बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

गण्डकीमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन, यस्ता छन् पहिलो बैठकका ५ निर्णय

सोमबार, २५ पुस २०७९, २० : ३२
सोमबार, २५ पुस २०७९

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीसहित ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । अधिकारीसँगै एमालेकी सीता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङलाई साथमा लिएर शपथ ग्रहण गरेका हुन् । उनीहरूको मन्त्रालय भने टुंगो लागेको छैन । 

सुन्दास स्याङ्जा १(१)बाट प्रदेश सभामा निर्वाचित भएकी हुन् । यसअघि स्याङ्जा जिल्ला समन्वय समितिकी प्रमुख भएकी सुन्दास राष्ट्रिय महासंघमा संस्थापक अध्यक्ष थिइन् । माओवादीबाट संसदीय दलका नेता हरिबहादुर चुमान पनि विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन् । मुख्यमन्त्रीका आकाङ्क्षी देखाएका चुमान दोस्रो पटक गण्डकी प्रदेशका मन्त्रिपरिषद् सदस्य बनेका छन् । चुमान यसअघि पृथ्वी सुब्बा नेतृत्वका सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । चुमान तनहुँ १(२)बाट प्रदेश सभामा निर्वाचित भएका थिए । मुख्यमन्त्री नेतृत्वका सरकारमा उनलाई भौतिक पूर्वाधार मन्त्रालय पाउने सम्भावना छ । 

यसअघि शून्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकमा २ सिट पाएसँगै सरकारमा समेत सहभागी भएको छ । केन्द्रमा सरकारलाई समर्थन गरे पनि अहिलेसम्म सरकारमा गइसकेको छैन । तर, गण्डकी २ सिट पाएको राप्रपाले स्वास्थ्य मन्त्रालयको दाबी गर्दै सरकारमा सहभागी भएको हो । गुरुङ राप्रपा गण्डकी प्रदेशका अध्यक्ष हुन् । 

मुख्यमन्त्री अधिकारीले बढीमा ९ सदस्यीय मन्त्रीपरिषद् गठन गर्ने सरकारकै एक मन्त्रीले बताए । ‘उहाँले हिजोको सरकारले जस्तो गरे पनि अब आफूले सानो आकारको मन्त्रीपरिषद् गठन गर्ने बताउनुभएको छ । बढीमा ९ सदस्यीय मन्त्रीपरिषद् गठन हुन्छ,’ ती मन्त्रीले भने । सुरुमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका खगराजले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा छन् । संविधानले प्रदेश सभा सदस्यको २० प्रतिशत हुने गरी मन्त्री बनाउन पाइने व्यवस्था गरेको छ । गण्डकीमा ६० सदस्यीय प्रदेश सभामा हो । यहाँ अधिकतम १२ मन्त्री बनाउन मिल्छ । तर, अधिकारीले अहिले १२ जना मन्त्रीको सट्टा ९ मात्र बनाउने तयारी गरेको स्रोत बताउँछ । 

सत्ता गठबन्धनको प्रारम्भिक भागबन्डामा प्रदेश सरकारमा मुख्यमन्त्रीसहित एमालेका ४, माओवादीका ४ र राप्रपाका १ जनालाई मन्त्री बनाउने तयारी छ । गण्डकी प्रदेशको स्थापना वर्षमा एमाले नेता पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारमा ७ मन्त्री थिए । गुरुङले ०७८ जेठ पहिलो साता कार्य विभाजन नियमावली संशोधन गरेर ८ मन्त्री बनाए । उनको सरकार ढलेपछि कांग्रेसका कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारले १२ जना मन्त्री बनाएको थियो । 

मन्त्रिपरिषद्का ५ निर्णय

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पदभार ग्रहणसँगै ५ निर्णय गरेका छन् । मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशमा रहेका डायलायसिस सेवा आवश्यक पर्ने मिर्गौला पीडितलाई लक्षित गरी प्रदेश मातहतका अस्पतालमा डायलायसिस सेवा विस्तार गर्ने निर्णय गरेको हो । पदभार ग्रहण लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको शासकीय क्षमता अभिवृद्धि गर्न सुशासन कायम गर्ने र सेवा प्रवाह सहज बनाउनका लागि सुझाव पेस गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बैठक तथा प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले सरकारको प्रवक्तामा विना विभागीय मन्त्री सीता सुन्दासलाई जिम्मेवारी तोकेका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप