बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

प्रदेश १ सरकारमा माओवादी सहभागी हुँदै, माओवादीका दुई र एमालेका एक मन्त्री थपिँदै

बिहीबार, २८ पुस २०७९, १८ : ४२
बिहीबार, २८ पुस २०७९

विराटनगर । आलोपालोमा सहमति नभएसम्म सरकारमा नजाने अडान लिएको नेकपा माओवादी केन्द्र प्रदेश १ लाई केन्द्रले सहभागी हुन दबाब दिएपछि सरकारमा सहभागी हुने भएको छ । 

माओवादी केन्द्रको प्रदेश १ समितिका पदाधिकारी तथा संसदीय दलका नेतासहित सहभागी बैठकले प्रदेश सरकारमा जाने निर्णय गरेको हो । सो बैठकले मन्त्रीको छनौट गर्न प्रदेशका माओवादी इन्चार्ज राम कार्की, संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) रहेको समिति गठन गरेको छ । सोही समितिले सिफारिस गरेको आधारमा माओवादीबाट मन्त्री बन्नेछन् । 

माओवादी केन्द्रले प्रदेश १ मा रहेका ९ वटामध्ये २ वा ३ मन्त्रालय पाउने छ । दुईवटा मन्त्रालय पाउँदा माओवादीले पूर्वाधार विकास तथा भौतिक योजना मन्त्रालय र पर्यटन, वन तथा वातावरण पाउने स्रोतको दाबी छ । तीन मन्त्रालय पाउँदा कृषि तथा भूमिसुधार मन्त्रालय पाउने स्रोतले बतायो । 

माओवादी स्रोतले दिएको जानकारी अनुसार सरकारमा पठाउने नाममा पहिलो नम्बरमा तेह्रथुमका दुर्गाप्रसाद चापागाईँ रहेका छन् भने दोस्रो नम्बरमा मोरङका जीवन आचार्य रहेका छन् । चापागाईँलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र आचार्यलाई पूर्वाधार विकास तथा भौतिक योजना मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ । माओवादीले अर्को मन्त्रालय पाएको खण्डमा उक्त मन्त्रालयमा आदिवासी जनजातिबाट उदयपुरका राजेन्द्र किराती वा नारायण बुर्जा मगरलाई पठाउने सम्भावना छ । 

उता, नेकपा एमालेले भने मन्त्रीमण्डलमा माओवादीले पठाएका मन्त्रीसँगै तत्कालका लागि एक जना मन्त्री बनाउने तयारी गरेको छ । एमाले स्रोतले दिएको जानकारी अनुसार सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीलाई भोलि नै शपथग्रहण गराउने तयारी भएको भएपनि अन्य मन्त्रीको विषयमा निर्णय भइनसकेको जनाएको छ । नयाँ मन्त्रीहरुको शपथग्रहणका लागि भोलि बिहान १०ः०० बजेको समय तय गरिएको छ ।

यसअघि नै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्तिप्रसाद सिटौला र जसपाबाट निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरिसकेका छन् ।नयाँ मन्त्रीहरु नियुक्त भएसँगै मन्त्रालयको भागबण्डा पनि टुंगो लगाउने तयारीमा मुख्यमन्त्री रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

माओवादी पदाधिकारी बैठकका तीन निर्णय

यसैबीच मन्त्रीहरुको नाम सिफारिस गर्न बसेको माओवादी केन्द्र प्रदेशका इन्चार्ज राम कार्की, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, प्रदेश १ पार्टीका अध्यक्ष हर्कबहादुर नेम्वाङलगायत पदाधिकारीको बैठकले मन्त्री बनाउने ७ जनाको नाम सिफारिस गरेको छ । 

जसको १ नम्बरमा संखुवासभाका राजेन्द्र कार्की, दोस्रो नम्बरमा तेह्रथुमका दुर्गाप्रसाद चापागाईँ, तेस्रो नम्बरमा मोरङका गणेश उप्रेती, चौथो नम्बरमा मोरङकै जीवन आचार्य, पाँचौं नम्बरमा उदयपुरका राजेन्द्र किराँती, छैटौं नम्बरमा उदयपुरकै नारायण बुर्जा मगर र सातौं नम्बरमा सोलुखुम्बुका गोम्बु शेर्पा रहेका छन् । 

माओवादीले प्रदेश १ मा पर्ने साबिक लिम्बुवान, कोचिला र किराँत राज्यबाट एक–एक जना पर्ने गरी मन्त्री रिफारिस गर्ने निर्णय पनि गरेको छ । सोही बैठकले अढाई वर्षपछि फेरिने मन्त्रीमण्डलमा अहिलेका मन्त्रीलाई नदोहोर्‍याउने निर्णय पनि गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप