बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महिलाहरुले चलाएको सहकारीबाट ३४ लाख चोरी

आइतबार, २४ पुस २०७९, १९ : ०७
आइतबार, २४ पुस २०७९

विराटनगर । मोरङको धोबेनमा महिलाहरूले चलाएको सहकारीको मूल ढोकाको ताला फुटाएर चोरी भएको छ । शुक्रबार राती मिक्लाजुङ गाउँपालिका–३ धोबेनमा रहेको चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले जम्मा गरेको ३४ लाख रुपैयाँ निक्षेप चोरी भएको हो । 

घटना शंकास्पद देखिएपछि प्रहरीले १ जना कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरीले सहकारीको आर्थिक कारोबार हेर्ने कर्मचारी मेनुका नेपाली (शिवा)लाई नियन्त्रणमा लिएको हो । घटनामा उनको संलग्नता यकिन भइनसकेको प्रहरीले जनाएको छ ।  प्रहरीले सहकारीकी अध्यक्ष मीना कार्की, प्रबन्धक प्रकाश खनालसहित अन्य पदाधिकारी र कर्मचारीमाथि पनि सोधपुछ गर्ने काम भइरहेको जानकारी दिएको छ । 

प्रारम्भिक अनुसन्धानबाट घटना हुनुअघि सहकारीकी कर्मचारी नेपालीले बुझाउनुपर्ने हिसाबकिताब प्रबन्धक खनाललाई नबुझाएको खुलेको छ । सहकारीको ताला फुटाएर कार्यालयभित्र पैसा राखिएको ‘सेभ’ तोडेर चोरी गरेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार तोडफोड गर्दै पैसा निकालेको अवस्थामा कार्यालयबाट करिब ५० मिटर पश्चिममा ‘सेभ’ फेला परेको थियो । ‘रातको समयमा मूल ढोकाको ताला फोडेर सहकारीभित्र छिरेको देखिन्छ । कार्यालयका कुर्सीहरू टेबुलमाथि राखिएको अवस्थामा भेटिए,’ उनले भने, ‘कार्यालयबाट बाहिर निकालेर तोडफोड गर्दै पैसा निकालेको अवस्थामा ५० मिटरजति पश्चिममा ‘सेभ’ फेला परेको छ । थप अनुसन्धान गर्ने काम भइरहेको छ ।’ 

सहकारीमा चोरी भएको कुरा सुरुमा प्रबन्धक खनालले प्रहरीलाई जानकारी गराएका हुन् । खनालले सहकारीको ३४ लाख चोरी भएको जानकारी गराएको प्रहरीले जनाएको  छ । तर, चोरी भएको रकम यकिन हुन बाँकी रहेको डिएसपी श्रेष्ठले बताए । अनुसन्धान सकिएपछि मात्रै यस विषयमा थप प्रष्ट हुने प्रहरीले बताएको छ । उक्त सहकारी स्थानीय महिलाहरू मिलेर २०६८ सालदेखि सञ्चालनमा ल्याएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप