शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

जसपा–एकीकृत समाजवादी एकताका लागि मोडालिटीमा छलफल हुने

मङ्गलबार, २६ पुस २०७९, १५ : ५१
मङ्गलबार, २६ पुस २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादी पार्टीबीच औपचारिक रूपमा एकताको प्रक्रिया सुरु भएको छ । दुवै पार्टीले गठन गरेको वार्ता समितिको बीचमा पहिलो बैठक भएको छ ।

पहिलो बैठकबाट एकता प्रक्रियालाई चाँडै टुङ्ग्याउने सहमति गर्दै कुन मोडालिटीमा पार्टी एकीकरण गर्ने भन्ने विषयले प्रवेश पाएको छ । जसपाबाट गठन भएको वार्ता समितिका एक सदस्यले भने, ‘औपचारिक रूपमा हाम्रो वार्ता सुरु भएको छ, एउटा बैठक सम्पन्न भएको छ, एकता गर्ने सहमति भएको छ तर कुन मोडालिटीमा गर्ने भन्नेबारे अर्को बैठकमा छलफल हुन्छ ।’ 

सम्भवतः भोलि (बुधबार) वार्ता समितिको बैठक बस्ने ती नेताले बताए । मोडालिटीको बारेमा आआफ्नो पार्टीमा छलफल गरेर बुधबार वार्ता समितिको बैठक बस्ने उनको भनाइ छ । सैद्धान्तिक तथा वैचारिक रूपमा दुवै दलको बीचमा भिन्नता छ । एकीकृत समाजवादी पार्टी कम्युनिस्ट विचारधाराको पार्टी हो भने जनता समाजवादी पार्टी समाजवादी विचारधाराको पार्टी हो । एकीकृत समाजवादी पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेलिनवाद हो । मार्क्सवाद–लेनिनवाद क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्व दृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवं समाज परिवर्तनको मार्ग दर्शक सिद्धान्त रहेको एकीकृत समाजवादीले जनाएको छ ।

जसपाले पार्टीको मार्गदर्शक सिद्धान्त समुन्नत संघीय समाजवाद हो । यी दुवै विचारलाई मिश्रण गरी नयाँ ढंगबाट अगाडि बढ्ने लगभग सहमतिजस्तै भएको छ । त्यसमा आन्तरिक रूपमा छलफल चलिरहेको छ । पार्टी एकीकरण गर्दा दुईजना अध्यक्ष राख्ने कि एकल अध्यक्ष राख्ने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ । एकजना अध्यक्ष मात्र रहने हो भने अध्यक्ष को बन्ने, पार्टीको नाम र चुनाव चिह्न के हुने जस्ता विषयमा अब प्रवेश हुने ती नेताले बताए । जसपा पटक पटक विभाजित र एकीकृत हुँदै बनेको पार्टी हो भने एकीकृत समाजवादी एमालेबाट अलग भएर बनेको पार्टी हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप