शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महानगरको ४ करोड ४५ लाख रुपैयाँको कार्यक्रमका लागि २०४ वटा प्रस्ताव

बिहीबार, २१ पुस २०७९, २० : ५०
बिहीबार, २१ पुस २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागमा विकास सहायताका लागि २ सय ४ वटा प्रस्ताव पेश भएका छन् । ४ करोड ४५ लाख रुपैयाँका कार्यक्रमका लागि प्रस्ताव आह्वान गर्दै मंसिर १ गते सार्वजनिक सूचना प्रकाशन गरिएको थियो । 

सूचनाका आधारमा १० वटा क्षेत्रगत कार्यक्रमका लागि यी प्रस्ताव पेश भएका हुन् । आज सामाजिक विकास समितिको बैठकमा यस सम्बन्धी छलफल गर्दै वडा २ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा सूचक निर्धारण तथा छनौट समिति गठन गरिएको छ । समितिको सदस्यमा कार्यपालिका सदस्य महेश नेपाली र ललिता खड्गी छन् । समितिमा वित्त विभागबाट प्रतिनिधि रहनेछन् भने र सामाजिक विकास विभाग प्रमुख सदस्य सचिव रहनेछन् । 

बैठकमा महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले सामाजिक विकासका कार्यक्रम सञ्चालन गर्दा उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिनुपर्ने र हरेक वडालाई एउटा सीप तथा उत्पादनसँग जोडेर पहिचान बढाउने कार्यक्रम सञ्चालन गर्नु पर्ने बताइन् । 

यस्तै प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले गैरसरकारी संस्थाहरूले सञ्चालन गर्ने क्रियाकलाप जुन वडामा सञ्चालन हुने हो त्यो वडासँग समन्वय हुनुपर्ने धारणा राखे । महानगरपालिका कार्य क्षेत्र भएका गैर सरकारी संघ संस्थाले गर्ने क्षेत्रगत कामलाई संस्थागत र व्यवस्थित बनाउन काठमाडौँ महानगरपालिकाले गएको मंसिर १ गते सार्वजनिक सूचनामार्फत प्रस्ताव आह्वान गरेको थियो । अर्थ मन्त्रालयको खर्च मापदण्ड र महानगरपालिकाको स्वीकृत खर्च शीर्षकबाट काम गर्नका लागि प्रस्तावक गैर सरकारी संघ संस्थाहरुको समेत लागत सहभागिता रहने गरी कार्यक्रम सञ्चालन गर्न खुला प्रस्ताव आह्वान गरिएको हो ।  

महानगरले सूचनामा उल्लेख गरेको पहिलो कार्यक्रम ‘नमुना छात्रा सांसद कार्यक्रम’ हो । यो कार्यक्रमका लागि १० लाख रुपैयाँ विनियोजित छ । १ करोड रुपैयाँ विनियोजन भएको ‘खेलकुदसँग सम्बन्धित विभिन्न संघ संस्थाहरूलाई कार्यक्रम सहयोग’ मा २६ वटा प्रस्ताव आएका छन् ।

‘लागू औषध, मानव बेचबिखन, ओसारपसार नियन्त्रण, लैङ्गिक हिंसा विरुद्धको अभियान लगायत सचेतनामूलक कार्यक्रम’ का लागि २५ लाख रुपैयाँ विनियोजित छ । यस क्षेत्रका लागि ६३ वटा प्रस्ताव पेश भएका छन् । २० लाख रुपैयाँ विनियोजित ‘अपाङ्गताको क्षेत्रमा कार्य गर्ने संस्थाहरुसँग सहकार्य’ कार्यक्रममा १३ वटा प्रस्ताव परेका छन् । ‘विभिन्न स्रष्टाहरूको नाममा स्थापना भएका प्रतिष्ठानलाई अक्षय कोष अनुदान’ शीर्षकमा २० लाख रुपैयाँ विनियोजित छ । यस क्षेत्रका लागि ३ वटा प्रस्ताव पेश भएका छन् । ४० लाख रुपैयाँ विनियोजित ‘ज्येष्ठ नागरिक मिलन केन्द्रहरूको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन’ कार्यक्रमका लागि कुनै पनि प्रस्ताव पेश भएको छैन । 

‘अटिजम, डाउन सिन्ड्रोम, सेरेब्रल पाल्सी र मस्तिष्क पक्षघात भएका बालबालिका लक्षित कार्यक्रमका लागि विभिन्न संघ संस्थाहरूलाई सहयोग’ कार्यक्रमका लागि ६ वटा संघ संस्थाको प्रस्ताव परेको छ । यस शीर्षकमा ६० लाख रुपैयाँ विनियोजित छ । १ करोड रुपैयाँ विनियोजित ‘विभिन्न संघ संस्था, फाउन्डेसन, प्रतिष्ठान, एकेडेमीलाई कार्यक्रम सहयोग’ शीर्षकमा ८१ वटा प्रस्ताव परेका छन् । 

यस्तै २० लाख रुपैयाँ विनियोजित ‘अपाङ्ग लक्षित खेलकुद कार्यक्रम’ का लागि ४ वटा प्रस्ताव पेश भएका छन् । ‘दलित लक्षित कार्यक्रम सञ्चालन एवं सहयोग कार्यक्रम’ मा ७ वटा प्रस्ताव पेश भएका छन् । यस शीर्षकमा ५० लाख रुपैयाँ बजेट विनियोजन भएको महानगरपालिकाले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप