शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

भन्सारमा रोकिएको सवारी साधनको सहज जाँचपासको व्यवस्था मिलाइदिन नाडाको माग

बुधबार, २० पुस २०७९, १८ : ४७
बुधबार, २० पुस २०७९

 

 

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भन्सारमा रोकिएका सयौं सवारी साधनहरूको सहज जाँचपासको व्यवस्था मिलाइदिन भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासँग माग गरेको छ । बुधबार नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले महानिर्देशक बुढासँग भेटी सरकारी नीति, बैंकको उच्च ब्याजदर, सवारी कर्जाको ५० प्रतिशतको सिलिङ तथा हायर पर्चेज कर्जाको अधिकतम १५० प्रतिशतसम्मको जोखिम भारका कारण व्यवसाय नै धरासाही हुन पुगेको र भन्सारबाट गाडी पास गर्न नसकिने स्थिति बनेको बताएको छ । 

 

सोही अवसरमा उपाध्यक्ष श्रेष्ठले व्यावसायिक महत्त्वका सवारी तथा ढुवानीका साधनहरूको बिक्री समेत दुई तिहाइले घटेको अवस्थामा भन्सार जाँचपासमा विभागबाट विशेष सहयोगको अपेक्षा गरेको बताएका छन् । 

 

यस्तै, नाडाका पूर्व अध्यक्ष सुनिल खेतानले भन्सार जाँचपासका लागि विभागले तोकेको सवै कागजातहरू पेश गर्दा पनि भन्सार जाँचपासमा कठिनाइ उत्पन्न भइरहेको गुनासो गरे । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले कोभिडको समयमा नियन्त्रणमा आएको अनधिकृत आयात अहिले निकै बढ्न थालेकोले यसको नियन्त्रणका लागि विभागले आवश्यक पहल गर्नुपर्ने भन्दै कम्प्युटर विलिङ्गलाई अनिवार्य लागूगर्न आग्रह गरे ।

 

यसै क्रममा राजश्व समितिका सभापति आकाश गोल्छाले नेपालमा सवारी साधनको एसेम्बल प्लाण्ट खोल्न फीजिविलिटी भएका कम्पनीहरूसँग मिलेर आफ्नो ब्राण्डको एसेम्बल गर्न सकिने व्यवस्थाका लागि आवश्यक पहल गरी दिनसमेत आग्रह गरे ।

 

महानिर्देशक बुढाले पछिल्लो समय सरकारलाई राजश्व संकलनको दबाब परिरहेको बताउँदै विभागले व्यवसायीहरूको मागलाई यथासम्भव सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरे । नेपालका भन्सार नाकाहरूमा आइसकेका सवारी साधनहरूको यथासम्भव भन्सार जाँचपासका लागि आग्रह गर्दे बुढाले भन्सार नाकाहरूमा कुनकुन ब्राण्डका के कति सवारी साधनहरू छन् त्यसको तथ्याङ्क आफूलाई उपलब्ध गराई दिनसमेत व्यवसायीहरुसँग आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप