बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुको उद्देश्य माघभित्रै सबै छर्लङ्ग हुन्छ : रघुवीर महासेठ

शनिबार, ३० पुस २०७९, १४ : २०
शनिबार, ३० पुस २०७९

काठमाडौँ । नेकपा (एमाले)का सचिव, सांसद तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएसँगै नेपाली कांग्रेस अब राजनीतिक, संवैधानिक र नैतिक रूपमा प्रतिपक्षी दल नभएको बताएका छन् । कांग्रेसले के उद्देश्य राखेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्ने कुरा माघभित्रै सबै छर्लङ्ग हुने उनको दाबी छ ।

शनिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता महासेठले एमालेको प्रयास र माओवादी केन्द्रको समर्थनमा मुलुकलाई कांग्रेसको चंगुल र दलदलबाट बाहिर ल्याउन सफल भएको पनि टिप्पणी गरे । ‘अहिले देशको राजनीति कांग्रेसको मिश्रित चंगुल र दलदलबाट एमालेको प्रयासबाट त्यो राजनीतिलाई बाहिर ल्याइएको छ । यो देश र राष्ट्रियताको लागि ठूलो जरूरी थियो,’ महासेठले अघि भने, ‘एमालेको पहल र माओवादीको सहयोगमा राजनीतिलाई कांग्रेसको दलदलबाट बाहिर निकाल्ने काम भएको छ । यसको रिजल्ट ६ महिनापछि थाहा हुन्छ ।’ 

उनले नेपालको राजनीतिलाई देशी तथा विदेशी शक्तिले कसरी कांग्रेसको चंगुल र दलदलमा पारेको थियो भन्ने कुरा ६ महिनापछि थाहा हुने सनसनीपूर्ण टिप्पणी गरे ।  उनले भने, ‘अब विस्तारै पर्दा खुल्दै जानेछन् ।’ महासेठले देशको राजनीति हिजोभन्दा (२०७९ साल मंसिर ४ गते सम्पन्न भएको निर्वाचन) भन्दा अघिको स्थिति र अहिलेको स्थितिमा धेरै फरक रहेको पनि दाबी गरे । ‘हिजो कांग्रेसले केही मित्रराष्ट्र शक्तिहरुको भरमा यहाँका साना–साना पार्टीलाई मिलाएर देशलाई एउटा अलग बाटोमा लगेको थियो, जुन बाटोमा जाने प्रयास भएको थियो त्यसलाई एमाले र माओवादीको सहयोगले रोक्ने काम भएको छ । र, आज देशमा ७ दलको सरकार बनेको छ ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनिसकेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चा÷परिचर्चा बढि नै हुने गरेको पनि उनको भनाई छ ।  उनले वर्तमान सरकार बाध्यतात्मक अवस्थामा बनेको उल्लेख गर्दै यसले देश र जनताको अहित हुनेगरि कुनै काम नगर्ने विश्वास दिलाए । यद्धपि २०७४ फागुण ३ गते एमाले र माओवादीको एकतापछि बनेको तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारजस्तै काम यो सरकारले गर्न भने नसक्ने उनको ठोकुवा छ । 

उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिएसँगै कांग्रेस अब प्रतिपक्ष नभएको दाबी गरे । उनले भने, ‘अब कांग्रेसका साथीहरुले प्रतिपक्षको नाताले बोल्न पाउनुहुन्न । उहाँहरु सत्तापक्ष हो । वैकल्पिक शक्ति दिने पो प्रतिपक्षी शक्ति हुन्छ, तर, उहाँहरुले त्यो कुरा विचार गर्नुभएन । धमिलो पानीमा माछा मार्न खोज्नुभएको छ । ठूलो माछा खोज्नुभएको होला, ठूलो माछा पार्ने प्रयासमा सानै माछामा चित्त बुझाउनुहुन्छ कि, यो जाल फालेको काम लाग्दैन । म पनि कांग्रेसलाई हाम्रो श्रद्धेय अध्यक्ष कमरेड केपी ओलीले जस्तै धन्यवाद नै दिन चाहन्छु ।’

उनले कांग्रेस सत्ता पक्ष भएसँगै अब प्रतिपक्षको भूमिका पत्रकारहरुले निभाउनुपर्ने सुझाव दिए । उनले सरकारलाई समय समयमा सचेत बनाउने काममा देशका जिम्मेवार व्यक्तिहरुले भूमिका खेल्नुपर्ने भन्दै अझ बढि मिडियाको भूमिका थपिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप