आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सार्वजनिक सुनुवाइमा गुनासो नआउने गरी काम गर्न मेयर दाहालको निर्देशन

शुक्रबार, २२ पुस २०७९, १९ : ३४
शुक्रबार, २२ पुस २०७९

भरतपुर । भरतपुर महानगरपालिकाको आयोजनामा शुक्रबार आर्थिक वर्ष ०७९/८० को प्रथम चौमासिकमा भएका कामको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर रेनु दाहालले निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनालाई यो कार्यकालमा पूर्णता दिने दाबी गरिन् । 

भरतपुरमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना र निर्माण हुने सिग्नेचर ब्रिज, अलपत्र अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र ल्याण्डफिल साइटको कामलाई पूर्णता दिने उल्लेख गरिन् । एकान्टेविलिटी इनिसियटिभ प्रालिको संयोजनमा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका निमित्त कार्यकारी प्रमुख गणेश नेपालीले प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । 

कार्यक्रममा एक दर्जन बढी सहभागीले भरतपुर महानगरपालिका र अन्य सेवा प्रवाह निकायहरूले प्रदान गर्ने कामबारे गुनासो एवम् सुझाव राखेका थिए । सहभागीहरूले ६ लेन सडकमा भत्काइएको संरचना, फोहर व्यवस्थापन, घरबाहल कर, ड्रेनको निर्माण, समानुपातिक विकास, भरतपुरका सडकको चौडाइ, विमानस्थल विस्तारबारे प्रश्न सोधेका थिए ।  

सहभागीहरूले गुनासो तथा सुझावहरूको  भरतपुर महानगरपालिकाका सिडिई लक्ष्मी भण्डारी, वातावरण महाशाखा प्रमुख विराट घिमिरे, विद्युत प्राधिकरणका प्रमुख, जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरि अधिकारी, प्रमुख जिल्ला अधिकारी अस्मान तमाङ, भरतपुर महानगरपालिका राजस्व महाशाखा प्रमुख बिसुराम कुँवर, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी लगायतले जवाफ दिए । 

प्रमुख दाहालले भरतपुरमा देखिएको फोहर व्यवस्थापनको कामलाई उच्च प्राथमिकतामा राखेर अघि बढेको उल्लेख गरिन् । महानगरपालिकालाई स्माट सिटी निर्माण गर्ने  योजना अनुरूप अन्य कार्यहरू निर्बाध रूपमा अघि बढे पनि फोहर व्यवस्थापनका लागि ल्याण्ड फिल्ड साइट निर्माण गर्ने कार्यले गति नलिएको बताइन् । 

उनले जलदेवि सामुदायिक वनको १६ बिघा क्षेत्रफलमा निर्माण गर्न लागिएको ल्याण्ड फिल्ड साइटमा दातृ निकायले कुनै निष्कर्ष नदिँदा विलम्ब भएको जानकारी दिइन् । अब केही समय यो निकायलाई पर्ख र हेरको अवस्था महानगरपालिका रहेको भन्दै उनले संघीय सरकारको सहयोगमा भएपनि काम अगाडि बढाउने मनस्थिति निर्माण गरेको बताइन् ।

मेयर दाहालले कुनै पनि कुरामा गुनासो नआउने गरी काम अगाडि बढाउन सम्बन्धित महाशाखा, शाखाका कर्मचारीहरूलाई निर्देशन समेत दिइन् । उनले महानगरपालिकाको कामलाई छिटो छरिँदो बनाउन नयाँ सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण गर्न लागेको पनि प्रष्ट पारिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप