शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेसको ‘अर्जुनदृष्टि’ राष्ट्रपतिमा

प्रधानमन्त्रीको अभिव्यक्तिले कांग्रेस उत्साहित, एमाले सशंकित
मङ्गलबार, ०३ माघ २०७९, १० : ३६
मङ्गलबार, ०३ माघ २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपति पदमा ‘अर्जुनदृष्टि’ राखेको छ । आफ्नो नेतृत्वको गठबन्धन भत्किएपछि सत्ताबाट ‘रिङआउट’ भएको कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर शक्ति बाँडफाँटमा हिस्सा खोजेको हो ।

यता प्रधानमन्त्री प्रचण्डले पनि कांग्रेसलाई शक्ति बाँडफाँटमा हिस्सेदार बनाउने सङ्केत दिएका छन् । शनिबार सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सभामुख र राष्ट्रपतिमा सन्दर्भमा कांग्रेससँग पनि छलफल गर्ने अभिव्यक्ति दिएका थिए ।

‘राष्ट्रपति, उपराष्ट्रपति, सभामुख छनोट गर्नुअघि कसरी हुन्छ राष्ट्रिय सहमतिको वातावरण कायम गर्ने भन्नेतिर गम्भीर भएर लागेको छु । ३ माघमा सर्वदलीय बैठक बोलाएको छु, त्यहाँबाट सबै स्पष्ट हुन्छ,’ प्रचण्डको भनाइ छ ।

प्रचण्डले सार्वजनिक रूपमा राष्ट्रपति र सभामुखबारे सत्ता साझेदारबीच कुनै सहमति नभएको बताएपछि कांग्रेस उत्साहित देखिएको छ । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले राष्ट्रपतिमा सम्भावनाको ढोका खुलेको कांग्रेस नेताहरूको टिप्पणी छ । सभामुख र उपसभामुखको निर्वाचनअघि प्रधानमन्त्री प्रचण्डले मंगलबार सर्वदलीय बैठक डाकेका छन् ।

कांग्रेस नेताहरूका अनुसार सभामुखको निर्वाचनबारे सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबीच कुराकानी भएको छ । ५ माघमा सभामुख र ७ माघमा हुने उपसभामुख निर्वाचनको रणनीति बनाउन बिहीबार देउवाले पदाधिकारी बैठक राखेका थिए । उक्त बैठकले सभामुख र उपसभामुखको निर्वाचनका लागि प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्ने जिम्मेवारी देउवालाई दिएको छ । सोही अनुसार प्रचण्ड र देउवाबीच छलफल भएको कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले बताए । उनले भने, ‘प्रधानमन्त्रीसँग सभापतिले छलफल गरिराख्नु भएको छ । कुराकानी सकारात्मक छ । अब केही दिनमा सबै कुरा अगाडि बढ्छ ।’

कांग्रेस नेता विमलेन्द्र निधिले सरकारलाई आफ्नो पार्टीले विश्वासको मत दिएपछि सबै सम्भावनाका ढोका खुला रहेको बताए ।

यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभामुखको चुनावका विषयमा अन्य दलका नेतासँग छलफल अगाडि बढाएका छन् । पार्टी पदाधिकारी बैठकको निर्णय अनुसार शनिबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग आफूले कुराकानी गरेको पौडेलको भनाइ छ ।

कांग्रेस र एकीकृत समाजवादीका नेताहरू चुनावअघिको गठबन्धन ब्युँताउने रणनीतिमा छन् । राष्ट्रपति कांग्रेस र उपसभामुखका लागि एकीकृत समाजवादीले लबिङ थालेको बुझिएको छ ।

कांग्रेस नेता विमलेन्द्र निधिले सरकारलाई आफ्नो पार्टीले विश्वासको मत दिएपछि सबै सम्भावनाका ढोका खुला रहेको बताए । ‘प्रचण्डजीलाई हामीले विश्वासको मत दिएको हो । सभामुख र राष्ट्रपतिका विषयमा कांग्रेससँग पनि छलफल गर्ने प्रचण्डजीको कुरालाई सकारात्मक रूपमा लिएको छु,’ उनले भने ।

आगामी सबै निर्वाचनमा संसद्मा भएका सबै दलसँग कांग्रेसले छलफल गर्ने निधिको भनाइ छ । मंगलबार बस्ने सर्वदलीय बैठकमा कांग्रेसले राष्ट्रपति पाउने गरी सहमति हुने कांग्रेस नेताहरूको बुझाइ छ ।

कांग्रेस नेता एनपी साउदले भने, ‘कुनै पक्षसँग राष्ट्रपति र सभामुखबारे पूर्वसम्झौता गरेका छैनौँ भन्ने प्रचण्डजीको कुराले नयाँ सम्भावना स्पस्ट पारेको छ ।’ कांग्रेस नयाँ परिस्थितिका लागि प्रस्तुत भएर अगाडि बढेको साउदले बताए । ‘कांग्रेस अहिले प्रतिपक्षी पार्टी भएकाले सरकारमा सहभागिताको कुरा त भएन । तर हामीले यो सरकारलाई विश्वासको मत दिएका छौँ,’ उनी भन्छन्, ‘सरकारमा सहभागिता बाहेक अन्य पदबारे सबै दलसँग सहकार्य गर्ने कुरामा कांग्रेस अग्रसर हुन्छ । माओवादीसँग सहकार्य गर्ने कुरामा हामी खुला र सकारात्मक छौँ ।’

सर्वदलीय बैठकमा राष्ट्रपतिमै केन्द्रित रहेर कांग्रेस प्रस्तुत हुने साउदको भनाइ छ । ‘कांग्रेस र माओवादीबीच समझदारी हुन नसक्दा यो गठबन्धन बन्यो । समझदारी हुन नसकेका प्रमुख मुद्दामध्ये प्रधानमन्त्री पद माओवादीले लिइसकेपछि त्यो पदका लागि कांग्रेसले सम्झौता गर्दैन । मूलतः राष्ट्रपतिमै केन्द्रित हुन्छ । हाम्रो अर्जुनदृष्टि राष्ट्रपतिमा रहेको कुरा लुकाउनु पर्ने केही छैन,’ साउदले भने ।

कांग्रेस नेताहरूका अनुसार राष्ट्रपति पाउने परिस्थिति बने सभामुख र उपसभामुखमा कांग्रेसले उम्मेदवारी दिने छैन । २८ माघभित्र राष्ट्रपतिको निर्वाचन गराउने निर्वाचन आयोगको तयारी छ ।

एमालेको उपाध्यक्ष तथा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले प्रचण्डको अभिव्यक्तिले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताए । ‘सरकारलाई विश्वासको मत दिने दलहरुसँग बस्न लागेको बैठक हो । त्यहाँ उहाँहरुको विचार पनि सुनिन्छ । हाम्रा कुराहरू पनि राखिन्छ,’ उनले भने ।

राष्ट्रपतिको निर्वाचनसम्ममा समीकरणमा फेरबदल हुने कांग्रेस नेताको आशा छ । प्रचण्डको अभिव्यक्तिले कांग्रेसमा राष्ट्रपति पाउने आशाको सञ्चार हुँदा एमालेमा भने संशय पैदा गराएको छ । १० पुसमा प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दा एमालेले राष्ट्रपति र सभामुख आफूले पाउने सुनिश्चित गराएको थियो ।

सोही सहमति अनुसार सातै प्रदेशको सरकार निर्माण प्रक्रिया अगाडि बढेको छ । कांग्रेसले विश्वासको मत दिएपछि प्रचण्डले अभिव्यक्ति बदलिँदा एमालेका नेताहरू असन्तुष्ट बनेका छन् । कांग्रेसलाई पनि साथमा लिने प्रचण्डको संकेतले स्वाभाविक रुपले केही प्रश्न खडा गरेको एमालेका नेताहरूको भनाइ छ । विश्वासको मत लिने समयमा प्रचण्डले कांग्रेसले विश्वासको मत दिनुमा कुनै लेनदेनको सहमति नरहेको बताएका थिए ।

कांग्रेसले संविधानको रक्षाका लागि निःशर्त प्रधानमन्त्री प्रचण्डलाई विश्वास मत दिने बताएको थियो । तर यतिबेला प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका नेताहरूको अभिव्यक्तिले सत्ता गठबन्धनमा अविश्वास पैदा गराएको देखिन्छ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली एक दर्जन पटक बैठक बस्दा पनि सरकार विस्तारबारे सहमति जुट्न सकेको छैन ।

अविश्वासको दुरी घटाउन ओली र प्रचण्डबीच बालुवाटार–बालकोटको म्याराथन दौड चलिरहेको छ । सोमबार ओली निवास बालकोटमा करिब ५ घण्टा छलफल गरेर बाहिरिँदा पनि प्रधानमन्त्री प्रचण्डले सभामुख र राष्ट्रपतिका विषयमा विश्वासको मत दिने सबै पार्टीसँग छलफल हुने बताएका थिए ।

एमालेको उपाध्यक्ष तथा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले प्रचण्डको अभिव्यक्तिले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताए । ‘सरकारलाई विश्वासको मत दिने दलहरुसँग बस्न लागेको बैठक हो । त्यहाँ उहाँहरुको विचार पनि सुनिन्छ । हाम्रा कुराहरू पनि राखिन्छ,’ उनले भने ।

सरकारको आयुको बारेमा शङ्का गर्नुपर्ने ठाउँ नभएको उपप्रधान एवम् अर्थमन्त्री पौडेलको भनाइ छ । ‘सरकार जे जस्तो राजनीतिक दलहरूको सहमतिमा अगाडि बढेको छ, गतिका साथ द्रुत गतिमा अगाडि बढ्छ । कांग्रेसको कुरा फरक हो,’ उनले भने ।

एमाले नेता विष्णु रिमालले पनि कांग्रेससँग छलफल गर्दैमा पूर्वसहमतिमा केही फरक नहुने बताए । ‘अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीचको छलफलमा राष्ट्रपति एमालेले पाउने र सभामुखमा आलोपालोको सहमति भएको हो । बैठक बस्दैमा केही परिवर्तन हुँदैन । हामी सहमतिअनुसार अघि बढ्छौँ । यही अनुसार अध्यक्षले छलफल गरिराख्नु भएको छ,’ उनी भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप