो महिनाभरमा नतिजा निकाल्न सकिएन भने भर्ना प्रक्रिया नै अवरुद्ध हुनेछ । त्यसपछि नयाँ भर्ना प्रक्रिया अगाडि बढाउनुपर्ने देखिन्छ । 

त्रिवि शिक्षाध्यक्षको कार्यालयले भने त्रिविको क्यालेन्डर अनुसार स्नातकोत्तर तहको भर्ना आह्वान गरेको प्रस्ट पारेको छ । सबै नतिजा नआएपनि अहिले आवेदन नखुलाउँदा क्यालेन्डर नै ढिला हुने भएकाले आवेदन आह्वान गरिएको शिक्षाध्यक्ष शिव भुसालले बताए । 

स्नातकोत्तर तहमा भर्ना फाराम भर्ने अन्तिम दिनसम्ममा नियमिततर्फका सबै विषय र संकायका नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप