बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बुढीगण्डकी जलविद्युत आयोजना मेरो प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड

शनिबार, ३० पुस २०७९, १५ : ५३
शनिबार, ३० पुस २०७९

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते बसेको प्रतिनिधिसभाको बैठकले आफूलाई अभूतपूर्व विश्वासको मत दिएको बताएका छन्। कम्युनिस्ट आन्दोलनका पुराना नेता, नेकपा (माओवादी केन्द्र) को ज्येष्ठ नागरिक सल्लाहकार मञ्चका केन्द्रीय सदस्य भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्रीले  भने, ‘‘सिङ्गो सदन नै विश्वासको मत दिने अवस्थामा आयो । यो नेपाली राजनीतिमा असाधारण परिघटना भयो । करिब राष्ट्रिय सहमति नै भयो । यो मेरा लागि गौरवको विषय हो, चुनौती पनि हो । मैले त्यही ठानेको छु । सिङ्गो देशलाई एकताबद्ध भएर जाने वातावरण बनेको छ, देश एकताबद्ध भएर जान्छ ।’’

पुस्तकमाथि चर्चा गर्दै प्रधानमन्त्रीले भने, ‘‘भुवन दाइको पुस्तक विमोचन गर्न पाउँदा गौरवको अनुभूति भएको छ । झन्डै ४६ वर्ष पहिले भीमोदय माविमा फर्किएजस्तो अनुभूति भएको छ । पुराना शिक्षक साथीहरू र विद्यार्थीहरू पनि देख्दा छुट्टै आत्मीयताको महसुस भएको छ । परिवारका सदस्यहरू पनि हुनुहुन्छ । मलाई युवा जीवनको स्मृति भइरहेको छ ।’’ 

‘‘त्यतिबेलाको समय ऊर्जाशील थियो । हामीले उत्साहका साथ मिलेर काम गरेका थियौँ । म जानु पूर्व एसएलसीमा कोही पनि उत्तीर्ण भएका थिएनन् । म गएपछि ८ जना विद्यार्थी उत्तीर्ण भएँ’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘२२/२४ वर्षको उमेर निकै महत्त्वपूर्ण र ऊर्जाशील रहेछ । मलाई नयाँ ऊर्जा प्राप्त भएजस्तो अनुभूति भएको छ ।’’

‘‘अहिले ४६ वर्षपछि गोरखाबाटै निर्वाचित भएर प्रधानमन्त्रीमा निर्वाचित भएको छु’’ उनले भने, ‘‘बुढीगण्डकी जलविद्युत आयोजना, आरूघाट, बेनीघाट लार्के सडक, पर्यटनको विकास मेरो प्राथमिकतामा छ । म त्यहीँको जनप्रतिनिधि हुँ, मेरो जिम्मेवारी बढेको छ ।’’ कार्यक्रममा उपप्रधान एवं भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वमन्त्री चीनकाजी श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप