सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

खगराज अधिकारी : पीएन क्याम्पसको स्ववियु सभापतिदेखि गण्डकीको मुख्यमन्त्रीसम्म

सोमबार, २५ पुस २०७९, १५ : ३२
सोमबार, २५ पुस २०७९

पोखरा । नेकपा एमाले नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री नियुक्त गरेका छन् । सोमबार दिउँसो पौने ३ बजे ३३ सांसदको समर्थन लिएर दाबी पेस गरेसँगै प्रदेश प्रमुख गुरुङले अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । गण्डकी प्रदेशसभामा एमालेका २२, माओवादीका ८ र केन्द्रीय गठबन्धनका सामेल भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको २ सहित एकीकृत समाजवादीमा प्रवेश गरेका राजीव गुरुङ उर्फ दीपक मनाङेको गरी जम्मा ३३ सांसदको समर्थन लिएर उनले दाबी पेस गरेका थिए ।

मुख्यगरी माओवादी केन्द्रले समीकरण बदल्दा अधिकारीले गण्डकीको तेस्रो मुख्यमन्त्री बन्ने अवसर पाएका हुन् । एमालेको समर्थन पाएर संघीय सरकारमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि गण्डकी प्रदेशमा समीकरण स्वतः बदलिएको हो ।   कास्की क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभामा निर्वाचित भएका अधिकारी संघीय सरकारमा स्वास्थ्य मन्त्री र गृहमन्त्री भइसकेका छन् । प्रदेश प्रमुख गुरुङले पुस २१ गते ५ दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न आह्वान गरेका थिए । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तीमा ३१ सदस्य आवश्यक पर्छ ।

यस्तो छ राजनीतिक यात्रा

मुख्यमन्त्री अधिकारी केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री भइसकेका छन् । संसद विघटन भएको तत्कालीन समयमा अधिकारीले १३ दिन गृहमन्त्री बन्ने अवसर पाए । त्योभन्दा अगाडि ०७१ सालमा उनी सुशील कोइराला प्रधानमन्त्री हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्री भइसकेका छन् । स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य बिमाको सुरुवात गरेर अधिकारीले आमनागरिकको पक्षमा उल्लेखनीय काम गरेको चर्चा छ ।

प्रतिनिधिसभामा दुई पटक निर्वाचित भएर मन्त्री भइसकेका अधिकारी ०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट चुनाव जितेका थिए । उनले कांग्रेसका यज्ञबहादुर थापालाई पराजित गरेका थिए । यस पटक उनी एमालेकै संगठनको बलमा चुनाव लडे र जित हात पारे ।

अधिकारी यस पटक गण्डकीको मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेशमा चुनाव लडेका हुन् । ०५१ र ७४ सालमा प्रतिनिधिसभा संसदमा निर्वाचित भइसकेका अधिकारी २०५१ सालमा कांग्रेसका तत्कालीन महामन्त्री तारानाथ रानाभाटलाई पराजित गरेका थिए । ०५१ सालबाट संसद यात्रा सुरु गरेका अधिकारीलाई तत्कालीन एमाले संसदीय दलका नेता मनमोहन अधिकारीले सचेतकका नियुक्त गरेका थिए ।

अधिकारी ०४८, ५६ र ०६४ को चुनावमा पराजित भएका थिए । पहिलो संविधानसभाको निर्वाचन ०६४ सालमा पराजित भएपछि उनले ०७० मा टिकट नै पाएनन् । ०७४ मा कास्कीबाट चुनाव जिते लगत्तै उनी एमालेको प्रमुख सचेतक बने । वाम गठबन्धन हुँदा अधिकारी हटेर माओवादीका देव गुरुङ प्रमुख सचेतक बने । नेकपा हुँदा उनी केन्द्रीय कमिटी सदस्य एवं गण्डकी प्रदेश सहइन्चार्जको जिम्मेवारीमा थिए ।

एमालेमा अधिकारी संगठन विभाग प्रमुखको जिम्मेवारीमा छन् । एमाले अध्यक्ष ओलीसँग पञ्चायतका बेला सँगै जेल बसेका अधिकारी २०२९ सालदेखि राजनीतिमा होमिएका हुन् । उनी त्यति बेला स्थानीय आनन्द ज्योति माविको स्ववियु सभापति थिए । ०२९ सालबाटै अधिकारी सक्रिय राजनीतिमा होमिए ।

विद्यार्थी राजनीतिबाट २०३७ सालमा केन्द्रीय स्ववियु सदस्य भएका उनी २०४०÷४१ मा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति बने । अधिकारी अनेरास्ववियुको केन्द्रीय समिटीको उपाध्यक्ष, एमाले कास्कीको सचिव हुँदै जिल्ला कमिटीको अध्यक्ष भए । अधिकारी केन्द्रीय अनुशासन विभाग, वैकल्पिक पोलिटब्युरो सदस्य हुँदै गण्डकी संयोजक भएर काम गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप