शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

तुलाराम घर्ती मगर : जनयुद्धका कमाण्डरदेखि लुम्बिनीका सभामुखसम्म

मङ्गलबार, ०३ माघ २०७९, १६ : २३
मङ्गलबार, ०३ माघ २०७९

रुपन्देही । तत्कालीन जनयुद्धका एक कमाण्डर तुलाराम घर्ती मगर (बसन्त) लुम्बिनी प्रदेशको सभामुखमा निर्विरोध चयन भएका छन् । रोल्पाको तत्कालीन खुमेल गाविसमा २०२५ साल साउन १५ जन्मेका घर्ती सानैदेखि राजनीतिक चेतका थिए ।

सामान्य जीवनशैलीका घर्ती परिवार रोल्पाबाट २०४२ सालमा कपिलवस्तुको शिवगढी गाविसमा बसाइ सरेको थियो । त्यसपछि यो परिवार २०६८ सालमा तिनाउ गाउँपालिका–३, दोभान पाल्पामा बसाई सरी आएको थियो ।

२०४४ सालमा एसएलसी पास गरेपछि तत्कालीन अनेरास्ववियूको विद्यार्थी संगठनबाट घर्तीले राजनीतिक यात्रा सुरु गरेका थिए । विभिन्न राजनीतिक उतारचढाव झेलेका घर्तीले माओवादीले २०५२ सालदेखि थालेको जनयुद्धमा विभिन्न भूमिकामा रहेर काम गरे । उनले १० वर्ष भूमिगत जीवन बिताएका छन् ।

उनी माओवादीको भूमिगतकाल देखिनै राजनीतिमा सक्रिय रही हाल पाल्पाको प्रदेशसभा क्षेत्र नं. २ (२) बाट प्रदेशसभा सदस्यका रुपमा निर्वाचित भएका थिए । उनी अहिले सत्तारुढ दल नेकपा माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेशसभाको सभामुखमा निर्वाविरोध निर्वाचित भएका हुन् ।

घर्ती माओवादी जनयुद्धका कमाण्डरसमेत हुन् । २०५४ चैतदेखि माओवादीको पाल्पामा जिल्लामा काजमा सरुवा भएका घर्तीले २०५५ वैशाखदेखि पाल्पालाई कार्यक्षेत्र बनाएका थिए । २०५६ मा मगर राष्ट्रिय मुक्ति मोर्चा पाल्पाको अध्यक्ष भएका उनी २०५७ मा मगरात स्वायत्त मुक्तिमोर्चा पाल्पाको अध्यक्षसमेत भए ।

यस्तै २०५८ मा माओवादी पाल्पा पश्चिम कमाण्ड इन्चार्ज, २०६० पाल्पा पार्टी सचिव, २०६१ मा रूपन्देही इन्चार्ज भएर काम गरेका उनले २०६२ को जनआन्दोलनमा दाङ देउखुरी कमाण्ड इन्चार्ज भए । घर्ती २०६४ मा पाल्पा क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्य उम्मेदवार बनेका थिए ।

२०६५ सालमा मगरहरुको साझा संस्था नेपाल मगर संघको केन्द्रीय महासचिव भएका उनी २०७० सालमा मगर संघको केन्द्रीय उपाध्यक्ष बने । २०७० सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य बनेका घर्ती २०७४ सालमा भएको निर्वाचनमा पाल्पा क्षेत्र नम्बर २ (२) बाट लुम्बिनी प्रदेशसभाको सदस्यमा निर्वाचित भएका थिए ।

०७४ को चुनावी अभियानका बेला घर्तीलाई मार्ने योजना अनुरुप विप्लव समूहले एम्बुस थापेको थियो । दोभान गाउँपालिका अन्तरगत दर्गम डढेगाउँमा चुनावी कार्यक्रम सकेर फर्कदै गर्दा विप्लव समूहले थापेको एम्बुस पड्कदा उनी भाग्यवस जोगिएका थिए । उनी सवार गाडीमा क्षति भएको थियो भने चालक घाइते भएका थिए ।

२०७८ सालमा भएको माओवादीको आठौँ महाधिवेशनबाट घर्ती पोलिटव्युरो सदस्यमा चयन भए । घर्ती पाल्पा जिल्लाको माओवादी इन्चार्ज समेत हुन् । आईएसम्म अध्ययन गरेका नेता घर्ती मार्क्सवादी राजनीतिका प्रखर वक्ता, कुशल लेखक, अध्येता र राजनीतिक वैचारिक स्कुलिङ्गका प्रखर वक्ताका रुपमा समेत चिनिन्छन् ।

घर्ती मगर मार्क्सवादी दर्शन, नेपाली अर्थराजनीति, नेपालको आदिवासी जनजाति, वर्णविन्यास, राजनीतिक घटनाक्रमका सन्दर्भमा दर्जनौं लेख समेत लेखेका छन् ।

घर्तीसँगै उनकी जीवन संगीनी जानुका रोकाले पनि भूमिगत राजनीति गरेकी थिइन् । उनी अहिले दोभानमा राजनीतिसँग विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भएर काम गरिरहेकी छन् । उनले दोभानमा च्याउ खेती समेत गरेर अगुवा कृषकको रुपमा पनि आफ्नो परिचय बनाएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुवन कार्की
भुवन कार्की
लेखकबाट थप