मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

बागमतीमा सभामुख पदका तीन उम्मेदवार, कसले मार्ला बाजी ?

बिहीबार, २८ पुस २०७९, २० : ५८
बिहीबार, २८ पुस २०७९

मकवानपुर । बागमती प्रदेशको सभामुख पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । सभामुख पदका लागि सत्ता गठबन्धनबाट राप्रपाका भुवन कुमार पाठक, नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेमकिपाकी सिर्जना सयजुले मनोनयन दर्ता गरेका छन् ।

सभामुखका लागि प्रदेशसभा सचिवालयले बिहीबार बिहान १०ः३० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरेको थियो भने शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख पदका लागि मत विभाजनको समय निर्धारण गरिएको छ ।

बिहीबार प्रदेशसभा सचिवालय हेटौंडामा उपस्थित भएर नेमकिपाका सांसद सुरेन्द्रराज गोर्साइको प्रस्ताव र गीता काफ्लेको समर्थनमा सायजुले पहिलो नम्बरमा मनोनयन दर्ता गरेकी हुन् । उनी भक्तपुरबाट नेमकिपाको समानुपातिक कोटाबाट सांसद चुनिएकी हुन् ।

कांग्रेसका सांसद कुन्दनराज काफ्लेको प्रस्ताव र रामकृष्ण चित्रकारको समर्थनमा अधिकारीले मनोनयन दर्ता गरेका हुन् । उनी कांग्रेसको कोटामा धादिङबाट समानुपातिक सांसद चुनिएका हुन् ।

एमालेका सांसद जगन्नाथ थपलियाको प्रस्ताव र माओवादी केन्द्रका युवराज दुलाल ‘शरद’को समर्थनमा सत्ता गठबन्धनको तर्फबाट राप्रपाका पाठकले मनोनयन दर्ता गरेका हुन् ।

सभामुख पदका लागि भोलि बस्ने प्रदेशसभाको बैठकमा निर्वाचनको प्रक्रिया सुरु हुने प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए । गुप्ताका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको र भोलि ११ बजेको बैठकमा मत विभाजन हुनेछ ।

‘सभामुखको लागि ३ जनाको उम्मेदवारी परेको छ । सबैको उम्मेदवारी कायम भएको छ । भोलि बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा निर्वाचनको प्रक्रिया सुरु हुनेछ,’ उनले भने, ‘सोही बैठकमा सभामुख पदका लागि उम्मेदवारी दिएकाहरुबीच मत विभाजन हुने कार्यसूची छ ।’

प्रदेशसभाका बहुमत सांसदहरुको हस्ताक्षर सहित समर्थन पाउने उम्मेदवार सभामुखमा निर्वाचित हुने जनाइएको छ ।

यस्तो छ समीकरण

बागमती प्रदेशसभाको सभामुखका लागि सत्ता गठबन्धन, कांग्रेस र नेमकिपाका उम्मेदवारबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । उक्त निर्वाचनमा सत्ता गठबन्धनका ५ वटा दलबाट राप्रपाका पाठक उम्मेदवार छन् । पाठकलाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ ।

सत्ता गठबन्धनका ५ वटै दलले आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित भएर पाठकको पक्षमा मत दिन ह्विप जारी गरेका छन् ।

११० सदस्यीय बागमती प्रदेशसभामा राप्रपाका १३ जना सांसद छन् भने पाठकलाई सत्ता गठबन्धनबाट एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसद गरी ७० जनाको समर्थन हुने देखिन्छ ।

बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना सांसद छन् । कांग्रेसका अधिकारीको पक्षमा ३७ जना सांसद हुने देखिएको छ । यता नेमकिपाकी सयजुको पक्षमा ३ जना सांसद छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप