शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

बढ्यो सुनचाँदीको आयात, ५ महिनामै बाहिरियो ११ अर्ब

नयाँ कीर्तिमान नजिक सुनको मूल्य
सोमबार, ०२ माघ २०७९, १२ : ०९
सोमबार, ०२ माघ २०७९

चालु आर्थिक वर्ष विदेशबाट ११ अर्ब रुपैयाँभन्दा बढीको सुनचाँदी आयात भएको छ । चालु वर्षको साउन महिनादेखि मंसिर महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको सुन र चाँदी आयात भएको भन्सार विभागले जानकारी दिएको छ । बजारमा बिक्री कम भएपछि यतिबेला भने विदेशबाट सुनको आयात रोकिएको छ । यद्यपि, ५ महिनाको अवधिमै सुन र चाँदीको आयातमा ११ अर्ब १६ करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दाको प्रभाव नेपाली बजारमा पनि देखिएको छ ।

बजार भाउ कीर्तिमान नजिक पुगे पनि साउनदेखि मंसिरसम्मको अवधिमा विदेशबाट १० अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सुन भित्रिएको छ । यस अवधिमा ३१ करोड १३ लाख रुपैयाँभन्दा बढीको चाँदी आयात भएको र २६ करोड १० लाखभन्दा बढीको चाँदीको धुलो आयात भएको तथ्यांक विभागले जनाएको छ ।

बढ्यो आयात

रुस–युक्रेन युद्धका कारण विश्वभर सबै कमोडिटीको मूल्य बढिरहेको छ । युद्धका कारण यतिबेला विश्वभर पेट्रोलियम पदार्थ लगायत अधिकांश वस्तुको मूल्य बढिरहँदा सुनचाँदीको मूल्यसमेत बढेको छ । यस्तो अवस्थामा पनि नेपालमा सुनचाँदीको आयात बढेको देखिएको छ ।

गत आर्थिक वर्ष २०७८÷७९ को ५ महिनाको अवधिमा विदेशबाट ७ अर्ब ५३ करोड ७८ लाख रुपैयाँ बराबरको सुन भित्रिएको थियो । उक्त अवधिमा नेपालमा १० लाख ५० हजार ग्राम सुन भित्रिएको थियो । जबकि, चालु आर्थिक वर्षको सोही अवधिमा १० अर्ब ५७ करोड ४० लाख रुपैयाँभन्दा बढीको १४ लाख ६६ हजार ग्राम सुन भित्रिएको छ । 

नेपाली बजारमा सुनको मूल्य बढेर नयाँ कीर्तिमान बनाउने तयारीमा छ । हाल नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँ छ । जुन, गत वर्ष फागुनको कीर्तिमानी मूल्यभन्दा जम्मा ३०० रुपैयाँले कम हो । अन्तर्राष्ट्रिय बजारमा एक वर्षको अवधिमा प्रतिऔंन्स १०१ डलरले बढेको छ । यससँगै, यतिबेला सुनको मूल्य प्रतिऔंन्स १९ सय २० डलर कायम छ ।

विभागका अनुसार यो वर्ष गत वर्षको सोही अवधिको तुलनामा ३ अर्ब ३ करोड रुपैयाँले सुन आयात बढेको हो । यस्तै, गत वर्षको तुलनामा चाँदी आयात समेत बढेको देखिएको छ । गत आर्थिक वर्षको ५ महिनाको अवधिमा विदेशबाट १० करोड बराबरको चाँदी भित्रिएकोमा चालु वर्षको सोही अवधिमा ३१ करोड १३ लाख रुपैयाँको चाँदी भित्रिएको छ ।

यी देशबाट भित्रिन्छ सुन

चालु वर्षको ५ महिनाको अवधिमा विश्वका ४ देशबाट सुन भित्रिएको छ । विभागका अनुसार स्वीजरल्याण्ड, टर्की, युनाइटेड अरब इमिरेट्स (यूएई) र उज्बेकिस्तानबाट सुन भित्रिएको छ । सबैभन्दा बढी यूएईबाट ८ अर्ब ७८ करोड ३५ लाख रुपैयाँको सुन भित्रिएको छ ।

यस्तै, टर्कीबाट १ अर्ब ८ करोडको सुन भित्रिँदा स्वीजरल्याण्डबाट ७० करोड र उज्बेकिस्तानबाट २ लाख ८० हजारको सुन भित्रिएको छ । गत वर्षको यही अवधिमा यूएई र टर्कीबाट मात्रै सुन भित्रिएको थियो । यूएईबाट ६ अर्ब १२ करोड रुपैयाँको र टर्कीबाट १ अर्ब ४१ करोड रुपैयाँको सुन भित्रिएको तथ्यांक छ ।

सुन आयात सिफारिस बन्द

यतिबेला बजारमा सुन किन्नेभन्दा बेच्ने ग्राहकहरुको चाप बढी रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए । उनले पुस महिना सुनको सिजन पनि नभएको र बजार भाउ पनि कीर्तिमान नजिक पुग्दा बिक्री शून्यप्रायः रहेको बताएका हुन् ।

शाक्यका अनुसार यतिबेला बजारमा दैनिक ८÷१० किलोसम्म सुन व्यवसायीले ग्राहकसँग किन्नु परिरहेको बताए । बजारमा किन्नेभन्दा बेच्ने ग्राहक बढेसँगै सुनचाँदी व्यवसायी महासंघले नेपाल बैंकर्स एसोसिएशनलाई सुन आयात रोक्न भनेका थियो । यससँगै, यतिबेला नेपालमा विदेशबाट सुनको आयात प्रक्रिया रोकिएको छ ।

नेपाली बजारमा भएको माग अनुसार व्यवसायीले बैंकर्स एसोसिएशनलाई सुन आयातको सिफारिस गर्छन् । यससँगै, केन्द्रीय बैंकसँगको अनुमतिका आधारमा वाणिज्य बैंकले सुन आयात र वितरण गर्ने गर्छन् । तर, बजारमा माग नभएसँगै व्यवसायीको अनुरोधमा यतिबेला सुन आयात रोकिएको छ । तर, व्यवसायीले सिफारिस गरेसँगै पुनः सुन आयात प्रक्रिया अघि बढ्नेछ ।

नयाँ कीर्तिमान नजिक सुनको मूल्य

विश्व बजारमा निरन्तर मूल्य बढ्दा नेपालमा पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाउने तयारी गरेको छ । यसअघि, गत वर्ष २०७८ साल फागनु २३ गते नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो । उक्त मितिमा नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ५ हजार ५०० रुपैयाँ थियो ।

यतिबेला पुनः नेपाली बजारमा सुनको मूल्य बढेर नयाँ कीर्तिमान बनाउने तयारीमा छ । हाल नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँ छ । जुन, गत वर्ष फागुनको कीर्तिमानी मूल्यभन्दा जम्मा ३०० रुपैयाँले कम हो । अन्तर्राष्ट्रिय बजारमा एक वर्षको अवधिमा प्रतिऔंन्स १०१ डलरले बढेको छ । यससँगै, यतिबेला सुनको मूल्य प्रतिऔंन्स १९ सय २० डलर कायम छ ।

गोल्ड प्राइस डटकमका अनुसार सन् २०२३ मा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गर्ने सम्भावना छ । यो वर्ष सुनको मूल्य प्रतिऔंन्स २३ सय अमेरिकी डलरसम्म पुग्ने अनुमान अन्तर्राष्ट्रिय व्यापारीहरुको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप